फेरि उमेर बढ्यो
फरक यत्ति मात्र हो कि
पहिले वर्ष-वर्षमा बढ्ने गर्थ्यो
अब क्रमश: दुई-दुई वर्षमा बढ्न लागेको छ
उमेर सरासर बढ्ने भनेको त
उही पच्चिस वर्षको हुनेबेलासम्म मात्र रहेछ
थकान महसुस गर्छ उमेरले
अनि बिसाइ फेर्न रहर गर्छ
पहिले, कहिल्यै दोधार नहुने उमेर
अहिले कसैले सोधिहालेमा
'कति वर्षको भएँ?'
भनेर अल्मलिन खोज्छु
सायद उमेर बढ्दै जाँदा द्विविधाहरू पनि बढ्दै जाने रहेछन्
हुन त सबैका सामु लोक सेवा परीक्षा दिइरहनुपर्ने पनि त होइन
अनि सबैलाई चिना देखाउनै पर्ने पनि त होइन
किन द्रुत गतिमा उमेर बढाइरहनु?
विस्तारै भर्चुअल हुँदैछ जमाना
सशरीर कतिजना सामु पो उभिन पर्ला र अब?
अनि सञ्जालमा पोष्ट्याउन
बढेको उमेर देखाउनै पर्ने बाध्यता पनि किन?
प्रविधि विकसित हुँदैछ
क्यामेरा र एप्सहरूमार्फत
मेरो उमेर घटाइदिने चिन्ता दुनियाँले लिँदैछ
अनि म किन चिन्तित हुनु उमेर बढ्छ कि भनेर?
कपाल सेतो त उही एक हजामले देख्ने न हो
भिन्न कलेवरको ढपक्कै टाउको ढाक्ने युगमा
कपाल कालै हुनुपर्छ भन्ने पनि त केही रहेन अब
जब सारा सम्भावना जीवितै छन् भने
उमेर पनि त किन द्रुत गतिमा बढाइरहनु?
आराम गर् उमेर
बिसाइ फेरेरै कटाउन सकिन्छ जिन्दगी
थकान महसुस गर्न पाउने हक तँलाई पनि त छ नि।