चिसो मौसम। एकाबिहानै जाडो छल्दै म मर्निङ वाक जाँदै गर्दा पर कोही आउँदै गरेकी एउटी केटी देखेँ र एकछिन उभिएँ। उभिनु पर्ने कुनै कारण त थिएन तर पनि म जुत्ताको लेस बाँध्दै गरेको अभिनयमा उभिएँ।
ऊ नजिकै आइपुगी। मैले उसलाई हेरेँ। उसले पनि हेरी। तर ऊ बोलिन, म पनि बोलिनँ। पर पुगेपछि मलाई पुनः एक पटक हेरी। मैले नि उसलाई हेरिरहेँ।
यो हाम्रो देखादेख भएको पहिलो दिन हो। त्यसपछि म गएँ केही दिन मर्निङ वाक। अरू दिनमा त्यो बाटोमा कहिले नि उसलाई भेटिनँ। म पनि विस्तारै जान छाडेँ मर्निङ वाक, सामान्य बिरामी परेर।
ऊ आउँदै थिई या उसले पनि छाडी त्यो बाटो आउन थाहा भएन। विस्तारै म अल्छी हुँदै गएँ। चिसो मौसम को जान्छ मर्निङ वाक जस्तै लाग्न थाल्यो।
एकदिन बिहानै हाटबजार लाग्ने ठाउँ हटिया गएँ। दाल, साग, सब्जी, आलु, प्याज किन्नु थियो। ऊ पनि आएकी रैछ त्यही हटिया बजारमा घरका लागि नुन, तेल, साग र दाल किन्न। सामान किन्ने क्रममा भेट भयो बजारको बीचमा।
ऊ अघिल्लो पटक कलेजको ड्रेसमा थिई। खासै राम्रोसँग देखेको थिइनँ। यो पटक मलाई ऊ सुन्दर लाग्यो। उचाइ पनि राम्रो नै थियो उसको।
कालो कपाल स्ट्रेट गरेर छोडेकी थिई उसले। कपाल लामै थियो। लेदरको ज्याकेट, चिसो छल्न लगाएकी थिई उसले। कालो रंगको हाइनेक, कालै पाइन्टमा कालो रंगको बुट। हेर्दा उसको पहिरन कुनै फिल्म या भिडिओको छायांकन गर्न आएको जस्तो देखिन्थ्यो। अर्को शब्दमा भन्दा मोडल जस्तै।
हेर्दै जो कोहीलाई मन पर्ने थिई ऊ। मलाई पनि मन परिहाल्यो। सामान किन्दै गर्दा ऊ र म एउटै पसलमा पुग्यौँ। उसले आफ्नो सामान किनी, मैले आफ्नो। ऊ हेरिरही, मैले पनि उसलाई हेरेँ। तर त्यस दिन पनि हाम्रो बोलचाल भएन।
सानो ठाउँ, एउटै बाटो भएकाले त्यसपछिका दिनहरूमा देखादेख हुँदै गयो। एकदिन बैँकमा खाता खोल्न आएकी थिई ऊ। म नि सानो कामले बैँक गएको थिएँ। भेट भैहाल्यो ऊसँग।
ऊ फिस्स हाँसी, मैले नि हाँसो मिलाउन हाँसिदिएँ। फेरि ऊ आफ्नो काम गर्दै थिई। बुझ्दा ऊ बैँकमा खाता खोल्न आएकी जस्तै लाग्यो।
म लाइनमा बसेँ, पैसा निकाल्नु थियो। मेरो काम हुन केही टाइम लाग्यो। पछि हेर्दा ऊ त्यहाँबाट निस्किसकेकी थिई।
त्यो दिन शुक्रबार थियो। अफिस पनि सकियो। आफूलाई झ्याउ लागेको थियो। के गर्ने भैरहेको थियो। यही बीचमा जिरो-प्वाइन्ट जाने मूड चल्यो। टुँडिखेल हुँदै चौतारा भएर जान मन लाग्यो।
एकछिन चौतारामा उभिएर हेरेँ चारैतिर। तलपट्टिको गाउँ निकै सुन्दर थियो। केही समयपछि अचानक उसलाई त्यही चौतारामा आउँदै गरेको देखेँ। यो दिन उसले कुर्ती र पाइन्ट लगाएकी थिई, र सामान्य उचाइको हिल लगाएकी थिई।
राम्री र परिवेबेश सुहाउँदो देखिएकी थिई। म पनि एक्लै थिएँ चौतारामा, ऊ त्यही आइपुगी। ऊ म बसेको केही मिटरको दूरीमा बसी।
त्यो दिन म केही आँट गरेर बोल्ने सुरमा थिएँ ऊसँग। ऊ भने आफ्नो फोनमा नै व्यस्त भैहाली। एकछिन उसलाई हेरेँ। तर उसले हेरिन। फेरि मैले नहेरेको जस्तो गरेँ, उसले हेरी। एकपटक हामी दुवैजनाको एकसाथ आँखा जुध्यो।
म नै बोलेँ- ‘नाम के हो तिम्रो?’
‘रोजिना अनि तपाईंको?’
मैले प्रकाश भनेँ। एकछिन गफ गर्यौं, एकअर्काको बारेमा बुझ्यौँ।
मौसम सफा थियो। ऊ मौसमभन्दा सुन्दर देखिएकी थिई। मैले हाँस्दै थपिदिएँ- ‘कति राम्री तिमी, यो सुन्दर प्रकृतिभन्दा पनि।’
मेरो कुरा सुनेर ऊ हल्का लजाई र फिस्स हाँसी।
‘मेरो फोटो खिचिदिनु हुन्छ?’ उसले मलाई काम लगाइहाली।
मैले हुन्छ भनेर थपेँ, ‘म पनि खत्रा फोटोग्राफर हो नि।’
उसले हेरौँमा मलाई सीमित राखिदिई। उसले मलाई पत्याइन। धेरैथरीका पोजमा फोटो खिचिदिएँ। ऊ मख्ख भै र धन्यवाद भनी।
मैले आफ्नै मोबाइलबाट खिचिदिएको थिएँ उसको फोटो। उसको मोबाइलमा सार्नु थियो। उसले सेयर-इट एप्लिकेसनबाट फोटो सार्न भनिन्। मैले क्वालिटी घट्ने कुरा गरेपछि उसले एकछिनमा भनी- ‘ह्वाट्सएप त होला नि है?’
‘छ म त्यहीमार्फत पठाइदिन्छु’ भनेँ।
उसले आफ्नो ह्वाट्सएप नम्बर दिई। मैले सबै फोटो उसको फोनमा पठाइदिएँ।
त्यसपछि हामी त्यहाँबाट छुट्टियौँ।
क्या मजाकी थिई ऊ। वर्षौं चिनजान भए जसरी बोल्यौँ। मिठा बात भए। ऊ खुसी, म झनै खुसी। म तलपट्टि झरेँ जीवन होटेलमा। जेसिकालाई ‘प्रकाश अंकलको लागि कफी भनेर आऊ’ भन्न लगाएँ।
दिदीले कफी ल्याइदिनुभयो। त्यो कफीमा सबैकुरा ठिक थियो, मात्र ऊ मिस भई। मिठो कफीको चुस्कीसँगै उसका ती आँखामा लगाएको कालो गाजल, ओठमा लगाएको रातो लिपिस्टिक र क्युट स्माइल मेरो आँखामा आइरहेको थियो।
कफी खाइसकियो र हिडेँ म आफ्नै रुम हिटी डाँडा।
कोठामा पुगेपछि उसले दिएको ह्वाट्सएपमा म्यासेज गरेँ- ‘तिम्रो फेसबुक आइडी छैन?’
उसले एकैछिनमा रिप्लाई गरी र आफ्नो प्रोफाइलसहितको स्क्रीनशट पठाई। मैले हतारमा सर्च गरेँ।
रोजिना... ऊ मेरो सर्च लिस्टको पहिलो स्थानमा आई, जसरी मनमा थिई त्यसैगरी। उसको प्रोफाइल हेरेँ। बानेश्वर भ्यूमा खिचिएको फोटो, कालो चस्मा, त्यही लेदरको ज्याकेट र बुट लगाएकी थिई उसले। खुब राम्री देखिएकी थिई।
बढो हतार भए जसरी पठाएँ फ्रेन्ड रिक्वेस्ट। केही मिनेटमा उसले पनि मेरो रिक्वेस्ट स्वीकार गरी। मेरो मोबाइलमा आएको नोटिफिकेसन ‘योर फ्रेन्ड रिक्वेस्ट इज एसेप्टेड’ ले दंग भएँ म।
मेसेज केही गरिएन। बेलुका उसले आफ्नो फेसबुकमा फोटो अप्लोड गरी र क्याप्सन लेखी- क्यामेरा बाई स्ट्रेन्जर।
म उसको लागि परिचित जस्तै लागेको थियो। यो कुराले केही थप सोच्ने बनायो। केही दिन ऊ न अनलाइन आई न ह्वाट्सएपमा म्यासेज गरी।
मैले फेसबुकमा उसलाई बोलाएको थिएँ तर म्यासेज हेरिएको थिएन। केही दिनपछि उसले ‘सरी, फोन बिग्रेकाले कुरा हुन नसकेको’ भनी।
मेले भनेँ, ‘ठिकै छ, अब त सधैँ बोल्छौ नि तिमी?’
उसले सजिलै भनिदिई- ‘फोन बिग्रिएन भने।‘
‘किन त्यस्तो?’
‘बिग्रिरहने फोनको के भर,’ भनी।
मैले हाँस्दै भनेँ, ‘फोन बिग्रिए बन्ला तर मन बिग्रियो भने के गर्छौ?’
उसले ‘त्यस्तो चिन्ता नलिनु म छु’ भनेर ढाडस दिइहाली। खुसी लाग्यो।
दिनदिनै हाम्रो कुराकानी र समय मिलाएर भेटघाटहरू बढ्दै गए। भेट मात्र बढेका थिएन, माया पनि बढिरहेको थियो। ऊ पनि मलाई माया लागेको कुरा सुनाइरहन्थी बेलाबेला।
हामीले एकअर्कालाई ‘आइ लभ यु’ भनेनौँ र यसमा समय पनि खर्चेनौँ। हाम्रो कुरा कसरी अगाडि बढ्ने? के गर्ने? कस्तो जीवन बनाउने? जस्ता कुरामा छलफल गर्थ्यौं।
भेट हुँदा चिया गफमा पनि हामी भविष्यसँग जोडिएका कुरा गर्थ्यौं। मजाकी थिई ऊ, रमाइलो गर्न कुनै कसुर बाँकी राख्दैन थिई। यही बीचमा हामी कयौँ पटक भेटेका थियौँ, घुमेका थियौँ र आफ्ना कुराहरू समेत एकअर्कालाई खुस्लत पारेका थियौँ।
छुट्ने डरमा हामी दुवै सचेत थियौँ। एकदिन हामी घुम्न गयौँ, ताङ्लेवा झरना। उसलाई पनि खुब एकान्त मन पर्ने र म पनि ऊजस्तै थिएँ। खुलेर कुरा भयो त्यो दिन। उसले नछोड्न अनुरोध गरी। म पनि उसलाई गुमाउन चाहन्न थिएँ।
‘नकारात्मक नसोच, राम्रो भैइरहेको बेला के सोचेको तिमीले?’
ऊ रुन थाली। अचानक उसको आँखामा आँसु यसरी आयो, घाम लागेको बेला पानी परे जसरी। ऊ नमज्जाले रोई, म पनि नरोइ बस्न सकिनँ। उसलाई रुनु हुन्न कमजोर भइन्छ भन्दै फकाएँ। एकछिनमा खुसी भई ऊ।
एकछिन फोटो खिच्यौँ। माथि डाँडामा आएपछि खाजा खायौँ; चिसो, चाउचाउ र भुजा। अनि हिँड्यौ हामी चैनपुर बजार। बीचमा गाउँ छल्दै मिठा कुराकानी गर्दै पुग्यौँ हामी पोखरी बजार।
त्यही नजिकैको पसलमा थुक्पा खाएपछि ऊ आफ्नो घर गई, म आफ्नो डेरा। समय यसरी नै बित्यो। घुम्दै गफ गर्दा माया महसुस गर्दै जीवन जिउने वाचासहित अगाडिको यात्रा तय गर्यौं।
समय बित्दै गयो। हिउँदमा पात छरेका रुख पातसहित हरिया भएजस्तै ऊ पनि बदलिएको जस्तो लाग्यो। ऊ अब उस्तै रहिन। बेलाबेला ऊ मसँग थिई तर मेरा लागि नभई कसैको लागि थिई। खुसी कम थिई। म धेरै बोझ हुँदैथिएँ।
बर्खा सकियो। दसैँ-तिहार आयो। म घर गएँ। यो बीचमा हाम्रो बोलचाल पनि अलि कम भयो। त्यतिबेला उसलाई बिहेका लागि राम्रै घरबाट कुरा आएको रहेछ। उसको साथीबाट सुनेँ।
सबै कुरा थाहा पाएपछि उसलाई धेरै कुरा सुनाएर नराम्रो हुनुभन्दा एउटा उपाय निकालेँ र उसलाई एकदिन भेट्न अनुरोध गरेँ। उसले नाई भन्दै थिई।
म गाउँबाट फर्किएँ। हामी बानेश्वरको डाँडामा भेट्ने कुरा भयो। मैले उसलाई केही प्रश्न गरिनँ, यो पटक माया पनि देखाइनँ। उसले सबै बुझिरहेकी थिई होली। मेरो अनुहारमा देखिएको उदासिनता र पीडा बोध पनि भएन सायद उसलाई।
यो पटक सबै देखेर पनि सोध्न मन लागेन किनकी मलाई सबै कुरा थाहा थियो। र, अर्को ठूलो कुरा पनि मलाई थाहा थियो ऊ मबाट टाढिनुको कारण। धेरै बस्ने कुरा पनि थिएन त्यो दिन। छिट्टै कुरा सकेर फर्किनु थियो।
मलाई भन्न नराम्रो लागेको थियो। उसले त बिर्सी सबै वाचा कसम, म कसरी बिर्सन सक्थेँ उसको त्यो आँखाको आँसु छोड्ने डरले रोएको अनुहार? र पनि उसको अगाडि समस्याको पहाड भई उभिरहने कुरा पनि थिएन।
म प्रेमीबाट समस्यामा परिणत हुने कुरा सोचेको पनि थिइनँ। तर भित्रैबाट आँट गरेँर उसले भन्नुभन्दा अगाडि नै भनिदिएँ, ‘अब रोजिना हामी साथी मात्र है!’
ऊ खुसीले हाँसी।
‘धन्यवाद प्रकाश, मैले भन्न चाहेको तर भन्न नसकेको कुरा कसरी बुझ्नुभयो? म तपाईं सधैँ बेस्ट फ्रेन्ड बनिराख्न मिल्दैन?’ उसले प्रश्न गरी।
मैले हुन्छमा कुरा टुंगाएँ। भन्न त मन थियो- बोझ भएको मान्छे पनि साथी हुन सक्छ र? मैले यो भनेर उसको मन दुखाउनु थिएन।
उसले रातो कलरमा छापिएको बिहेको कार्ड दिई। कस्तो चिसो लाग्यो। फिल्ममा देखेको कुरा आज वास्तविक जीवनमा भोग्दै जो थिएँ।
कार्ड अस्वीकार गर्दै बिहेको निम्तोको लागि धन्यवाद र वैवाहिक जीवनको शुभकामना दिएँ। ऊ मलाई हेरिरही।
मैले भनेँ, ‘मेरो नजरमा असल प्रेमिका थियौ र छौ, अब असल श्रीमती बन्नु है।’
प्रेमीबाट बेस्टफ्रेन्ड भएको दिन आफैले आफैलाई पार्टी दिएँ। मिठो कफीमा सकेँ उसका तिता याद।
उसको बिहे पनि सकियो। उसले आफ्नो आइडीबाट मलाई ब्लक गरेकी रहिछ। एकदिन म्यासेज हेर्दै जाँदा थाहा पाएँ।
उसले लेखेकी थिई- ‘बुढाले हाम्रो सम्बन्ध थाहा पाए मार्छन्, अब हामी केबल मनको साथी मात्र है। कुनै दिन बाटोमा भेट भयो भने बोल्नू है। माया त छ नि, तपाईंको हुनु मेरो भाग्यमा थिएन। जसको हुनुछ भैहालिन्छ, खुसी हुनू। तपाईंलाई मैले जस्तो हैन, साँचो माया गर्ने भेटियोस् शुभकामाना है।’
यो सबै देखेर म छक्क परेँ। म अब उसको बेस्ट फ्रेन्ड पनि हुन सकिनँ।
ऊ मेरो प्रेमिकाबाट कसैको श्रीमती भैई। उसलाई मैले गरेको प्रेमले भन्दा सिन्दुरले बढी सहानुभूति दियो र समाजले अब भन्ने छैन मेरो प्रेमिका। भन्ने छ केबल उसको श्रीमती। हामी त केवल अपरिचित भयौँ।