प्रेम गरे झैँ भ्रम पारी
सधैँ हृदयको नजिकै
बेलाबेलामा सुम्सुमाए झैँ
दुखाइदिने त्यतिकै
कहिले मुटु हान्ने
कहिले च्याप्प पार्ने हात
भन तिमी को हौ
ए अदृश्य हृदयघात
पर्खँदै हेर्दै पलपल
मौकाको खोजीमा
क्याप्सुल र चक्की
बोक्दाबोक्दै गोजीमा
टन्न खान पनि दिँदैनौ
दही, मोही, घिउ, भात
पर टाढा किन जाँदैनौँ
घरीघरी आउने हृदयघात
आनन्दले बस्न नदिएर
कसरत गर्न झन्झट लाउने
कहिले चेकअप कहिले इमरजेन्सी
कति पटक डाक्टरकहाँ धाउने
औषधि पसल र अस्पतालमै
किन पुर्याइरहन्छौ दिन रात
कोमल हृदयसँग तिम्रो सम्बन्ध
के कारणले हो हृदयघात?