कहिलेकाहीँ तिमी फूल हौ कि जस्तो पनि लाग्छ
फूल हुनु भनेको सुन्दर हुनु हो, त्यो मैले मानेँ
तर ती काँडाहरू?
तिमीले त मलाई कहिल्यै दुखाएकी छैनौ नि
ल मानौँ तिमीले मलाई दुखाएछौ रे
अनि ती भमराहरूले त्यसरी घेरेको फूललाई म तिमीसँग
कसरी तुलना गरौँ
तिम्रो मस्तिष्कमा त दिनरात म मात्र घुमिरहन्छु
त्यसैले तिमी फूल होइनौ
कहिले तिमी जून हौ कि जस्तो लाग्छ
जून हुनु भनेको सँगै दाग हुनु पनि हो
तिमीमा त्यो दाग छैन
ल दाग नै भए पनि जून सुन्दर हुन्छ मैले मानेँ
तर त्यति टाढा भएको जूनसँग तिमीलाई तुलना गर्नु भनेको
तिमीलाई पनि टाढा राख्नुजस्तै हो जस्तो लाग्छ
तिमी त मेरै वरिपरि छौ नि
त्यसैले तिमी जून पनि होइनौ
कहिले तिमी मेरो मुटु हौ कि जस्तो पनि लाग्छ
मुटु हुनु भनेको आफ्नो शरीरको अभिन्न अङ्ग हुनु हो मैले मानेँ
फेरि मुटु हुनु भनेको त मेरा लागि धड्किनु पनि त हो
मेरो लागि धड्किनु भनेको मेरा लागि काम गर्नु हो
मेरा लागि काम गर्नु भनेको मेरो कामदार हुनु हो
तिमी मेरो कामदार होइनौ
त्यसैले तिमी मेरो मुटु होइनौ
त्यसो भए तिमी मेरा लागि कोही पनि होइनौ त?
पक्कै पनि हौ
प्रिय मान्छे तिमी त मेरो एउटा सुन्दर अनुभूति हौ
जुन मलाई सम्भव भएसम्मको सबै जुनीमा महसुस गर्न मन छ
अब तिमी नै भन न प्यारी, तिमी को हौ?