बेलुकीको खाना खाएर म खाटमा पल्टेको मात्रै थिएँ। फोनको घन्टी बज्यो। फोन उठाउँ कि नउठाउँ भएँ।
उनले यसअघि मलाई खासै फोन गर्दिन थिइन्। गरे पनि फेसबुक म्यासेन्जरमै गफ हुन्थ्यो। त्यो पनि निकै औपचारिक।
रातको आठ बजे आएको फोनबारे सोच्दासोच्दै फोनको घन्टी सक्किसकेछ। अब फेरि म फोन आउँला नआउँला भनेर सोच्नुअघि नै उनको म्यासेज आयो- ‘हेल्लो जी, म गोरखा आएकी छु।’
उनको यो म्यासेज देखेर म आफैले उनलाई फोन गरेँ।
पर्सिपल्ट भेट्ने कुरा भयो मुग्लिनमा।
उनको बसाइँ काठमाडौँ, मेरो चितवन। उनी काम विशेषले गोररखा आएकी रहिछन्। हामी दिनहुँजसो पनि गफ गर्दनौँ तर आत्मियता निकै नजिकको छ। जहिले कुरा भए पनि सामान्य प्रतिक्रिया। सधैं कुरा भैरहेको जस्तो।
उनले भेट्ने दिन बिहानै फोन गरेर आफू घरबाट निस्किसकेको बताइन्। उनलाई भेट्ने भन्ने बित्तिकै मन आत्तियो- कस्ती छिन् होला? कस्तो भएर आउँछिन् होला?
योभन्दा अघि उनको बारेमा मेरो मनले कहिल्यै सोचेको थिएन, भेट्ने कुराले भने मनमा धेरै कुरा खेल्दै थियो।
उनको र मेरो टिकटकबाट चिनजान भएको थियो। यो हाम्रो पहिलो भेट हुने वाला थियो। पेसाले उनी पत्रकार हुन्।
म पनि कसरी उनको अघि ‘वाउ!’ देखिने भनेर लुगा नाप्दै थिएँ। उनले म दुई घण्टापछि मुग्लिन आइपुग्ने बताएकी थिइन्। एक घण्टा त बितिसकेछ। अब म हिँड्नुपर्छ भनेर सोच्दै थिएँ, उनले मेरो फेसबुकमा म्यासेज गरिन्।
‘हेल्लो जी, सुन्नुस् न मैले मोबाइल हराएँ बाटोमा। म साइबरमा आएर हजुरलाई म्यासेज गरेको, मोबाइलमा फोन लाग्छ तर उठ्दैन। कता हरायो थाहा छैन, अफिसको धेरै फाइल थिए अब के गर्ने टेन्सन भएको छ।’
उनको यो म्यासेजले म अक्क न वक्क भएँ। नहौँ पनि कसरी? भेट्ने रहरले मनमा लड्डु फुर्दै थियो। मैले तपाईंको छेउछाउमा कोही मान्छे होला नि एकचोटि उहाँको नम्बर मागेर दिनुस् न फोन गर्छु भने।
उनले नम्बर पठाइन्, मैले कल गरेर भनेँ- ‘मिस नआत्तिनुस, गाउँमा हराएको चिज भेटिन्छ। त्यहाँ चौकीमा रिपोर्ट गर्नुस्।’
मैले भन्नुअघि नै उनले गरिसकेको जवाफ फर्काइन् अनि हाम्रो आज हुने भनिएको भेट रद्द भयो।
म दिनभर उनकै बारेमा सोच्दै बसेँ। कहाँ हराइन्? कसरी हराइन्? आज काठमाडौं फर्किन् कि फर्किनन् होला? यस्तै यस्तै।
धेरै कुरा मनमा खेले उनको लागि। उनको मोबाइलमा मैले पटक-पटक फोन गरिरहेको थिएँ। फोन लागेको छ प्रत्येक चोटि तर उठ्दैन।
बेलुकी उनले फोन गरेर जानकारी गराइन्- ‘फोन गोरखाबाट काठमाडौं जाने गाडीले भेटाएको रहेछ। काठमाडौंमा दिदीले लिनुभयो, म भोलि फर्किन्छु काठमाडौं। अर्को चोटि आउँदा भेटौँला।’
मैले हस् भन्ने जवाफ दिएँ। त्योभन्दा अरु के नै भन्न सक्थेँ र!
दिनहरू बितिरहेका थिए। सामान्य व्यक्ति, सामान्य जीवन। बिहान सबेरै उठ्यो, घरमा काम भए गर्यो नभए आमाले पकाएको खाना खायो अफिसतिर लाग्यो। यसैगरी दैनिकी चलिरहेको थियो। कहिलेकाहीँ फेसबुकमा उनीसँग गफ हुन्थ्यो।
स्थानीय निर्वाचनमा उनी फेरि गोररखा आउने भइछिन्। उनले यो पटक पक्का भेट्ने विश्वास दिलाइन्। पहिलो पटक नि यही भनेर आएकी थिइन् तर भेट्ने अवसर मिलेन। यसपालि चाहिँ केही अप्ठ्यारो नपरोस् भन्दै मनमनै पुकारेँ। निर्वाचनको भोलिपल्ट मुग्लिनमा भेट्ने कुरा भयो।
भोलिपल्ट बिहानै उनले कल गरेर ‘म एक घण्टामा मुग्लिन आइपुग्छु तपाईं आउनूहोला’ भनेर फोन राखिदिइन्। म ओछ्यानमै थिएँ उनको फोन आउँदा। जुरुक्क उठेर तयारी हुन लागेँ।
हाम्रो घरमा फेरि चुलोचौकाको काम जसले भ्याउँछ उसले गर्नुपर्छ। त्यही दिन बाबा बिहानै मावलीतिर लाग्नुभएछ। आमा महिनावारी हुनुभएछ। भान्सामा खाना पकाउने मेरै काम रहेछ। मलाई सबै सक्नुपर्ने भयो। यता घरमा काम सकेर मुग्लिन पुग्नुपर्ने भयो।
उनी मुग्लिन आइपुगेर कल गरिन्- ‘हेल्लो जी, म आइपुगेँ। तपाईंलाई कति टाइम लाग्छ?’
भर्खर बाइक स्टार्ट गरेको थिएँ। अब म उनलाई के भनौँ? भर्खर हिँडेको भनौँ भने उनी आइसकेको छिन्, कुर्नु पर्दा आत्तिन्छिन् होला। आइपुग्न लागेँ भनौँ भने मेरो बाटो हेर्दै बस्लिन्।
मैले उनलाई ‘मलाई तीस मिनेट जति लाग्छ, जाम छ बाटो। जाम भएन भने छिट्टै आइपुग्छु’ भनेको थिएँ।
भरतपुरदेखि मुग्लिनको दूरी ३७ किलोमिटर थियो। म बाइकको रफ्तारलाई हावामा उडाए झैँ उडाएँ। उनले एक घण्टा पन्ध्र मिनेट कुरिन्।
मुग्लिन बजारको टाढैबाट मैले उनलाई देखेँ, कालो रंगको वान पिसमा पातलो लेगेन्स, गुलाबी रंगको ब्याग, कालो जुत्ता, मोटी पनि होइन, दुब्ली पनि होइन, काली काली हिस्सी परेकी। गोलो अनुहारमा कतै-कतै डन्डिफोरका दाग।
बाइक लगेर उनको अगि घच्चक ब्रेक लगाएँ। मिठो लज्जास्पद मुस्कानले मलाई स्वागत गरिन्।
उनीसँगको पहिलो भेट थियो। यो अघि कुनै केटी साथीलाई म यसरी भेट्न गएको थिइनँ। मुग्लिन पुलसँगै जोडिएको होटलमा खाना खाने भनेर हामी त्यहाँ गयौँ। दुई ठाउँमा माछा र खानाको अर्डर गरियो।
खाना आयो, खानासँगै कपालको रौँ पनि परेछ। वेटरले अर्को ल्याइदिए। कामको कुरा, राजनीति कुरा, टिकटकका कुरा, चिनजानदेखि अहिलेसम्म बिताएका दिनहरूको कुरा सबै हामीले खोल्न भ्यायौँ।
मेरो टिकटकमा राम्रै क्रेज थियो। घर बाहिर निस्केपछि तपाईंलाई टिकटकमा देखेको थिएँ भन्ने कोही न कोही भेटेकै हुन्थेँ। त्यहाँ पनि खाना खाँदै गर्दा एकजना केटा मान्छेले टिकटकमा भेटेको थिएँ भनेर गए। मसँगै उनी पनि खुसी हुँदै थिइन्।
उनलाई म मिस भनेर सम्बोधन गर्थें, उनी मलाई ‘हेल्लो जी’ भन्थिन्। भेटमा भने उनले सुन्नुस् न जी, यस्तो हो जी, यसरी बोल्दै थिइन्।
‘कि नामले बलाउनू, कि सर भन्नू यो जी भनेको चाहिँ के हो मिस?,’ मैले उनलाई प्रश्न गरेँ।
उनले भनिन्, ‘फोनमा प्रायः सुरुमा बोल्दा हेल्लो भन्ने बानी छ अनि आफूले रेस्पेक्ट गरेको मान्छेलाई नामले बोलाउन अप्ठ्यारो लाग्छ। त्यसैले हेल्लो जी भन्ने गर्छु। मेरो लाइफमा चार/पाँच जना व्यक्ति हुनुहुन्छ जसलाई म एक्दमै रेस्पेक्ट गर्छु। उहाँहरूले पनि मलाई माया गर्नुहुन्छ, इज्जत गर्नुहुन्छ। केटीलाई इज्जत, माया भन्ने कुरा नै सबैभन्दा ठूलो सम्पत्ति हो जस्तो लाग्छ।’
समाचार जस्तै स्पष्ट थिए उनको जवाफ।
हामी खाना खाएर त्यहाँबाट निस्कियौँ। बाइकमा म उनलाई राखेर खैरेनीको पावर हाउस पुगेँ।
‘उनले काठमाडौं जाने मान्छेलाई किन यता ल्याउनु भएको होला? उतै लगेको भए बाटो छोटिन्थ्यो’ भनिन्।
हो जस्तै लागेर बाइक फर्काउँदै मैले उनलाई हाम्रो यो भेटको कहानी लेख्नुस् है मिस भनेँ। तर उनले सिधैँ नाई भनिन्।
‘म समाचार लेख्छु, घटेको घटना बारे, अनि म साहित्य लेख्छु कल्पना बारे। हामीबीच लेख्नुपर्ने त्यस्तो खास के छ र?’
साँच्चै उनीमा पत्रकारिताको छाप परेको नै रहेछ, हरेक कुरामा प्रश्न कडा गरिरहिन्।
मुग्लिन पुलमा फोटो खिच्न भनेँ मैले। उनले मेरो फोटो भिडिओ खिचिदिइन्। उनले खिचेको फोटो भिडिओ तारिफ गर्न योग्य थिए।
उनीसँगको भेटले आज भेटेको जस्तो महसुस नै भएन। बच्चादेखि सँगै हुर्केका दौँतरी जस्तो महसुस भएको थियो। उनी निकै छिटो नजिक हुँदी रहेछिन्, म जस्तै।
हामी बाइकमा अगाडि बढ्यौं। उनले काठमाडौं नै जान आग्रह गरिन् तर म आज जान सक्ने अवस्थामा थिइनँ। बाइकको ऐनामा उनलाई मैले पढेको थिएँ। मनको कुनामा केही गुनासो लुकाएको जस्तो भाव उनको आँखामा झल्किरहेको थियो।
मैले त्यो भाव हटाउन ‘मिस के भयो?’ भनेँ।
उनले हत्तपत्त ती गुनासो लुकाएर आँखालाई टाठो बनाउँदै भनिन्, ‘हेर्नुस् न यो प्रकृति, आफै स्वच्छ हुँदा पनि अरुले दुषित बनाइदिएका छन्।’
उनका शब्दको म अर्थ खोज्दै थिएँ। मलाई बाटो काटेको पत्तो नै भएको थिएन। उनले बाइक यतै कतै गाडी पाउने ठाउँमा रोक्न लगाइन्। कुरिन्टार पुगेर मैले बाइक रोकेँ। काठमाडौं जान उनलाई ढिला हुनसक्छ भनेर अब हामी छुटिने भयौँ।
चुनावको माहोलले गाडी भरिभराउ थिए। बुटवलको गाडी अलि खाली जस्तो थियो, रोकेको त क्याबिन मात्रै खाली थियो। मलेखुबाट सिट खाली हुन्छ बस्नुस् भन्यो सहचालकले। उनी पनि हुन्छ भन्दै बसमा चड्दै मलाई बाईबाईको संकेत गरिन्। मैले पनि मुन्टो हल्लाएर जवाफ दिएँ।
बस गएको केही बेर म त्यही रोकिएँ। उनले फोन गरिन् र सोधिन्, ‘जानुभयो हजुर?’
उनले जी हटाइन्, खै किन हटाइन्!
मैले जवाफमा भनेँ, ‘छैन जी, अब निस्किन्छु।’ उ
नी खित्का छोडेर हाँसिन्। मलाई मनमा आनन्द मिल्यो। हस् राख्छु भनेर फोन टुंगियो।
मनमा अनेकौं कुरा खेले, उनैको बारेमा। उनले मेरो बारे सोचिन् कि सोचिनन् होला?
यो प्रेम थियो कि मित्रता? यदि प्रेम थियो भने हामी किन यति धरै औपचारिक छौँ? मित्रता हो भने उनलाई म यति धेरै गहिरिएर किन सोच्छु? यस्तै तर्क वितर्क गर्दै-गर्दै म घर आइपुगेँ। बेलुका उनीले पनि आफू पुगेको भनिन्।
भेट्ने रहर थियो पूरा भयो। उनी र मेरो बेलामौकामा गफ भैराख्छ। फोनमा भेट हुन त जुराउनै पर्छ जस्तो छ। उनी निकै आत्मीय छिन्, खुसी रहन्छिन्, संघर्षशील छिन्। उनको बारेमा मनमा धेरै कुरा खेल्छन् तर भन्न डर लाग्छ।
उनले मलाई गरेको सम्मान नघटोस् भन्ने मेरो चाहना छ। हाम्रो भेटको बारेमा मैले मिसलाई धेरै चोटि लेख्न आग्रह गरेँ तर खै किन मान्नु भएन। ‘लेख्ने कसरी म सिकाउँछु, सुरु गर्नुस्’ भन्नुभयो। अनि मैले यो लेख्न सुरु गरेको थिएँ।
यो लेख तपाईंले पक्कै पढनुहुन्छ। यो पढेर मेरो मनमा तपाईंको लागि भएको भावलाई बुझिदिनू होला है मिस!