हरेक बिहान जब-जब म त्रिपुरेश्वर पुग्छु
बसको झ्यालको बाफ पुछ्दै बाहिर नियाल्छु
आज त घट्ला भनेको लाइन छन् बढेको पाउँछु
चिसोमा गुमुक्क परेको मानव रेखाको पुछारको मुखारबिन्दुले
पाँच सय मिटर परको गुठी संस्थानलाई छोइसकेको हुन्छ
अझैँ कति त्यहि घुइँचोमा थपिँदै हुन्छन्
त कतिले हुँइकिएर लाइन छाडिसकेका हुन्छन्
म दङ्ग पर्छु, म अचम्मित पर्छु
बारम्बार प्रश्न आफैले आफैलाई गर्छु
भिन्नता त पक्कै होला हाम्रो रूपैयाँ र उनीहरूको हरियो नोटमा
यताका साँघुरा र उताका ठूला-ठूला रोडमा
तर के रैछ त त्यस्तो तागत, संसारको कमजोरमा पर्ने मेरो देशको पासपोर्टमा?
सात समुन्द्रपारिको प्रदेश यात्रा प्रारम्भ गर्ने मूल ढोकाको हरियो साँचो बनाउन
रेमिट्यान्स पठाएर नाजुक अर्थतन्त्र जोगाउन र परिश्रमी नेपालीलाई विश्वभर चिनाउन
हजारौं किलोमिटरको यात्रा तय गरेर आएका छन् उनीहरू
कसैले बुझ्दैनन् यिनीहरूको आर्तनाद र पासपोर्ट बनाउँदा भोगेका सास्तीहरू
बुझ्नेहरू पावर छैनन्, लाचार र बेखबर छन् पावरमा हुनेहरू
यदि साँच्चै विश्व पासपोर्ट मापन सूचांकले भनेझैँ र अरुको भोगाइ सुनेझैँ
मेरो देशको पासपोर्ट संसारको कमजोर मध्येको एक भैदिएको भए
यति बाराको यादव दाइ, पाँचथरको शेर्पा भाइ, मुगुको ऐरि त्यही घुलमुलमा नभैदिएको भए
म पनि तथ्य स्वीकार गर्न विवश हुने थिएँ
तर त्यही पासपोर्ट पाउन अठार वर्षदेखि पचास वर्षको अधबैँसेले मरिहत्ते गरेको देखेर
कसरी भनौँ म मेरो देशको हरियो पासपोर्ट संसारकै कमजोर पासपोर्टमध्ये एक हो भनेर?
उसलाई साहुको ऋण चुक्ता गर्ने आश छ
बहिनीको विवाह र भाइको पढाइ खर्च धान्ने उसको आश छ
छोराको भविष्य सुनिश्चित र बुढेसकालको जिउनी जम्मा गर्ने आश छ
सपनाहरूले भरिपूर्ण आशै आशको सिर्जनाकार त्यो हरियो पासपोर्ट
नेपाली समाजको प्रत्येक न्यून र मध्यम वर्गीय परिवारको विशेष र खास छ
उसले हजारौं सपना सजाइसकेको छ, एउटा पासपोर्ट बनेकै भरमा
धेरै हर्ष र खुसी साटिएको हुन्छ एउटा स्टाम्प लागेको दिन उसको सहर र गाउँघरमा
यति धेरै खुसी र आशा जगाउन सक्ने मेरो देशको पासपोर्टलाई
कसरी कमजोर स्विकारौँ म कसैले पत्रिकामा लेखिदिएकै भरमा?