गुल्मीको एक गाउँमा ६ जनाको सामान्य परिवार थियो। बुबाआमाले गरेको कृषि पेसाबाट परिवारलाई बिहान-बेलुकाको छाक टार्न पुग्थ्यो।
त्यस परिवारमा ४ जना छोराछोरी थिए। उनीहरूले गाउँकै सरकारी विद्यालयमा पढ्ने गर्थे। जेठो छोरा अर्थात् म अरु भाइबहिनीभन्दा पढाइमा अब्बल थिएँ। मलाई कहिले पनि दोश्रो हुनु परेन।
नभन्दै गाउँको आधारभूत विद्यालयबाट ८ कक्षासम्मको पढाइ सकेपछि मलाई बुबाले ९ र १० पढ्न गाउँबाट डेढ घण्टा हिँड्नुपर्ने श्री पृथ्वी उच्च माविमा भर्ना गरिदिनु भयो। त्यस विद्यालयमा पनि त्यसैगरी उत्कृष्ट अंक ल्याउँदै मैले एसइई पास गरेँ।
यो देखेर मेरो बुबाआमा धेरै खुसी हुनुहुन्थ्यो। वास्तवमा उहाँहरू दुःखको पसिना भुली अनुहारमा खुसीको चम्मक थियो।
अब अर्को समस्याले बुबालाई चिन्तित बनाउन थाल्यो। छोराले यति उच्च अङ्कको साथ एसइई पास गरे पनि परिवारको अवस्था यति कमजोर थियो कि उच्च शिक्षा हासिल गराउन र मेरो लक्ष्य प्राप्ति गर्न सहयोग पुर्याउन नसक्ने पो हो कि भन्ने बुबालाई भयो।
मलाई पनि पारिवारिक अवस्था देखेर बेलाबेला यस्तै लाग्ने गर्थ्यो। मसँग जिद्दी गरेर सहर जान्छु भन्ने आँट पनि थिएन किनकी मैले आफ्नो परिवारलाई राम्रोसँग बुझेको थिएँ।
एसइईको नतिजा आएको पनि एक महिना लगभग पुग्न लागेको थियो। बुबाले पनि मलाई केही भन्न सक्नुभएको थिएन।
मेरो सोच सानैदेखि इन्जिनियर बन्ने थियो। बुबालाई पनि यो कुरा राम्रोसँग थाहा थियो।
मलाई आफैप्रति विश्वास थियो। त्यसैले आफ्नो सपनाप्रति सकारात्मक भएर सोच्ने गर्थें। तर अर्कोतिर मेरो परिवारको आर्थिक अवस्था सोच्दा आफैमा मौन हुनु शिवाय अरू केही गर्न सक्ने थिइनँ।
एक दिनको कुरा हो, बुबा खेतबाट अलि छिटो आउनुभयो। आँगन छेउको पिंडीमा बस्दै मलाई एक गिलास पानी ल्याउन भन्नुभयो। म भित्र गएर कुच्चिएको सिल्टीको आम्खोरामा पानी लिएर दिएँ।
बुबा टाउकोबाट फाटेको टोपी झिकेर अनुहारको पसिना पुछ्दै पानी पिउनु भयो र गिलास भुइँमा राख्दै भन्नुभयो- ‘बाबु, तिमीलाई तिम्रो मावली तिरको आफन्तीबाट कुरा आएको छ। बाबु पढ्न ज्यादै मेहनती छन्, ठूलो मान्छे बन्न सक्ने उसको दिमाग छ तर आर्थिक अवस्थाले गर्दा चाहेको पढ्न नपाउने भयो भन्दै एकजना गाउँकै शिव दाइले कुरा गर्दिनु भएको छ रे। तिम्रो मावली दाइ न्यायाधीश रहेछन्, काठमाडौंमा घर रहेछ। त्यो घरमा भाउजूसँग बस्ने उहाँ शारीरिक रुपमा कमजोर हुनुहुन्छ रे। उहाँलाई बिहान-बेलुका खाना बनाउने, खुवाउने अनि पढ्ने भनेर कुरा गरेछन्। यो कुरा मलाई खेतमा शिवले भनेका।’
यो खबर सुनेर मेरो मनमा कता-कता म पनि सहर जान पाउँछु कि? मेरा सपना पूरा होलान् त? लगायत यस्तै प्रश्नहरूले मनमा डेरा जमाउन थाले। मनले मनसँग प्रश्न गर्न थालेँ।
‘अनि चाहेको विषय पढाउँछन् कि नाई?’ भन्दै बुबालाई प्रश्न गरेँ।
बुबाले मलाई पढाउँछन् रे के भन्नु भएको थियो, मन त फुरुङ्ग भयो। चञ्चले मन भित्रैबाट खुसी भएर आयो। बेलुका बुबाआमा र म सँगै बसेर सल्लाह गर्न थाल्यौं।
बुबाआमा मलाई सहर पठाउन मन्जुर हुनुभयो। म पनि सहर जान तयार भएँ।
असारको महिना थियो। झरी परिरहेको थियो। म घरबाट बुबाआमाको आशीर्वाद लिएर लागेँ मेरो सपनाको सहरतिर। त्यस दिन गाउँबाट दिउँसो ३ बजे हिँडेको म अर्को बिहान मात्र सहर पुगेँ।
म कलङ्कीमा उत्रिएको थिएँ। त्यहाँ मलाई ल्याउन मेरी ठूलीआमाको छोरा अर्थात् मेरो दाइ आउनु भएको थियो। उहाँसँग भेटेपछि गाउँमा जुन कुरा भएको थियो त्यसैबमोजिम मलाई घरमा लगेर छोड्नुभयो र उहाँ त्यहाँबाट आफ्नो अफिस लाग्नुभयो।
मलाई त्यहाँ मेरो परिवार, पढाइको बारेमा थुप्रै कुराहरू सोधियो। मलाई त्यो घर, मान्छे, सहर बिल्कुलै फरक लाग्दै थियो। म भूमरीमा परेको भान भएको थियो।
बुबाआमालाई छोडेर टाढा आएको म मेरा सपना साकार पार्न जसरी पनि सहरको वातावरणसँग परिचित हुनु नै थियो।
म त्यो घर बस्न लागेको पनि दुई दिन भएको थियो। गाउँमा जुन सम्झौता भएको थियो त्यसैबमोजिम मलाई त्रिपुरेश्वरस्थित विश्व निकेतन माविमा विज्ञान विषयमा भर्ना गर्दिनुभयो। म भौतिक विज्ञान लिएर पढ्ने निधो गरेँ।
म सरकारी विद्यालयमा नेपाली माध्यमबाट पढेको मान्छे, विज्ञानतर्फका भौतिक, रासायनिक विज्ञान मलाई बुझ्न धेरै नै गाह्रो हुन्थ्यो। गणित भने केही बुझ्थेँ। मलाई त्यो बुझ्न् कति गाह्रो भयो त्यो पीडा म मात्र महसुस गर्न सक्थेँ कि त सरकारी विद्यालय पढेका साथीहरूले।
सहर पसेको पनि तीन महिना बित्यो। कलेजले परीक्षाको रुटिन निकाल्यो। नभन्दै परीक्षा पनि भयो र केही समयपछि नतिजा प्रकाशित भयो। मेरो नतिजा हेरेर म आफै काँप्न थालेँ। अनुहार रातोपिरो भयो। पसिना आउन थाल्यो। म आफैसँग निःशब्द भए आँखाबाट आँसु पनि झरेका थिए।
म रुँदैरुँदै म बस्ने घर पुगेँ। त्यहाँ मेरो नतिजा हेर्नुभयो। म अवाक भएँ। केवल शिर मात्र निहुँराएर बसिरहेँ। मेरो विद्यालय जीवन सम्झेर अझ बढी रोएँ। भाउजूले त्यो कुरा दाइलाई पनि बताउनु भएछ। अनि दाइभाउजू दुवै जनाले ‘अब कमर्स पढ, यो तिमी सक्दैनौ’ भन्न थाल्नुभयो।
मैले मेरो अडानलाई छोडिनँ। म छोड्न सक्दिनँ। म जसरी नि पास गर्छु भनेर विज्ञान नै पढ्छु भनेँ। म मेरो सपना यत्तिकै कुल्चिन सक्ने थिइनँ।
केही समयपछि ११ कक्षाको वार्षिक परीक्षा पनि दिएँ। ११ को नतिजामा म पास भएँ तर मलाई कति चित बुझेको थिएन। एसइईको तुलनामा आधा मात्र थियो। अब १२ मा राम्रो गर्छु भन्दै पढ्न थालेँ।
विज्ञान भएकोले प्रयोगात्मक परीक्षाहरू धेरै हुने गर्थ्यो। मलाई बिहान-बेलुका खाना बनाएर भान्साको काम सक्नुपर्थ्यो। दिउँसो कलेज थियो। बिहान-बेलुकी घरको काम, कलेजबाट फर्कँदा ढिला हुन्थ्यो। कलेजमा जे जति सुनियो, पढाइ त्यही हुन्थ्यो।
राति कामले थकाइ लाग्ने हुँदा पढ्न मन लाग्ने थिएन। मलाई त्यो घरमा गरिने व्यवहार पहिलेभन्दा बिल्कुलै फरक हुने गर्थ्यो। त्यो म सहजै महसुस गर्न सक्थें।
मेरो पढाइ पनि विस्तारै खस्कँदै थियो। नभन्दै मेरो १२ कक्षाको परीक्षा पनि आयो। मनभरि अशान्ति छाएको थियो। मन भारी थियो, पढ्ने माहोल घरमा थिएन। परीक्षा दिने मन अलिकति पनि थिएन तर परीक्षा नदिए अर्को वर्ष दिन अझै गाह्रो हुन्छ भन्ने पनि लाग्थ्यो।
कता-कता जे होला भन्दै परीक्षा दिने निर्णय गरेर फर्म भरेँ। मलाई त्यहाँ बस्न धेरै असजिलो भैसकेको थियो। मैले त्यहाँबाट भाग्ने योजना बनाएँ। भोलि भौतिक विज्ञानको परीक्षा थियो। अघिल्लो दिन म त्यस घरबाट भागेर कीर्तिपुर सानीमाकोमा जान निस्किएँ।
म सानिमाकोमा जान भनेर त निस्किएँ तर मसँग गाडी चढ्न भाडा समेत थिएन। बानेश्वरबाट दुई हातमा गह्रौं झोला बोकेर म नस्किएँ। मलाई कीर्तिपुर पुग्न धेरै गाह्रो थियो। म कालिमाटीसम्म हिँड्दै गएँ।
गाउँकै एकजना छिमेकी दाइ कलङ्कीमा काम गर्नुहुन्छ भन्ने थाहा थियो। म कालिमाटीबाट कलङ्की तिर गएँ। दाइसँग भेट भयो। उहाँले मलाई केही पैसा दिनुभयो र म गाडी चढेर कीर्तिपुर तिर लागेँ।
भोलिको परीक्षा थियो। मलाई तयारी गर्नुपर्ने थियो। भोक, थकान पनि धेरै थियो। मैले सानिमालाई केही खानेकुरा भए दिनुस् भनेर अनुरोध गरें। बिहानको खाना रहेछ, त्यही खान दिनुभयो। मैले खाएर पढ्न थालेँ।
रात बित्यो, बिहान भयो। म परीक्षा दिन गएँ। परीक्षा सकिएपछि गाउँ गएँ। बुबाआमासँग धेरै समय पछि भेट्न पाउँदा मलाई स्वर्गीय आनन्द मिलेको अनुभूति हुँदै थियो। मैले दुई महिना आमाबुबासँगै गाउँमा बिताएँ र फेरि सहर फर्किएँ।
केही महिनापछि १२ को नतिजा पनि आयो। यसपटक पनि पास त भएँ तर सोचेभन्दा धेरै कम अंक आएको थियो। केही दुःख लागेको थियो तर अर्को मन खुसी थियो। म त्यस्तो समयको सामना गर्दै पढ्न छोडेको थिइनँ।
हार नमानी पढेको थिएँ र पास भएँ। अब मेरो सपना इन्जिनियर पढ्न के गर्ने? घरमा भन्ने स्थिति थिएन। यत्तिकैमा मैले मेरो सपना त्यागिदिएँर जागिर गर्ने निर्णय गरे। दिउँसो-बिहान लोक सेवाको तयारी कक्षा लिने सोचेँ।
अब जागिर कहाँ गर्ने भन्ने कुरा भयो। एकदिन सामाजिक संजाल चलाउने क्रममा दाइले जागिरका लागि आवेदन मागेको देख्नुभएछ।
उहाँले नै ‘जागिर गर कान्छा, हाम्रो गाउँको लक्ष्मण काकाको फोटो स्टुडियो छ बागबजारमा। त्यहाँ काम गर्नको लागि मान्छे खोज्नु भएको छ। तिमीले त्यहाँ काम गर्नुपर्छ। गाउँकै मान्छे सजिलो हुन्छ। मान्छे पनि बोली, वचन र व्यवहारिक हुनुहुन्छ। सबैको भलो सोच्नु हुन्छ। तिमी त्यहाँ काम गर, म कुरा गर्दिन्छु अनि गएर भेट’ भन्नुभयो।
म सोहीबमोजिम बागबजारमा रहेको फोटो स्टुडियोमा गएँ। कुराकानी गरेँ। उहाँले मलाई जागिर दिनुभयो।
त्यसपछि म बागबजारको एउटा होस्टेलमा बस्दै बिहान लोक सेवाको कक्षा लिने सुरू गरेँ। दिउँसो काममा जान्थेँ। स्टुडियोसँग त सामान्य चिनजान थियो तर क्यामरा, कम्प्युटरसँग केही थिएन। मलाई उहाँले राम्रोसँग काम सिकाउनु भयो। मैले पनि उत्सुकताको साथ सिकेँ।
अब ब्याचलर पनि पढ्नु पर्ने थियो। अन्य संकायमा भर्ना हुने, लोक सेवाको तयारी गर्ने, जागिर गर्ने सोचले राजनीतिक शास्त्र पढ्न मानविकी संकायमा रत्न राज्यलक्ष्मी क्याम्पसमा भर्ना भएँ।
क्याम्पस कहिले जाने अवसर नै मिलेन। कुन-कुन विषय हुन्छन् समेत थाहा थिएन। परीक्षा फर्म पनि खुल्यो। साथीहरूसँग सोधपुछ गरेर फर्म भरेँ, विषयको बारेमा नि बुझेँ र गेस-पेपर किनेँ। तर कहिले क्याम्पस नगएको कहाँबाट कसरी के पढ्ने सबै अन्धाधुन्ध थियो।
अलिअलि हेरेर परीक्षा त दिएँ तर पढेर नदिएकोले खासै राम्रो भएन। दोश्रो वर्षको पनि भर्ना त गरेँ तर क्याम्पस कहिले गइनँ। समय चल्दै गयो, दोश्रो वर्षजस्तै तेस्रो वर्षमा पनि भर्ना भएँ। भर्ना भएको केही समयपछि मात्र पहिलो वर्षको नतिजा आयो। नतिजामा फेल थियो।
कहिले फेल नभएको म आफैसँग लज्जित बन्दै मौन भएर आफैसँग प्रश्न गर्न लागेँ- म किन यति बिग्रेको? केही गर्न सक्दिनँ कि? जिन्दगी कस्तो हुने होला?
मैले उता स्टुडियोमा काकासँग सल्लाह गरेरै केही समय लोक सेवा पढ्छु भनेर छोडेको थिएँ। दोश्रो वर्षको अन्त्यतिर केही समय त बुबाले ऋण धन गरेर पैसा पठाउनु भयो। मलाई आफैलाई माग्न, भन्न गाह्रो लाग्ने गर्थ्यो।
पछि मैले पैसा माग्दिनँ बरु बिहान-बेलुकीको समय जागिर गर्छु भनेर लोक सेवा तयारी गराउने संस्थामा जागिर सुरु गरें। गरीब परिवारमा जन्म हुनु मेरो कुनै गल्ती त थिएन तर पनि मैले हार नखाई सुख, दुःखको सामना गर्दै हार नमानी अगाडि बढिरहेँ।
म कहिले सफलता पाउँछु, त्यो मैले देखेको छैन। क्याम्पस, जागिर, लोक सेवा र घरको जेठो छोरा हुनुको जिम्मेवारी मैले भुलेको छैन। इश्वर भन्न्नुहुन्छ रे- तँ आँट,म पूरा गर्दिन्छु। त्यही उखानमा आधरित भएर मेरा पाइला अगाडि चल्दै छन्।
प्रगति हुन्छ/हुँदैन, मैले बुबाआमालाई खुसी दिन सक्छु/सक्दिनँ त्यो समयले नै बताउँछ। जिन्दगी खुसीको मात्र होइन, दुःखको पनि हो। धनीको मात्र होइन, गरिबको पनि हो। स्वतन्त्र रुपमा बाँच्न जीउन, रमाउन सबैलाई समान अधिकार छ।