कैयौँ रापपछि
कैयौँ तापपछि
अनि कैयौँ वर्षातपछि
एउटा फूललाई समेत थाह छ कति समय लाग्छ फल फलाउनको लागि
तर मेरो
हरियो पासपोर्ट पाकेर रातो हुन मैले
कति अनिदा रातहरू बिताउन पर्ने हो मलाई थाह छैन।
छोरीले बाबा भनेको सुन्न नपाएका मेरा कान
आमाको मुख नदेखी सुरु हुने बिहान
र आफ्नै सपनाका चिहान
बस् यति छ मसँग
म छोरीको भोलि खोज्न
आज छोरी छोडेर हिँडेको त्यो बाउ हुँ
जुन केवल भित्ताको फोटो र भिडिओ कलमा सीमित छ
चिया पसलको ‘स्वार्थी बाउ’ नामको
छलफलमा सीमित छ।
हिजो म सानो हुँदा मेरा बा परदेश गए
आज मेरो छोरी सानी छे
अनि म परदेशी भएँ।
आज मैले क, ख सिकाउन नपाएको मेरी छोरीले
भोलि मलाई पढेर के हुन्छ
भनेर सोधे मेरा सर्टिफिकेटहरूले
के जवाफ देलान् मलाई थाह छैन!
आज मलाई छोरी नचाहिएको जस्तो देखेर
भोलि मेरी छोरीलाई म नचाहिने हुने पो होकि?
भोलि, मसहितको घर छोडेर डलरको पछि किन दौडिएको
भन्ने उसको प्रश्न आयो भने म के जवाफ दिउँला?
भोलि ऊ मलाई छोडेर
आफै जिन्दगीको पछि भागी
भने म कुन मुखले उसलाई रोकौँला
मलाई थाह छैन!
बाबा मलाई देशमा छोडेर किन विदेशमा
मलाई खोज्न निस्किनु भएथ्यो
भन्ने प्रश्नमा ‘तिम्रो जोगी बा लोभी थियो’
भनेर कसरी भन्ने मलाई यो पनि थाह छैन।
तर मलाई यो थाह छ कि आज मैले
हानेको हरेक घण्टाले
भोलि मेरै पुर्पुरो बजाउँछ
अनि मैले ऐया पनि भन्न पाउदिनँ।