हाम्रो पहिलो भेट भनौं वा कुराकानी, फेसबुकमार्फत जोडिएको थियो। त्यतिबेला मार्क जुकरबर्गले भर्खर-भर्खरै फेसबुक आविष्कार गरेकाले नयाँ-नयाँ, झन् त्यसमाथि म सानै उमेरको केटो। म खासै चलाउन भने असमर्थ थिएँ।
एक्कासी चलाउन आउने कुरा पनि त भएन। केही दिन, हप्ता, महिना हुँदै राम्रोसँग नजाने पनि हरियो थोप्लो भएको वा देखिएको व्यक्ति अनलाइन हुन्छ भन्ने कुरा थाहा पाइसकेको थिएँ।
एकदिन उनलाई त्यस्तै हरियो थोप्लोमा देखेँ। हामी कसरी फेसबुक साथी भयौं, त्यो भने थाहा पाइएन तर हामी साथी पहिले नै भैसकेको रहेछौँ। उनी अनलाइन देखेपछि मैले हिम्मत गरेर ‘हेल्लो’ भन्दै सन्देश छाडेँ।
म्यासेज त गरेँ तर कता-कता डर पनि लाग्दै थियो। जब सन्देश निलो थोप्लोमा परिणत भयो ममा अनगिन्ती प्रश्नहरू उब्जनी हुन थाल्यो। अब कस्तो जवाफ आउने हो? को हुन् उनी? के गर्छिन्? कहाँ बस्छिन्? यी यस्तै कुराहरू मनभरि खेलिन थाल्यो। उनको जवाफ कुर्दाकुर्दै त्यो रात कति बेला निदाएँ अत्तोपत्तो भएन।
बिहान उठ्नेबित्तिकै मोबाइलमा नेट खोलेर उनको जवाफ हेरेँ। रिप्लाई आएको रहेनछ। बिहानको स्कुल थियो, स्कुलमा मोबाइल बोकेर जान निषेध भएकोले मोबाइल कोठामै राखेर स्कुल गएँ। त्यो दिन मेरो पढाइमा खासै ध्यान गएन, ध्यान जति सबै उनको जवाफ के आउँछ भन्नेमै केन्द्रित थियो।
यत्तिकैमा स्कुल पनि छुट्टी भयो र कोठातर्फ लागेँ। कोठामा पुग्नासाथ हत्तपत्त मोबाइल हेरेँ। मेरो हिजो म्यासेजको जवाफमा ‘हाई’ आएको रहेछ। यसैगरी हामी एकअर्काको परिचय दिँदै कुराकानी अगाडि बढ्दै गएको थियो।
हाम्रो कुराकानी दैनिक जसो हुन थाल्यो। एकअर्काप्रति हामी खुलेरै बोल्न सक्ने भैसकेका थियौं।
मेरो स्कुल पनि सकियो। पढाइ अगाडि बढाउन म गाउँबाट सहर गएँ। एक दिनको कुरा हो, म त्यति बेला सहरका लागि नयाँ-नयाँ नै थिएँ। मैले उनलाई ‘तिम्रो बाउ के गर्नुहुन्छ?’ प्रश्न गरेको थिएँ।
एक्कासी उनी च्याठ्ठिएर ‘मेरो ड्याडीलाई बाउ भन्ने!’ भन्दै रिसाइन्। खैर! उनी बोल्न भने छाडिनन्।
हाम्रो गाउँघरतिर ‘बाउ आमा’ शब्द चलनचल्तीमा प्रख्यात थियो। सायद मलाई लाग्छ हामी अझ निकट बन्न ‘बाउ’ शब्दले राम्रो भूमिका खेल्यो। यसले हामी एकअर्कालाई नजिकैबाट चिन्न र बुझ्न मद्दत पुग्यो।
यसरी नै सम्बन्ध आजभन्दा भोलि झन्-झन् निकट हुने क्रम जारी थियो। एकले अर्कालाई अनलाइन नदेखिएको खण्डमा कल गरेर अनलाइन आउन आग्रह गर्थ्यौं। कुरा गर्दै गर्दा कयौं रातहरू अनिदो गुज्रिएको थियो। मलाई यतिबेला सबै सपना जस्तो लाग्छ। मतलब सपना भैदियोस् जस्तो लाग्छ तर यस्तो हुँदैन।
शुक्रबारको दिन थियो, करिब बिहानको ८/९ बजेको थियो होला। जाडो मौसम भएकाले म साथीहरूसँग जाडोलाई मेख मार्दै चियाको चुस्की लिँदै उनीहरूसँग गफिँदै थिएँ। हामी अल्लारे ग्याङ, एकलेअर्कालाइ उडाउन कोभन्दा को कम? रेस नै चलिरहेको थियो।
यत्तिकैमा टेबलमा राखेको मेरो मोबाइलको लाइट बल्यो। मेरो नजर मोबाइलतर्फ मोडियो। मोबाइलको स्क्रीनमा उनको नाम ‘प्यारी’ देखेँ। ह्वाट्सएपमा कल गरेकी रैछ।
केटाहरूको बानी थाहा थियो, म हत्तपत्त मोबाइल लिएर अन्यत्रतर्फ लागेँ र कल रिसिभ गर्दै ‘हजुर म्याम’ भनेँ।
उनी पेसाले प्राइभेट अफिसमा काम गर्थिन्। उनले मेरो हजुर म्यामको जवाफमा प्रश्न सोधिन्, ‘आज तिमी फ्री छौ?’
मैले दिनको काम सोच्दै भनेँ, ‘आज एउटा मिटिङ छ, किन र?’
मेरो प्रश्न थियो प्यारीले मलिन स्वरमा ‘हो र?’ भनिन्।
मैले जिस्किँदै ‘हो म्याम’ भनेँ।
यत्तिकैमा हाम्रो छोटो मिठो कुराकानी भयो। मैले मेरो चिया सेलायो भन्न नभ्याउँदै उनले भनिन्, ‘आज भेट्न आउँदैनौ?’
‘बुझ न सानु, भोलि भेटौँला नि हुन्न?’ भनि नसकिँदै फोनमा टुइक्क आवाज आयो।
म फोन खल्तीमा हाल्दै त्यो बाँकी चिया पिउनतर्फ लागेँ। चियाको कप उठाउन मात्र के लागेको थिएँ फेरो मोबाइलमा पुनः घन्टी बज्यो। हेर्दा उनकै कल थियो।
एक चुस्की चिया पिएर कल रिसिभ गरेँ। मैले हल्लो भन्न नपाउँदै ठूलो स्वरमा तेस्रो पटक सोधिन्, ‘तिमी साँच्चै आउँदैनौ?’
मैले मलिन हुँदै ‘सानु, बुझ न आज म भ्याउदिनँ के’।
उनलाई सम्झाउँदै थिएँ एक पुरुषको नाम लिएर उनले हाँस्दै भनिन्- ‘फलानोलाई भेट्न जाऊ?’
उनले जसको नाम लिइरहेकी थिइन्, त्यो पुरुषले केही समयदेखि उनलाई पिछा गर्दै गरेको उनले बेलाबेला मलाई सुनाउँदै आएकी थिइन्। ती पुरुषले उनलाई ‘भेटौँ, कतै घुम्न जाउँ’ जस्ता सन्देशहरू पठाउँछ भन्दै सुनाउथिन्।
मैले मजाकको रुपमा लिन्थेँ तर आज ती नै पुरुषको नाम लिँदै तिमी आउँदैनौ भने फलानोलाई भेट्न जान्छु भनिन्। मैले पनि मजाक गर्दै ठट्यौली पारामा ‘जाऊ-जाऊ, तिमीलाई उसलाई नभेटी खाना र निन्द्रा पच्दैन, लाग्दैन भने जो जसलाई जहाँ भेट्न मन लाग्छ जाऊ’ भनेँ।
यतिकैमा फोन काटेको आवाज आयो। हेर्दा फोन काटिसकिछ। मैले पनि जिस्किँदै भनेको थिएँ तर उनले गम्भीर रूपमा लिइछन्।
म अलिक न्याउरो अनुहार बनाउँदै चिया भएको टेबलतर्फ लागेँ। साथीहरू गलल हाँस्दै गफिँदै रहेछन्। चुपचाप चियाको कप उठाएँ र बाँकी चिया एकै घुट्कोमा पिएँ। साथीहरू मतर्फ नजर लगाउँदै के भयो तँलाई भन्दै प्रश्न गर्न थाले, म भने मौन थिएँ।
ह्वाट्सएपमा म्यासेजहरू बर्सिन थाल्यो-
अब बोल्नु पर्दैन अत्ति भन्यौ।
यति तल्लो स्तरसम्म सोच्छौ लागेको थिएन!
मैले तिमीलाई जिस्केर भनेको थिएँ इत्यादि थुप्रै म्यासेज बर्सिन थाल्यो।
मैले पनि जवाफमा ‘मैले पनि जिस्केरै भनेको, त ल भैगो नि त माफ गरिदेऊ’ भनेँ तर उनी अटेर गर्दै-गर्दै सम्बन्धमा पुनर्बिराम लगाई यत्तिकैमा हाम्रो बोलचाल बन्द भएको हप्तौं बित्यो। थाहा छैन अब बोलिन्छ या बोलिन्न।
तिमीलाई पो माया गर्ने मान्छेको कमि छैन त सानु। मलाई त सबैले एक पल माया गरेजस्तो गरी केही पलमै सबै कुरामा ब्लक गरेर जान्छन्, तिमीले जस्तै।