काठमाडौँ हल्का चिसिएको थियो, सास फेर्दा हावामा धुवाँको गन्ध थोरै मिसिएको थियो। दुनियाँको अति प्रदुषित १० सहरहरूभित्र सानदार उपस्थिति जनाएको काठमाडौँ, पहिलो हुन अग्रसर हुँदै थियो।
म जीउ तताउने निहुँले गोंगबुको बिजी मल अगाडि चिया चुस्काउँदै थिएँ। जानु लमजुङ थियो, लमजुङको बेसीसहर।
त्यो खल्लो चियाभन्दा पहिलो पटक कतै जाँदै छु भन्नुको आभास कता हो कता धेरै मिठो थियो। साथै जाने सारथी मध्ये दुई दाजुहरू आउनुभन्दा पहिले नै मेरी साथी आइपुगी। उसले मभन्दा ४ दिन पछि यो धर्तीमा पहिलो पाइला टेकेकी हो।
त्यो दिनको लगभग २६ वर्षपछि उसलाई मैले यो धर्तीमा देखेको करिब ४५ दिन अगाडि, चिनेको ४० दिन अगाडि र बुझेको जम्मा २० दिन अगाडि हो। तैपनि ऊ मेरो सबसे मिल्ने मित्रहरूको सीमित परिधिभित्र परिसकेकी थिई। भेटिनेहरू जीवनको यात्रामा जसरी पनि भेटिन्छन्।
म कालो चिया पिउँदै थिएँ, उसले आउना साथ दूध चिया मगाई। मिल्ने साथी हौँ तर दुवैलाई एउटै कुरा मन पर्नुपर्छ भन्ने छैन। हामी चिया चुस्काउँदै वरपर यताउता गरी रहेका मान्छेहरूका लवाइ, हिँडाइ, बसाइ, मोटाइ, दुब्लाइ, उचाइ, हेराइ, बोलाइअनुसार उनीहरूको न्वारन गर्न थाल्यौँ।
त्यो भिडमा विभिन्न नाम लेखिएका नयाँ-नयाँ सुटकेस र आँखामा तेज बोकेर परदेशबाट फर्केकाहरूको बाक्लो उपस्थिति देखिन्थ्यो। उनीहरू मुहारमा चमकले हुस्सुले ढाकिएको मौसम केही उज्यालो झैँ लाग्थ्यो। त्यसो गर्दागर्दै दुई दाइहरू आइवरी गाडी चढ्न भ्याइसकेछन्।
हामी पनि चढ्यौँ, पछाडि सिटमा पर्यौँ। बेसीसहर नपुगुन्जेलसम्म उसले बेसी बोली कि मैले? त्यो थाहा छैन। उसले धेरै कुरा मलाई सुनाई। मैले त्योभन्दा अलि धेरै कुरा उसलाई सुनाएँ। जसले आफ्ना कुरा निष्फिक्री भन्छ र आनन्दले अरूको कुरा सुन्छ, त्यस्ता मान्छे वरदान हुन्।
ऊ मेरो भागमा परेकी वरदान हो। विगतका हविगतका भारी जम्मा पारी थाप्लोमा बोकेर जीवनको उकाली ओराली हिँड्न सबैलाई कठिन हुन्छ। ऊ मेरो त्यस्तो भारी बिसाउने चौतारी हो। कुन भारी बोकिरहने र कुन भारी मिल्काउने छुटाइदिने सारथी हो।
म पनि त्यस्तै बन्ने प्रयासरत छु अझै पनि। उसको उल्झनवाला प्रेम कहानी मैले सुनेँ, मेरो अन्टसन्ट रामकहानी उसले सुनी।
बेलुका हामी बेसीसहर पुग्यौँ। होटेल खोज्यौँ। ऊ एक्लो कोठामा फराकिलो बसी, हामी तीन भाइ अर्को एउटामा खुम्चियौँ। भोलिबाट सुरु गरेर हामीलाई लमजुङका ९ वटा सरकारी स्कुल जानु थियो।
पहिलो दिन हामी बसेको नजिकैको सरकारी स्कुल जाने योजना बनाएर खाना खायौँ। खाना खाँदा हरेक दिन मलाई केही न केही उसको भागको दिनैपर्ने उसको बानी थियो। त्यस दिन दुई टुक्रा मासु हालिदिँदै भनी- ‘खाऊ बाबु, लामघारे छौ धेरै प्रोटिन चाहिन्छ।’
सबैका नसिबमा यस्तो साथी लेखिएको कहाँ पाइन्छ?
भोलिपल्ट बिहान उसले उसको भागबाट झिकेर मेरो भागमा भात थपिदिई।
‘ह्या! हिजो मासु भर पो केही नबोली खाएको, भात त खान्नँ’ म बिच्किएँ।
‘खा खुरुखुरु, झन् यस्तो मायाले दिँदैछु। सधैँ मजस्तो मान्छे पाउन गाह्रो छ केटा,’ उसले सम्झाई।
सबै कुरा सधैँभरि घरीघरी पाइँदैन।
खाने काम सकेर हामी स्कुल पुग्यौँ। काम कक्षा ६ देखि १० सम्मका हाम्रो लिस्टभित्र पर्ने भाइबहिनीहरूसँग कुराकानी गर्नुथियो। ३० वटा जति प्रश्न थिए।
म कक्षा ६ देखि ७ सम्मका भाइ बहिनीसँग कुराकानी गर्न थालेँ। जसमध्ये धेरैको बेसीसहरमा कोठा थियो, बा विदेश थिए, आमा कसैका होटेल गर्थे कसैका ज्याला मजदुरी गर्थे, कसै-कसैका आफ्नै सानोतिनो व्यापार थियो, कसैका आनन्दले बसी खान्थे। उनीहरूको माथि-माथि गाउँमा घर थियो। यो अवस्था सुनेर लाग्थ्यो ‘सबैको रहर बेसीसहर!’
पढ्नबाहेक के गर्न मनपर्छ भन्दा केटा जति फुटबल खेल्ने भन्थे र केटी जति नाच्न भन्थे। भोलिपर्सी के बन्ने भन्दा चाहिँ उही डाक्टर, पाइलट, नर्स। पढेरबाहेक अरू केही गरेर कोही बनिँदैन हामी सबैलाई स्कुल, अभिभावक, समाजले सिकाएको सिकाएको त्यही हो।
कुराकानी गर्ने क्रममा कतिका बा थिएनन्, कतिका आमा थिएनन्। बा पनि नहुने र आमा पनि नहुने एक बहिनी थिई, रचना। ऊ १७ वर्षकी थिई र कक्षा ७ मा पढ्थी। उसको कक्षाका अरू विद्यार्थीभन्दा ऊ निकै ठूली थिई।
चहकिला आँखामा गाजल पोतेकी, दुई चुल्ठीमा रातो रिबन बेरेकी, हल्का मेकअप गरेकी, ठिक्क टीका लगाउने ठाउँमा कालो कोठी भएकी रचना साह्रै राम्री थिई।
मैले उसको बुबाआमाको बारे प्रश्न गर्दा ऊ झन्डै-झन्डै रोई र ‘बा पनि छैनन्, आमा पनि छैनन्’ मात्र भन्न सकी।
छैनन् भन्नुको अर्थ उनीहरूले संसार नै छोडेका हुन् कि एकले अर्कोलाई छोडेर आ-आफ्नो बाटो लागेका मात्र हुन् कि? म अल्मल्लिँदै अर्को प्रश्न तिर लागेँ। उसले ठूलो भएर डान्सर बन्छु भनी।
‘किन?’ मैले सोधेँ।
ऊ मसँग किन हो एकदमै लजाई।
‘ऊ सधैँ स्कुलमा अनि बजारमा कार्यक्रम हुँदा नाचेर पहिलो हुन्छे,’ हामीभन्दा अलिक पर बसेकी उसको साथीले जवाफ दिई।
‘ल उसो भए कुनै दिन पनि नाचेर तिमी दोस्रो हुन नपरोस्, धेरै चर्चित कलाकार बन्नू अनि कुनै दिन मौका मिलेछ भने म पनि हेर्छु है तिमीले नाचेको,’ मैले लजाउँदै गरेकी ऊतिर हेर्दै मुस्कुराएर भनेँ।
उसले गाजलु परेला उठाएर ठूलो आँखा रसाउँदै मतिर हेरी, हेरिरही। मलाई कोठा भित्रको माहौल असहज हुँदै गएको भान भयो, केहीबेरमै बाँकी प्रश्न सोध्न बन्द गरेँ। यो सबै मेरा सुपरभाइजर दाजुले र मेरी साथीले झ्यालबाट देखेका रहेछन्।
रचनासँग बाँकी प्रश्न गर्न साथीलाई भनेँ, उसले हाँसी-हाँसी हुन्छ भनी।
रचना बेसीसहरमा एउटा कोठामा उसको भाइसँग बस्थी। ऊ बिहान-बेलुका होटेलमा काम गर्थी। भाइ रोचक कक्षा ४ मा पढ्थ्यो।
पछि एकजना मिससँग उसका बाआमाका बारेमा सोधेँ- ‘उसको बुबाआमाको यतै बेसीसहर होटेलतिर काम गर्दा चिनजान भएर बिहे भएको रे! पछि उसको बुबा विदेश गएको थियो। उसको बुबा विदेश हुँदा आमा अर्कैसँग लागेको हल्ला सहरभरि थियो। पछि नेपाल आएपछि एकदिन बुबाले उसकी आमालाई चिर्पटले हिर्काइ-हिर्काइ मार्यो। पछि बुबाले पनि जेलभित्रै आत्महत्या गर्यो।’
जवाफ सुनेर म अमिलिएँ।
‘यो त एउटा प्रतिनिधि घटना मात्रै हो सर, यस्ता घटना दिन प्रतिदिन बढ्दो छ। गाउँघर उराठ लाग्दो हुँदैछन्, बेसीसहर डरलाग्दो हुँदैछ सर के गर्ने? यस्ता घटनाहरूलाई मानिस हरूले सहज रूपमा लिन थालिसके। अब हाम्रो सरकारी स्कुलमा बुबाआमा दुवै सँगै भएका विद्यार्थीको सङ्ख्याभन्दा नहुनेको सङ्ख्या धेरै छ,’ उनले थपिन्।
म कक्षा ४ पसेर रोचकलाई भेटेँ र आफूसँग भएको ५ वटा कापी र कलम उसलाई दिएँ। ऊ मुसुक्क मिठो हाँस्यो। म खुसुक्क नमिठो हाँसेँ।
रचनासँगको बाँकी कुराकानी सकेर साथी हाँस्दै-हाँस्दै आई।
‘के हो केटा, त्यो फुच्चीले त तेरो खुब प्रशंसा गरी त अनि फोन नम्बर पनि माग्दै थिई मैले मसँग छैन भनेँ।’
‘ठिक गरिस् कान्छी’ मैले भनेँ।
‘राम्री पनि कति हो यार, आँखा त झन् नकुरा गरौँ तर विचरी आफ्नो कोही छैन रहेछ।’
‘बुबा पनि सँगै हुने, आमा पनि सँगै हुने बालबालिका तराई तिरबाट परिवार पाल्न पहाड चढेकाहरूको मात्रै रहेछ। बाँकी माथि-माथि पहाडबाट बेसी झरेकाहरूको प्रायःको बुबा विदेश रैछन नि।’ मैले जवाफ दिएँ।
ऊ ट्वाइलेट पसी, मैले मोबाइल झिकेँ र लेखेँ-
बाजेबजै गाउँमा एक्लै, छोरा नाति आउलान् कि भन्दै बाटो हेर्ने। छोरो परदेशमा एक्लै, स्वदेश फर्कने दाउ हेर्ने। बुहारी नातिनातिना बेसीसहरमा एक्लै, बाबु फर्कने दिन गन्दै पात्रो हेर्ने। वास्तविक गरिबीको चित्र यही हो। सबैलाई कसै न कसैको फर्काइको पर्खाइ छ। नेपाली समाजको असली चित्र यही हो।
छनोटमा परेका एक-एक जना विद्यार्थीसँग कुराकानी सकिसकेपछि उनीहरूलाई एउटै कक्षामा राखेर परीक्षा लिने कार्यक्रम थियो। परीक्षा सुरु भएपछि थाहा भयो रचना लेखेर डटपेनको मसी सकाउनेभन्दा पनि टोकेर डटपेनको बिर्को सकाउनेमा पर्थी।
परीक्षा सकिएपछि हिँड्ने बेलामा रचना एउटा साथीसँग आई र सोधी- ‘सरहरू अब कता जाने? फेरि हाम्रो स्कुल कहिले आउने?’
‘अब अर्को स्कुल जाने, यो स्कुल फेरि आइँदैन होला होइन त सर?,’ सुपरभाइजर दाजुले उनीहरूलाई जवाफ दिए र मलाई प्रश्न गरेँ।
मैले ‘हो’ भनेँ र सरासर होटेलतिर अघि बढेँ। बेसीसहरमा चिसो काठमाडौँभन्दा अलिक बढी नै थियो। मैले फर्केर उनीहरू तिर हेरिनँ। रचना र उसका साथीले मेरो फोन नम्बर मेरी साथीसँग माग्ने दोस्रो असफल प्रयास गरेछन्।
दिनभर यत्ति भएपछि बेलुका मेरा सुपरभाइजर दाजु र मेरी साथीलाई मलाई जिस्क्याउन खुराक पुग्दो भएको थियो। उनीहरूले मलाई उडाइरहे, म उडिरहेँ। जति कोसिस गरे पनि, जति मरिमेटे पनि यही घटना यही दिन फेरी आउँदै, हाँसिरहेँ। राति सुत्ने बेला मोबाइलको नोटमा लेखेँ-
रेमिटेन्सले देशको अर्थतन्त्र जोगाएको त छ तर पारिवारिक र सामाजिक मूल्य मान्यता बर्बाद बनाएको छ। रेमिटेन्सले आज देश बिजोक हुनबाट जोगिएको त छ तर यो देशका भविष्यका कर्णधारहरूको आजै हरिबिजोग बनाएको छ, रेमिटेन्सले आज जोगाए पनि भोलि बर्बाद पार्छ।
विगत बर्बाद भएर
हिजो परदेश गएर
आज आबाद परदेशीको
भोलि झन् बर्बाद छ।
भोलिपल्ट रिम-रिममै निन्द्रा रानी छोडिदिइन्। उठ्नासाथ म तल झरेँ, जाडो होस् कि गर्मी मेरो एकाबिहानै दुई गिलास मनतातो पानी खाने बानी छ। सुनसान रोड तिर हेर्दै म पानीको चुस्कीसँगै मन र ज्यान दुवै तताउँदै थिएँ।
मेरो पछाडिबाट एउटा केटी अगाडि बढी र होटेल बाहिर निस्की, केटो होटेलको बिल तिर्दै थियो। केटीले फर्केर केटातिर हेरी, त्यसरी हेर्दा उसले मलाई पनि देखी। उसका मधुरो दाहिने आँखा तल निलो डाम थियो।
उसले हत्त न पत्त सलले मुख छोपी र रोडतिर फर्की। केटो निस्कियो, क्रस फायर बाइक स्टार्ट गर्यो। ऊ चढी, एकफेर म तिर फर्केर हेरी, क्रस फायर बाइकको आवाजले चिसो बेसीसहर पूरै थर्कियो। बल्लतल्ल मनतातोपानीले केही तातिएको म मौन भएँ, बाइकको आवाज जति सानो सुनिँदै गयो उति चिसिँदै गएँ।
‘ए ऊ त कति छिटो हामीलाई भन्दै नभनी एक्लै-एक्लै चिया खान थालिसकेछ हेर’ पछाडिबाट कराउँदै मेरी साथी आई।
उसले चिया मगाई, मेरो सामुन्ने बसी, फिसिक्क हाँसी।
‘केटा राति मलाई कस्तो डर लागेको। है! म बस्ने उता कोठामा १० बजेतिर झ्याप भएर केटा र केटी आएका है! अनि राति १२ बजेतिर केटाले कुटेछ क्या हो केटी रोएर हैरान। तिमीलाई म्यासेज गरेको थिएँ पुलिस बोलाउन पर्ने हो कि भन्दै तिमी त भुस भइसकेको रहिछौ,’ उसले आफ्नो कुरा सक्काई।
‘त्यो रुने केटी को थिई थाहा छ?’ मैले सोधेँ।
उसले मुन्टो हल्लाई- ‘ऊ रचना थिई।’