खै कुन्नी किन हो, मलाई साँझपख पल्लो घरको आँखीझ्यालबाट हरदम कसैले चिहाइरहेको झैं लाग्छ। प्रत्युत्तरमा म भर्खरै बसाइँ सरेर आएका अपरिचित नयाँ छिमेकघरको त्यो झ्यालतिर हेर्छु तर मलाई देखेर एउटा मानवाकृति झट्पट लुक्न पुग्छ।
म हत्तपत्त आफ्नो कोठामा मधुरो बत्ती मात्रै बालेर झ्यालको पर्दा लगाउँछु र भित्तामा टाँगिएको मेरा परलोकबासी श्रीमान् र मेरो बिहेको फोटो हेर्दै टोलाइरहन्छु। थुक्क मेरो फुटेको कर्म! बिहे गरेको दुई वर्षमै एउटा दूधे बालकरुपी नाशो काखमा छोडिदिएर मेरा पतिलाई पापी कोरोनाले चुँडेर लगिछाड्छ।
एउटा पैयाँ खुस्किएको रथ लिएर गुडिरहेको मेरो जिन्दगी सम्झिएर मलाई हरबखत रुन आउँछ। बाइस वर्षे जवानीमै विधवा हुनुपरेको पीडाले भक्कानिँदा आँसुका धाराहरूले मेरो उजाड ओच्छ्यानको सिरानी भिज्छ।
वर्तमानमा अतीतका सुनौला पल हुँदै अनिश्चित भविष्य सम्झँदा आफूलाई ऐंठन हुन खोज्छ। कहिले मलाई झ्यालबाट हाम फालेर भागौं-भागौं लाग्छ।
'नरोऊ मेरो राजा! लौ हेर फुच्चेले त ओच्छ्यानभरि सुसु गरेछ,' म ब्युँझिएर रोइरहेको छोरोलाई काखमा राखेर दूध चुसाउन थाल्छु।
उसको चोसो पसारेको मुहारमा म उसैको बाबुको प्रतिबिम्ब देख्न थाल्छु।
'छोरी! नाति किन रूँदैछ हँ?' बुहारीलाई माया गरेर छोरीकै साइनोले बोलाउने मेरी सासूले मेरो कोठाको ढोकैमा आएर मलाई सोध्नुहुन्छ।
'आमा, फुच्चेलाई भोक लागेर रोएजस्तो छ, दूध खाएपछि त चुप लाग्यो,’ म उत्तर दिन्छु।
बाबु लुपुक्क परेर निदाउँछ। म एकपटक पर्दा खोलेर बाहिर हेर्छु। रात छिप्पिसकेछ। पर क्षितिजमा राँकेभूत पिलपिल गर्दै यताउता नाच्न थाल्छन्। अनायस मेरा आँखाहरू पल्लो घरको आँखीझ्यालमा पर्न जान्छ।
त्यो अघिको चिहाइरहने आकृति मलाई देखेर पुनः लुक्छ। म झ्याल बन्द गर्छु र बत्ती निभाई बच्चालाई छातीमा च्यापेर बिछौनामा पल्टिन्छु अनि बुइँगलतिर हेरेर मनमा कुरा खेलाउँदा खेलाउँदै भुसुक्कै निदाउँछु।
बेलुकाको खानापछि बैठक कोठामा बसी सासूससुरा र म घर व्यवहारका गफ गर्दे हुन्छौं। म मकल बालेर बच्चाको जीउमा तेल दल्दै हुन्छु।
'हेर नानी, छोरी भने पनि बुहारी भने पनि तिमी नै हौ हाम्रो बुढेसकालको सहारा। डाँडाको जून भैसकेको हाम्रो जिन्दगीको के ठेगान? अन्ततः हाम्रो यो सारा जायजेथा तिमीहरूकै त हो। यो नाति हाम्रो वंशको चिराग हो। यो छोराको नाशोलाई हुर्काइबढाइ गरेर एउटा सक्षम नागरिक बनाउने कर्तव्य तिम्रो हो।'
एकल सन्तान गुमाएर विक्षिप्त बनेका मेरा जमिन्दार ससुराका भावविह्वल कुरा सुनेर मेरा आँखा रसाउँछन् र उहाँप्रति मेरो प्रेम र सम्मान अझै बढ्दै जान्छ।
रात छिप्पिँदै जान्छ र हामीहरू आ-आफ्ना सुत्ने कोठातिर जान्छौं। बच्चालाई सुताएर सदाझैं म झ्यालबाट बाहिर हेर्छु। औँसीको निष्पट अध्याँरोमा वरिपरि केही पनि देखिँदैन। मेरा नजरहरू पल्लो घरको आँखीझ्यालमा पर्छन्।
रातको घुर्मैलो प्रकाशबीच एउटा मानवाकृतिले लुकी-लुकी ममाथि चिहाइरहेको पाउँछु। सधैं मलाई देख्नेबित्तिकै लुक्ने त्यो आकृतिले आज अटेर गरेर मलाई एकोहोरो चिहाइरहन्छ। मलाई कता-कता डर र काउकुती लागेझैं हुन्छ।
म झ्याल लगाएर ओछ्यानमा पल्टिन्छु। आखिर त्यो आँखीझ्याल भित्रबाट कसैले मलाई किन हरदम चिहाइरहन्छ त?
ममा यस्तो के छ र जसले गर्दा मलाई नै कसैले लुकी-लुकी चिहाउनु परेको?
कि यो मेरो भ्रम मात्रै हो?
कि कुनै यौन पिपासुले ममाथि गिद्धेदृष्टि राखेको हो?
कि त्यो आकृति कुनै अतृप्त आत्मा हो जुन यो लोकमा यताउती भड्किरहेछ?
यस्तै खाले तर्कना-बितर्कनाले गर्दा म रातभर निदाउन सक्दिनँ। गन्जागोल मन लिएर म मध्यरातमा उठ्छु र पर्दा खोलेर त्यही आँखीझ्यालतिर हेर्छु। रातको निष्पट अँध्यारोमा बगलमै रहेका हाम्रा हलीगोठालाका झुप्रामा बलेका पिलपिल बत्ती बाहेक अरूतिर चकमन्न देखिन्छ। म फेरि ओछ्यानमा पाल्टिन्छु र लोरी गाउँदै बच्चालाई स्तन चुसाउँछु।
त्यो आँखीझ्याल भित्रको रहस्यले मेरो मथिंगल रिंग्याउँछ। म एकदिन दिउँसो त्यो आँखीझ्यालमा राम्ररी नियाल्छु। सधैं बन्द हुने त्यो आँखीझ्यालको पल्ला आज खुलेको हुन्छ। मेरो कौतूहलताको पारो झन् माथि चढ्छ।
आज त्यहाँ एउटा युवक आँखीझ्यालको धुलोमैलो पुस्ने बहानामा कर्के आँखाले मतिर हेर्दै मुस्कुराइरहेको हुन्छ। चित्ताकर्षक त्यो युवकका र मेरा आँखाहरू जुध्न पुग्छन्। ऊ मलाई देखेर मुस्कुराउँछ। प्रत्युत्तरमा मेरा ओठहरू पनि अनायसै मुस्कुराइदिन्छन्।
मलाई कुत्कुती लाग्छ। म वरिपरि हेर्दै झटपट मेरो कोठाको झ्याल बन्द गर्छु र सोफामा गएर थ्याच्च बस्छु। खै कुन्नी! आज मलाई मेरो पत्झड जिन्दगीमा पालुवा पलाएको महसुस भएको छ। म भय र खुसी मिश्रित भावनाको नदीमा बहदै सोचमग्न हुन पुग्छु।
के मलाई बितेका साँझहरूमा आँखीझ्याल भित्रबाट लुकेर हरदम चिहाइरहने आकृति त्यही युवक हो त?
म सेतो लुगा लगाएकी नारीसँग त्यस्तो के आकर्षण छ र त्यो युवकले मलाई चिहाइरहन्छ?
यस्तै खाले प्रश्नोत्तरबीच म रुमलिन थाल्छु। निन्द्राबाट ब्युँझिएर बाबु रुन थालेपछि मेरो दिवा स्वप्न टुट्छ। म बच्चालाई काखमा लिएर थपथपाउँदै फुल्याउन थाल्छु। बच्चाले मलाई देखेर सुँडो पसारेर मुस्काइदिन्छ। म खुसीले पागल हुन्छु। म उसलाई जतासुकै चुम्बन गर्न थाल्छु।
म बाबुलाई बोकी झ्याल खोलेर बाहिर हेर्न थाल्छु। साँझको सिन्दुरी आकाशमा उडिरहेका चराहरू चिर्बिर गर्दै आफ्नो गुँडतिर फर्कन्छन्। शीतल बतास सिरिरी गर्दै मेरो केशराशी उडाउन थाल्छ।
अन्जानमै मेरा नयनहरू त्यही आँखीझ्यालतिर ठोकिन पुग्छन्। धिपधिपे उज्यालोमा त्यही बन्द आँखीझ्यालको खटप्वालबाट तिनै रहस्यमयी नयनहरूले मलाई अविरल चिहाइरहन्छन्।
एउटा सदस्य गुमाएर बिरहमा डुबेको हाम्रो परिवार विस्तारै सामान्य बन्दै जान्छ। हिउँदमासको पारिलो घाममा म सासूससुरासँगै कौसीमा बसेर बच्चालाई तेल घसिदिँदै हुन्छु। उहाँहरू पनि नातिलाई खेलाउँदै हिउँदे न्यानो घामको आनन्दमा डुब्नुहुन्छ।
कौसीबाट मेरा नजरहरू चारैतिर घुम्न पुग्छन् र अन्ततः पल्लो घरको खापा खोलिएको आँखीझ्यालमा गएर ठोक्किन्छन्। हिजो झ्यालमा देखिएको मान्छे मतिर हेर्दै मुस्कुराइरहेको हुन्छ। मलाई अप्ठ्यारो लाग्छ तैपनि म सासूससुराको आँखा छलेर प्रत्युत्तरमा मुस्कुराइदिन्छु।
उसले हात हल्लाएर मलाई इसारा गर्छ। म लाजले भुतुक्कै भएर मजेत्रोले अनुहार छोप्छु। मलाई त्यो युवकको हरकत देखेर रिस उठ्नुको सट्टा कता-कता रमाइलो लाग्न थाल्छ। मलाई ऊसँग भेटेर अघाउन्जेल मनका कुरा पोख्न इच्छा जाग्छ।
घाम मधुरो भएर कौसीमा ओझेल पर्न थाल्छ। भान्सेनी दिदीले दिउँसोको खाजा खान हामीलाई तल बोलाउँछिन्। हामी हाम्रो हवेलीको भोजन कक्षतिर लाग्छौं।
एकदिन बच्चालाई अस्पतालबाट खोप हानेर घर फर्कँदै गर्दा मेरो त्यो युवकसँग बाटोमा एक्कासी जम्काभेट हुन्छ। अचानक एकअर्कालाई आमनेसामने देखेर हामी दुवै झस्किन्छौं। म शर्मले पानी-पानी हुन्छु।
ऊ मसँग बोल्न खोज्छ तर सक्दैन। म पनि ओठ कमाउँदै ऊसँग बोल्न खोज्छु तर मेरो बोली घाँटीमै अड्किन्छ। हाम्रो वरिपरिको बातावरणमा सन्नाटा छाउँछ।
‘तिम्रो नाम के हो?’ उसले मौनता भंग गर्दै मसँग सोध्छ।
'दीप्ती' म लजाउँदै उत्तर दिन्छु।
‘तिम्रो नाम त मान्छेजस्तै सुन्दर रहेछ,' मसँग आँखा जुधाउँदै ऊ अझै बोल्न खोज्छ।
बाटोमा पर्ने हामी उभिएको चौतारी छेउको पिपलको हाँगामा पिरती लगाइरहेका जोडी ढुकुर डालीमा लुकेर हामीलाई चिहाउन थाल्छन्। मलाई ऊसँग कोही चिनेजानेकाले बात लगाउलान् कि भनेर म डराई-डराई वरिपरि हेर्छु र एकपटक उसको आँखामा पुलुक्क हेरेर आफ्नो बाटो लाग्छु।
म हिँडेपछि उसका मायालु नजरहरूले म ओझेल नपरुन्जेल मलाई हेरिरहन्छन्।
हरे शिव! के भएकी म? म एउटी जिम्मेवार नारीको मनमा कस्तो-कस्तो कुरा खेलेको? अनि के-के इच्छा जागेको मलाई?
मेरो दिमागमा हुण्डरी चलेकाले रात खट्पटीमै बित्छ। मेरो नारीधर्म, मेरो अबोध सन्तान र मलाई आफ्नो एक मात्र सहारा ठान्ने मेरा वृद्ध सासूससुराका छविहरू मेरो मानसपटलमा चलचित्रझैं घुम्न थाल्छन्। निन्द्रा नलागेकाले म कोल्टो फेर्दै मनमा कुरा खेलाउन थाल्छु।
स्वभावतः एउटी स्त्रीको मनमा पनि गुस्मिएका लुप्त चाहनाहरू नहुने होइनन्। आखिर जिन्दगीभर कुन्ठाहरूको भुँवरीमा रुमलिएर एक्लै बाँच्न पनि त कठिन हुन्छ नि मलाई। आँखा चिम्लिएर निदाउन खोज्दा पनि त्यही हँसमुख पुरुष मेरो मानसपटलमा नाचिरहन्छ।
मलाई कता-कता त्यो पुरुष मनपर्न थाल्छ। उसको मप्रति हेर्ने नजर नै लोभलाग्दो लाग्छ मलाई। झन् कहिलेकाहीँ आँखीझ्यालबाट मुस्काउँदै प्रेमजन्य इसारा गर्दा त म भित्रभित्रै पुलकित हुन पुग्छु।
अस्ति चौतारीमा मसँग बोल्दै उसले मेरो सुन्दरताको बखान गर्दा म भित्रभित्रै खुसीले पागल भएकी थिएँ। म कोल्टे फेर्दै आफूलाई नै बिर्सेर उसलाई मात्रै सम्झिन थाल्छु।
आ जे होस् होस्, म मनमनै उसलाई भेट्ने अठोट गर्छु। भोलि म उसकै घर अगाडि भएर बजार जानेछु र मनको कुरा पोख्नेछु।
छिप्पिएको मध्यरातमा मेरा आँखाहरू लोलाउन थाल्छन् र म निन्द्रादेवीको काखमा पल्टिन पुग्छु।
हप्ता दिनदेखि त्यो आँखीझ्यालमा केही चहलपहल देखिँदैन। मलाई त त्यता हेरेर रमाउने बानी नै परिसकेको हुन्छ। केही दिनदेखि त्यो युवकलाई नदेख्दा मलाई न्यास्रो लाग्न थाल्छ। मलाई त्यो घरमा केही न केही गडबड भएकै हुनुपर्छ जस्तो लाग्छ।
भोलिपल्ट मेरो कौतूहलता मेट्न हेतु म त्यही घर छेउकै बाटोबाट हिँड्छु। त्यो घरको मूल ढोकामा भोटे ताल्चा लगाइएको हुन्छ।
म त्यो घरको आँखीझ्यालबाट भित्र निहाल्छु। ह्वास्सै ढुँडी गनाएको त्यो शून्य घरभित्र अँध्यारो सिवाय केही पनि देखिँदैन।
'नानीले कसलाई खोज्नुभएको होला? मेरा आफन्त यो घरका मान्छेहरू त हप्तादिन अघि नै यहाँबाट बसाइँ सरिसके त,' हाट भर्न हिँडेका एकजना वृद्धले मलाई जानकारी दिन्छन्।
म वृद्धको कुरा सुनेर खङ्ग्रंग पर्दै भारी मन लिएर घर फर्कन्छु। म आज रातिको खाना पनि नखाइकन ओछ्यानमा पल्टिन्छु। रात छिप्पिँदै जान्छ। म गहभरि आँसु पार्दै पल्लो घरको आँखीझ्यालतिर एकटकले हेर्दै टोलाइरहन्छु।