केही थान लघुकथाहरू छन्
आक्रोशका ज्वारभाटा सहितका
विकृति र विसंगति अनि
विभेद र असमानता विरुद्ध
आगो निकाल्न सक्ने
तर यो कथा छाप्न म असमर्थ छु
यदि कोही कथाकार बन्न चाहन्छ भने
म तयार छु मेरा सारा कथाहरू बेच्न
मेरो जीवन रक्षाका लागि
दुई/चार पत्ता औषधि किन्नुछ
केही पंक्ति कविताहरू लेखेको छु
सुन्दरताको वर्णन गर्दै
फूल, भमरा, जून अनि आकाश
सबै बिम्बहरू सहितको
शैली, छन्द र अनुप्रास मिलाएर लेखेको
तर यो कविता छाप्न म असमर्थ छु
यदि कोही कवि बन्न चाहन्छ भने
म तयार छु मेरा सारा कविताहरू बेच्न
किनकी मलाई मेरो बच्चाको पढाइको शुल्क तिर्नुछ
दुई/चार शेर गजलहरू छन्
भोकमरीले लात्ता हानेको पेटबाट निस्किएका
उत्पीडनको सङ्ग्लो तोड्न खोज्दै कोरिएका
जवानीको उद्बेगसँगै अलिकति शृंगार रस भरिएका
तर यो गजल छाप्न म असमर्थ छु
यदि कोही गजलकार बन्न चाहन्छ भने
म बेच्न तयार छु मेरा सबै गजलहरू
किनकी मलाई मेरो जीवनको रक्षा नै चुनौती बनेको छ
पुँजीबजारको मोलमोलाइ मञ्जुर छ मलाई
जहाँ म मेरा कृतिहरूको भाउ खोज्दैछु
किनकी मेरा कृतिहरूलाई
मेरो नामको भन्दा बजारको मूल्यको खाँचो छ
अभावको गर्भबाट जन्मिएका मेरा कृतिहरूलाई
पुँजीबजारको खाँचो छ, मोलमोलाइको खाँचो छ
मेरो नामको भन्दा बजारको मूल्यको खाँचो छ।