यति ठूलो पृथ्वी आज किन भयो यति सानो
आफ्नै भूमिको राजधानी पनि लाग्न थाल्यो बिरानो
विशाल गगन साक्षी छन् मेरो पसिना र दुःख बुझ्ने
तर छैन मेरो सन्ततिलाई टाउको लुकाउने एउटा छानो!
यो सहर मेरो होइन रे, काम गरी खान पनि
दिनभरि बेच्थेँ खुद्रा सामान, सुका मोहोर गनी-गनी
माग्न त गएको थिइनँ म, कुनै सहरी महाजनका नि
बेमौसमी हुरी आई उडायो मेरो बाँच्ने र बँचाउने सपनी!
गगनचुम्बी भवनहरू नि अब त लाग्ने थाले बिरानी
म दुखीको खोसिएको छ आँसु लुकाउने सिरानी
कति दिन बाँच्नु मैले गरीखान नपाएपछि
यो सहरमा अटाउन्न रे गरिब मानिसको चिहान पनि।
सडक नै थियो मेरो एउटा जिउने सहारा
जहाँ भेटिन्थे यदाकदा मानवरुपी देवता
दोषी म होइन, दोषी छन् मलाई गरीब बनाउने विधाता
अर्को जन्म नदेऊ मलाई, बन्नु छैन बेसहरा!
सडक भयो खुला अब सहर भयो पराई
भरे राति केले भर्ने म गरिबको कराई?
सडकको पेटी कुर्दै, जीवन जिउने बाध्यतालाई
किन सोध्छौ घरीघरी नबस भनी लाज पचाई?
मागेको छैन मैले सित्तैमा तिम्रो सहर सुबिधा
बस्न देऊ, गरीखान देऊ मर्म बुझी
कोही भन्छन् गाउँ फर्क, कोही भन्छन् सटर किन
म गरिबको छैन जाने ठाउँ, कोही बुझ्दैनौ किन?
अबुझ बन्छौ किन?