एकदिन उहाँ बाटोमा भेटिनुभयो
म उहाँसँग नजर जुधाउन आँतुर थिएँ
तर उहाँले मलाई नदेखे जस्तो गर्नुभयो
मैले उहाँले देख्ने र सुन्ने गरी ‘अंकल नमस्कार!’ भनेँ
तर अफसोच! उहाँले फेरि पनि नदेखेझैँ नसुनेझैँ गर्नुभयो।
फेरि एकछिनपछि सोधें-
अंकल सन्चै हुनुहुन्छ?
तर अफसोच! म भएतिर मुन्टो फर्काउने कोसिस नै गर्नुभएन।
किन होला?
मेरो मन निकै दुख्यो र मनले अनेक प्रश्न सोध्यो
उहाँलाई भेट्दा म दुःखसुख साट्न चाहन्छु
उहाँलाई भेट्दा म निकै गौरव महसुस गर्छु
तर अपसोच! किन हो, उहाँले मलाई मतलब नै दिनुहुन्न
अब म मन बुझाउन बाध्य भएँ।
मलाई त्यो पनि थाहा छ-
उहाँ धेरै वर्षदेखि सहर बस्नु भएको छ
सहरमा घर-घडेरी खडा गर्नु भएको छ
गाउँघरको पाखामा बस्ने मलाई चिन्न गाह्रो पो भो कि?
पक्कै पनि मैले उहाँलाई चिनाउन पर्छ
म को हो? हो, म को हो?
झिसमिसेमै गाग्री बोकर ठूलो पँधेरी जाने
खरानी पानीले खड्कुलोमा लुगा पकाउने
कहाँ पाउनु साबुन, शरीरभरि पिनै पिना दलेर नुहाउने
कहाँ पाउनु जाबी उबलत त्यही लगौटी लगाउने
हो, म त्यही हो
हो, म त्यही हो!
दसैं र तिहारमा चामलको भात र चिउरा देख्ने
दसैं र तिहारमा नयाँ लुगा देख्ने
अँगेनाको छेउमा बसेर कोदोको ढिँडो र रोटीमा रमाउने
अर्काको बारीको काँक्रो चोर्न दौडिने
हो, म त्यही हो
हो म त्यही हो
गोठालो जाँदा चतुरे र बर्ने गोरु जुधाएको हेर्ने
साउने खोला र सुकैरा खोलामा भैंसी नुहाउने
लाम्पाटोमा र मौरी डाँडामा
डण्डीबियो र मोजाको बल खेल्ने
बारीको कान्लामा अमिलो लुकाउने
हो, म त्यही हो
हो, म त्यही हो-
सानातिना कुरामा सबैसँग झगडा गर्ने
साँझ परेपछि गाउँ-गाउँ गएर गफ चुट्ने
नेवारपानी स्कुलमा च्यातिएको कट्टु लगाएर पढ्न जाने
पानी पर्दा छाता कहाँ पाउनु
कर्कलाको पात ओढ्ने
हो, म त्यही हो
हो म त्यही हो-
मेला पर्ममा जहिले पनि गोल्फे र मकै मर्काउने
कोदो रोप्ने रोपारलाई जिस्काउने
कोदालो फर्काउने बलवान जमनाको ठिटो
हो, म त्यही हो
हो, म त्यही हो-
जिम्मल बाको घरमा पूजा लगाउँदा
लाजै नमानी थपीथपी प्रसाद र नैवेद्य खाने
बिहे भोजमा
टपटीभरि दाल र भात लिएर बारीको डिलमा बस्ने
अनि केटीको कपडा लगाएर मारूनी नाच्ने
हो, म त्यही हो
हो म त्यही हो-
लेकको डाँडो, बास्तला डोडो, पातल, रूसे खोला गोठालो जाने
बाटोमा भेटेका पाइप काट्ने र उपपट्याङ गर्ने
बाँसका खबटाको फिरफिरे उडाउने
नांगो खुट्टाले कोदोबारी दौडने
खै केके हो, के-के हाओ अंकल
हुन चाहिँ म त्यही हो
अंकल अब त मलाई चिन्नुभयो होला
अब बिन्ती मलाई नभुल्नु होला
तपाईंको प्रशांसा मेरो बाले कति गर्नुहुन्थ्यो
कति-कति गुनगान गाउनुहुन्थ्यो
तपाईं नै त हो, मेरो दाजुलाई सहरमा परिचित गराउने
तपाईंको डेरामा कति छाक खान पाएको छु
त्यो अहिले बिर्सनु भयो होला
तर मेरो मानसपटलमा ताजै छ
विडम्बना! अहिले चिन्नु भएन
त्यसैले त अंकल
अब कतै भेट्दा देखे, नदेखे जस्तो नगरी दिनूहोला
यो कान्छो बाको छोरालाई माया अनि गाली गर्नूहोला
म बिग्रिए तपाईंको पनि त इज्जत जान्छ नि
तँछाड मछाड गरेर समाजलाई कलंकित नबनाउनू होला
समाजमा फोहोरी राजनीतिको दुर्गन्ध नफैलाउनूहोला
बिन्ती छ माटो नभुल्नुहोला
बिन्ती छ माटो नभुल्नुहोला।