सुनसान रात
सन्नाटा चारैतिर छ
आहा! कस्तो शान्ति छ
तर
मभित्र अशान्ति छ
झैँझगडा छ
हो-हल्ला छ
भावनाहरुको द्वन्द्व छ
सोच्ने क्षमता अलि मन्द छ
उर्जा उत्पादन नै बन्द छ
ध्यान त पुरै भङ्ग छ
तन अटल देखिए पनि
मन चाहिँ भताभुङ्ग छ
छताछुल्ल छ जताततै
आफूमै दुर्गन्ध छ
आफूभित्रको राग, द्वेशले
आफैलाई जलाउँछ।
पृथ्वीनारायण बन्नुपर्ने भो अब
तन, मन, मस्तिष्क;
आत्मा, सोच, विचार, भावना
एकीकरण गर्नुपर्ने भो अब
छरिएका यी कण-कणहरू
ठुस्स परेका यी कोसहरू
द्वन्द्वले निमोठिएका भावनाहरू
जोड्नु पर्ने भो अब
अनेक बनेको म आफैलाई
एक बनाउनु पर्ने भो अब
आफैभित्र सन्नाटा खोज्नुपर्छ अब
शान्ति र निश्चलता ल्याउनुपर्छ अब
धमिलिन खोजिरहेको यो मन
सङ्ग्ल्याउनु पर्छ अब
तटस्थता, एकाग्रता लैजानुछ बढाउँदै
सिक्नलाई व्यग्रता आफूमै जगाउँदै
द्वेश, राग जलाउँदै
सुन्दर फूल फुलाउँदै
स्वच्छ बनाउनु पर्छ मन अब मेरो
चिन्तन गर्नुपर्छ मभित्रको संसारको
धन्य हो प्रभु, सधैँ धन्य होऊ तिम्रो
आशिक देऊ, सद्बुद्धि होस् हाम्रो
सुनसान रात
सन्नाटा चारैतिर छ
आहा! कस्तो शान्ति छ
र
मभित्र झन् शान्ति छ
हर्ष छ, सन्तुष्टि छ
भावनाहरू मित्र छ
सोच्ने क्षमता साह्रै द्रुत छ
आनन्दको अनुभूति छ
रमाइलो छ यो संसार
आफैभित्रको।