आफ्नै कार्यकक्षमा
आफ्नै कार्यमा व्यस्त भैरहँदा
एउटा साथीको म्यासेज आउँछ
साथी कस्तो चल्दै छ जिन्दगी?
अप्रत्याशित यो प्रश्न
सोच्न बाध्य बनाउँछ
सोच्छु एकछिन, टोलाउँछु र खोज्छु
आफ्नै जिन्दगीको आकार
अनुत्तरित भइरहन्छु धेरै बेरसम्म
न पाउँछु जिन्दगीको आकार
न पाउँछु कुनै उत्तर
खै के भनुँ साथीलाई
न थाहा छ आफैलाई
निरास भएर मुन्टो उठाउँदै गर्दा
आफ्नै अगाडि
टेबलमा रहेको गिलास
आधा खाएर आधा बचेको
अलिअलि बाफ बाँकी रहेको
गिलासको मनतातो पानी
सुरुप्प पार्नै लाग्दा
हो, त्यहीँ पाउँछु म
जिन्दगीको आकार
अनि भन्छु साथीलाई
साथी!
यही ग्लासजस्तो
रित्तो भएको छ जिन्दगी
भरिन्छन् सपनाहरू केही क्षणलाई
र फेरि रित्तिन्छ
कसैले नभरिदिएसम्म
रहन्छ खाली... रित्तो...
भरिन्छन् चाहना
रहर, खुसी, इच्छा
तर यही ग्लासमा हालेको
तातो पानीको बाफजस्तै
उडेर जान्छन क्षणभरमै
टाढा... कतै टाढा
फेरि नफर्किने गरी
अनि फेरि खोजेर
नयाँ चाहना
रहन्छ चाहना
ग्लासरुपि मन भर्ने
नयाँ पानी हालेर
तातो पानी हालेर
पानी पनि क्षणभरमै सेलाइदिन्छ
र चिसिन्छन् सपनाहरू
सेलाउँछन् चाहनाहरू
रहरको बाफ उड्न छोडेपछि
तैरिन्छन् विवशताका भुसुनाहरू
ग्लासको पानी पोखेजस्तै
पोखिन बाध्य हुन्छन् खुसीहरू
कतै काम नलाग्ने गरी
फेरि बाफ नबन्ने गरी
अनि विस्तारै पानी थप्नै नमिल्ने हुन्छ
ग्लास पनि
कतै चोइटिएर, कतै चर्किएर
र थन्किन्छ कतै कुनामा
कसैले नसोध्ने गरी
कसैले नखोज्ने गरी
हो, यस्तै चल्दैछ
साथी जिन्दगी!