‘ऊ मिलनसार छे। के तिमी उसलाई महसुस गर्न चाहन्छौ?,’ उसले रोकिएर मलाई हेर्दै भनी।
डर त मनमा थियो नै। तर उसले त्यति भन्दा पनि कुकुरको रौँ मुसारेन भने उसको चित्त दुख्ने हो कि भन्ने लाग्यो। बाटोमा झरेँ र टाउकोको रौ मसार्दै भनेँ, ‘अहो! कति राम्री।’
लेक ओन्टारियोको पूर्वीय क्षितिज झुल्किनै लागेको घामको रोशनीले गर्दा रंगिन देखिएको थियो। म लुखुरलुखुर बेलामीको बाटो हुँदै लेक ओन्टारियोतिर ओरालो झर्दै थिएँ। जंगलको बाटो र झिसमिसे अँध्यारोले गर्दा पाँच/सात मिटर टाढा पनि राम्रोसँग ठम्याउने गरी देख्न सकिँदैनथ्यो।
मेरा आँखा भुइँमा भन्दा धेरै शान्त तलाउको आँचलतर्फ नै हुत्तिएका हुन्थे। तलाउको नजिक पुग्दै गर्दा एउटी केटी कुकुर डोर्याउँदै तल-तल झर्दै गरेको देखेँ। मलाई कुकुरहरूको नजिक जान डर लाग्थ्यो। त्यसैले म बाटोको छेउ लागेर उभिएँ।
त्यो केटी मलाई हेरेर मुसुक्क हाँसी। कालो चिल्लो अनुहारमा मोती झैँ सेता दाँत टिलिक्क टल्के। सलक्क परेको जीउडाल, घुम्रिएको कपाल, हेर्दा झन्डै तिसको हाराहारी जस्तो देखिने ती अपरिचित केटीमा के जादु थियो कुन्नी एकै नजरमा मोहनी लागिहाल्यो।
‘उनी बेगल ब्रिड, १२ महिनाकी,’ मैले सोध्नुभन्दा पहिले नै उसले भनी।
म भने केटीको नाम सोधुँ कि कुकुरको अलमलमा परेको थिएँ। उसैले आफ्नो नाम जोसना र कुकुरको नाम लिली हो भनेर भनी। मेरो नाम सोधिन। मैले पनि भनिनँ। त्यसपछि हामी सँगसँगै लेकको किनारसम्म झर्यौं।
‘सूर्योदयले मलाई सधैं यो ठाउँमा ल्याउँछ,’ उसले पूर्वी क्षितिजमा झुल्किँदै गरेको घामलाई हेर्दै भनी।
त्यसो भन्दै गर्दा उसको अनुहारमा हल्का उदासीपन देखियो। मैले पनि आफूलाई सूर्योदय असाध्यै मनपर्ने र त्यसैले गर्दा दिनहुँ यहाँ आउने कुरा उसलाई भनेँ।
‘कति राम्रो! अबदेखि हामी एकअर्कालाई देख्नेछौँ,’ उसले फेरि उदासीपनलाई मन्द मुस्कानले छोप्दै भनी।
मैले पनि टाउको हल्लाएर सहमती जनाइदिएँ। ऊ केही भन्न खोज्दै थिई लिलीले तानेर उसलाई एक ठाउँ उभिन दिइन। त्यसपछि उसले कुकुरको घाँटीबाट डोरी हटाउँदै भनी, ‘धेरै टाढा नजाऊ।’
कुकुर पुच्छर हल्लाउँदै बाटोमाथि र बाटो तल गर्न थाल्यो।
‘माफ गर्नुहोला, मैले तपाईंको नाम सोध्नै बिर्सिएछु,’ उसले हाँस्दै भनी।
मैले उसलाई मेरो नाम भनेँ। उसले जिब्रो बटार्दै नामको सही उच्चारण गर्ने कोसिस गरी।
‘देलव्प, डेलेप, दिल्लिप…।’
हेर्दाहेर्दै कतिबेला बादलले पूरा निस्कन नपाउँदै घामलाई घुप्लुक्क ढाकेछ, तलाउको पानीको रङ्ग पनि धमिलो देखिँदै गयो।
उसले क्षितिजमा दौड्दै गरेका घोडाजस्ता देखिने आकृतिहरूलाई देखाउँदै भनी, ‘अमेजिङ!’
यसो भन्दै गर्दा उसले तलमाथिको ओठ जोडेर तनक्क तन्काई र नाकबाट लामो श्वास भित्र तानी। भुइँबाट एउटा सानो ढुङ्गा टिपी र पानीमा फाली।
मैले उसको शरीरलाई पुन: एकपल्ट तलदेखि माथिसम्म नियालेर हेंरेँ। उसलाई हेर्दा लाग्थ्यो कि ऊ एक संभ्रान्त परिवारमा हुर्केकी केटी हो। उसको पुष्ट शरीरलाई दोष लगाउने कुनै ठाउँ थिएन।
कालो छाला न घामले डढेर कत्ला निस्केका छन् न हिलो र धुलोले मक्किएर छिर्कामिर्का परेको छ। भदौरे काँक्रो झैँ सलक्क परेको उसको जीउडालले एकैछिनमा तिरिमिरी झ्याइँ पारिहाल्यो।
‘मलाई लाग्छ तपाईं कसैलाई सम्झिरहनु भएको छ,’ मैले पनि उसको आँखामा हेर्दै भनेँ।
उसले लामो सास तानी। लिली पानीको नजिक जाँदै फर्कँदै थिई। उसले लिलीलाई बोलाई। लिली पनि दगुर्दै आई र उसको खुट्टा वरिपरि लुटुपुटु गर्न थाली। जोसनाले घोप्टो परेर लिलीलाई सुम्सुम्याई। च्वाप्प नाकैमा म्वाइँ खाई र छोडिदिई। लिली पुन: दगुर्दै पानीको सतहतर्फ गई।
हेर्दाहेर्दै आकाशमा घोडाका आकृतिहरू विस्तारै फाट्दै गएर उड्दै गरेका राजहंसमा परिणत भएँ। घामका किरणहरूले बादलको कालो घुम्टोलाई चर्यातचुरुत पारेर हामीहरूलाई चुम्न आइपुगे।
किन-किन आज जोसनालाई भेटेर मन निकै रोमाञ्चित भैरहेको थियो। उसलाई जान्न मन उत्सुक थियो। पहिलो भेटमै वर्षौं परिचित जस्तो महसुस भइरहेको थियो।
दुवैजना एउटा ढुङ्गामाथि बसेका थियौँ। उसको शरीरबाट मन्द-मन्द डेजीको सुगन्ध सिरसिर चलिरहेको हवासँगै मेरो नाकमा ठोक्किन्थ्यो र शरीरलाई तरंगित पार्थ्यो। डोपामाइनलाई क्रियाशील बनाउँथ्यो र आँखा स्वतस्फूर्त रुपमा उतर्फ हुत्तिन्थे।
के सोधुँ? के कुरा गरौँ? कुन कुराले उसलाई प्रभावित पार्न सकिन्छ? दिमागमा न्युरोनहरू फायरिङ भैरहेको थियो।
‘आर यू सिङ्गल?’ उसले छड्के आँखाले हेर्दै सोधी।
साँचो बोलुँ कि झुट? केही सेकेन्डमै निर्णय गर्नुपर्ने। ‘एस्’ भन्दै मैले मोबाइल हेर्न थालेँ। झुट त फुत्किसक्यो। त्यसपछि उसले मेरो पो इन्टरभ्यू लिन थाली। मैले आधा झुट र आँधा साँचो मिसाएर उसले सोधेका प्रश्नहरूको जवाफ दिएँ।
ऊ मेरो नजिक नजिक आएर मेरा कुराहरू सुन्नलाई मुखै जोड्ली झैँ गर्थी। सायद मेरो आशय बुझिन होली।
त्यहीबेला लिली दगुर्दै आई र उसको गाला सुघ्न थाली। उसले पनि लिलीलाई गर्लाम्मै अँगालो हाली र फेरि पनि नाकैको टुप्पामा च्वाप्प म्वाइँ खाई।
कुकुरको नाकमा जोडेको ओठ मतिर आइलाग्यो भने? हैट! कल्पनामै मन सिरिङ्ग भयो।
पूर्वीय क्षितिजबाट उकालो चढ्दै गरेको सूर्यलाई पुन: मैला भुल्लाहरूले ढाकेझैँ बादलले ढाकिसकेको थियो। एक जोडी सेतो पानी हाँस पौडिँदै लेकको छेउसम्म आइपुगे र घरीघरी मुन्टो पानीभित्र डुबाउँदै चारा खोज्न थाले।
लिली पनि उसको काख छोडेर पुन: पानीतिरै लागी। किनारमा उभिएको खैरो हाँसको पखेटामा रातो ट्याग लगाएको थियो। मनमनै सोचेँ, तिनीहरू पनि हामीजस्तै चारा टिप्न सयौँ माइल उडेर त्यहाँ आएका होलान्। पखेटामा झुन्डिएको ट्याग उनीहरूको पासपोर्ट होला।
‘म तपाईंलाई केही कुरा भन्न सक्छु?’ उसले मतर्फ फर्केर भनी।
मैले पनि भन न त भनेर टाउको हल्लाएँ।
‘किन हो कुन्नी यो ठाउँमा आउँदा मैले उसलाई कतै भेट्छु कि झैँ लाग्छ। ऊ सधैँ लिलीसँगै पानीमा पौडी खेल्थ्यो। लिली पनि ऊसँगै पौडी खेल्दै उ त्यो पारिको ढुङ्गासम्म पुग्थी,’ उसले एकोहोरो पानीमा हेर्दै भनी।
उसको यो भनाइले म निकै अचम्मित भएँ। उसले कसको बारेमा सुनाउँदै छ? किन सुनाउँदैछ? यी सबै कुराहरू मेरो लागि रहस्यको गर्भमै थिए। तर पनि मैले टाउको हल्लाउँदै गरेँ।
‘उसलाई सूर्योदयको दृश्य असाध्यै मन पर्थ्यो। हामीहरू डिसेम्बरको चिसोमा पनि सूर्योदय हेर्न त्यो माथिको डाँडाको टुप्पोमा आउथ्यौँ। बादलहरूको आकृतिलाई आफूलाई मनपर्ने वस्तुसँग तुलना गर्थ्यौं। उसले नै मलाई प्रकृतिसँगको प्रेममा जोडेको,’ उसले भन्दै गई।
मलाई भने उसका कुराहरूप्रति त्यति उत्साह जागेन। उसले आफ्नै कुनै क्रसको बारेमा सुनाउँदै छ झैँ लाग्यो। सिरेटो चलेकोले अलि चिसो महसुस भैरहेको पनि थियो। अर्को दिन भेटौँला भन्दै म त्यहाँबाट हिँडेँ।
फर्किँदै गर्दा बाटोभरि त्यही केटीको अनुहार दिमागमा खेलिरह्यो। कतै उसको प्रेमी लेकमा डुबेर मरेको त थिएन? उसको एक्कासी परिवर्तन भएको उदास अनुहार र भयभित आँखाले यस्तै कुराहरूको संकेत गरे झैँ लागेको थियो।
त्यो रात ऊ सपनामै पो आएर चुम्मा दिई। कस्तो अचम्म। लिलीको नाक, मेरो ओठ, छि! बिहान सम्झिँदा सिकसिक पनि लाग्यो।
अर्को दिन ठिक त्यही बेला म बेलामीको ओरालो हुँदै तलाउतिर ओरालो लागेँ। बाटो सुनसान थियो। केही चराचुरुङ्गीहरू बाहेक बाटो तलमाथि केही देखिदैनथ्यो। पूर्वी क्षितिज बेहुलीझैँ सुन र चाँदीका गरगहनाहरूले धपक्कै बोलेको थियो। मेरा आँखा भने उदाउँदै गरेको सूर्यनारायणतर्फ भन्दा हिजो भेट भएकीको खोजीमा तल्लीन थिए।
लेकको छेउमा पुगेर तलमाथि हेरेँ तर कतै पनि देखिनँ उसलाई। त्यसैबेला एकजोडी बुढाबुढी माथिबाट झर्दै थिए। सूर्योदयको दृश्य हेर्न सधैँ आउँछु भन्थी। तर सूर्योदय भएर आकाशमा विराजमान भैसक्दा पनि ऊ त्यहाँ आइन।
‘कतै हिजो उसको कुरा पूरै नसुनी हिँडेको भएर रिसाई पो कि? हैन! किन पो रिसाइ होली पहिलो पटक भेट भएको अपरिचितसँग। तर कति छिटै वर्षौं पहिलेदेखि चिन्दै आएको जस्तो महसुस भएको थियो। किशोरावस्थाको पहिलो प्रेमले दिमाग भ्रमित पारेझैँ मेरो मनलाई पनि एकोहोरो बनाइदिएको थियो।
अघिल्लो दिन बसेकै ढुङ्गामाथि बसेर उसकै प्रतीक्षा गरेँ। घरीघरी मेरा आँखाहरू तलाउतिर झर्ने बाटोतर्फ हुत्तिएका हुन्थे। ‘आखिर किन? केका लागि? ऊबाट मैले के पाउनु छ? केही थाहा थिएन।
केहीबेरपछि म उठेर पूर्वतर्फ लागेँ। झन्डै पाँच सय मिटर पर तलाउको किनारमा एक युवती ढुङ्गामाथि बसेको देखें। खैरो टिसर्ट र निलो हाफप्यान्टमा तलाउतर्फ अनुहार फर्काएर बसेकी केटी जोसना पो रहिछ।
उसले नै पहिले देखेर ‘हाई! हेल्लो’ भन्ली भनेर केहीबेर बाटो तलमाथि गरिरहेँ। तर ऊ भने एकोहोरो सूर्योदयको क्षितिजतर्फ हेरिरहेकी थिई।
लिली त्यतै कतै छ कि भनेर उसको वरिपरि हेरे। कतै पनि देखिनँ। धेरैबेरसम्म पनि उसले नदेखेकोले नजिकै गएँ। त्यसपछि भने उसले मतिर फर्केर हेरी। तर कुनै प्रतिक्रिया देखाइन। चिनेको हो कि हैन जस्तो गरिरही।
मैले नै ‘हाई जोसना’ भनेर हात उठाएँ। उसले एकोहोरो मेरो अनुहारमा हेरी र धेरैबेरपछि मुसुक्क हाँसी।
मैले ‘लिली खै त?’ भनेर सोधें। उसले लिली बिरामी भएकोले घरमै बसेको भनेर भनी। म पनि ऊ नजिकै ढुङ्गामा गएर बसेँ। चराहरूको चिरबिर आवाज र पानीको छप्लाङ्ग छप्लाङ्गबाहेक अन्य कुनै आवाज थिएन त्यहाँ।
त्यो दिन हामीहरू तलाउको किनारै किनार करिब एक घण्टा तलमाथि गर्यौं। मैले हिजोको कुरा सोधिनँ। उसले पनि त्यो कुरा निकालिन। हामीहरू कम बोल्थ्यौँ। धेरै बाटोको तलाउमा कुदिरहेका डुंगा र मोटरबोटहरूतर्फ निकै रोमाञ्चित भएर हेर्थ्यौं।
हामी यसरी नै करिब महिना दिनसम्म सँगसँगै मर्निङ वाक् गयौं।
एकदिन मैले उसलाई सोधेँ, ‘हाम्रो भेट भएको पहिलो दिन तिमीले कसैको बारेमा कुरा गर्दै थियौ। मलाई हतार भएकोले कुरा नसकिँदै तिमीसँगबाट छुट्टिएँ। कसको बारेमा कुरा गर्दै थियौ, भन्न मिल्छ भने सुनाऊ न?’
उसले मलाई हेरी। एक्कासी उसका आँखा आँसुले डम्म भरिए र एकाएक भुइँतिर हाम्फाले।
‘आई एम सरी, कतै मैले तिम्रो मन त दुखाइनँ?’
‘छैनौ। आई एम अ स्टुपिड गर्ल। मसँग दुःखद् स्मरणभन्दा बाँकी केही बाँकी छैन,’ उसले विस्तारै आँखाका कोसबाट झर्दै गरेका आँसु पुछ्दै भनी।
उसले एकपल्ट मलाई तलदेखि माथिसम्म हेरी। अनुहारको छालाको रङ्ग कालो भएता पनि गाडा रातो देखिएको थियो। उसका ओठ भर्खर टुसाउँदै गरेको गाभा झैँ कोमल थियो भने सिर्सिर हावाले पालुवा हल्लाए झैँ काँपिरहेको थियो।
‘नाइजेरियाको लागोस सहरमा हाम्रो घर थियो। बुवा एक व्यापारी हुनुहुन्थ्यो। उहाँहरूको सन्तान हामी दुई दिदीभाइ थियौँ। हामी प्रत्येक बिहान सूर्योदय हेर्नको लागि नजिकैको समुन्द्री तटमा जान्थ्यौँ। मैले भर्खर कलेज सुरु गरेकी थिएँ। भाइ सानै थियो। एक दिन सूर्योदय हेरेर फर्कंदै गर्दा कसैले हामी चढेको कारमा गोली चलायो। बाबाको टाउकोमा गोली लाग्यो। बाबा, ममी दुवै रहनुभएन। मेरो पनि छातीमा गोली लग्यो।’
उसले टिशर्ट तल झर्दै भनी ‘हेर, यो दाग, गोलीको निशानी।’
‘त्यो दिन भाइ घरमै भएकोले ऊ बाँच्यो। मेरो पनि नजिकैको अस्पतालमा उपचार भयो र बाँच्न सफल भएँ। त्यसपछि भाइ र म एक्ला भयौँ। बाबाको बिजनेस थियो। सम्पत्ति पनि राम्रै जोड्नुभएको थियो। बुवाममीको हत्या कसले र किन गर्यो अझैसम्म अत्तोपत्तो छैन। त्यो घटनाले मेरो दिमागमा निकै ठूलो असर पुर्याएको रहेछ। त्यो घटना पछाडिका प्रत्येक रातहरूमा चिच्याएर उठ्थेँ रे। पढ्न लेख्न त परै जाओस्, घरबाट बाहिर निस्कन समेत मन मान्थेन।
त्यसपछि मैले देश छोड्ने निधो गरेँ। क्यानाडामा एकजना अङ्कल हुनुहुन्थ्यो। उहाँले नै स्पोन्सर गरेर हामीलाई यहाँ बोलाउनु भयो।’
यति भन्दै गर्दा उसले तल र माथिको ओठ टम्म जोडी र नाकबाट लामो श्वास भित्र तानी। एकछिन हाम्रो वरिपरि शून्यता छायो। मैले पनि उसको मौन क्षणलाई साथ दिएँ।
‘तिमीलाई हतार छ कि? कतै मेरो कुरा सुनेर तिमीलाई झर्को त लागेको छैन?,’ उसले सोधी।
‘छैन, आई एम् सरी फर योर लस्,’ मैले भनेँ।
त्यसपछि उसले भुइँबाट एउटा सानो ढुङ्गा टिपी र खेलाउदै भन्न थाली, ‘यहाँ आएपछि भाइले पढ्न सुरु गर्यो। मैले एउटा नाइट क्लबमा काम सुरु गरेँ। भाइले पढाइ सकेपछि लावसमा भएको पैसा ल्याएर एउटा रेस्टुरेन्ट सुरु गर्यौं। सबैकुराहरू राम्रो भैरहेको थियो। हामी प्रत्येक बिहान सूर्योदय हेर्न यही ठाउँ आउथ्यौँ। किन-किन झुल्किँदै गरेको घामसँग उहाँहरूको बिम्ब देख्थेँ मैले। त्यतै हेरिरहन मन लाग्थ्यो। अनि बादलले सूर्यलाई घुप्लुक्क छोप्दा डर लाग्छ।’
त्यसपछि उसले मेरो आँखामा आफ्नो आँखा टक्क अडाएर हेरी। किन-किन मन चिसो भयो।
‘भाइ खै त? ऊ आउँदैन तिमीसँग सूर्योदय हेर्न?,’ मैले सोधेँ।
‘के तिमीलाई भगवानमा विश्वास लाग्छ?,’ उसले प्रतिप्रश्न गरी।
‘कहिले लाग्छ, कहिले लाग्दैन,’ मैले भनेँ।
‘भगवान त मेरो लागि मरिसक्यो। बुवा आमाको मृत्यु हुँदा भगवानले मेरो लागि साथदिने एउटा भाइ बचाइदियो भन्थेँ, तर होइन रैछ। किस्ता-किस्तामा पीडा दिँदो रहेछ। गत वर्ष कोरोनाको महामारीमा हामीले रेस्टुराँ बन्द गर्नुपर्यो। तर पनि ठिकै चलिरहेको थियो। हामी घरमै थियौँ। खान बस्नलाई समस्या थिएन। एकदिन भाइलाई खोकी लाग्यो। विस्तारै ज्वरो पनि। कोरोनाको डरले गर्दा मैले उसलाई तुरुन्त हस्पिटल भर्ना गरें। भर्ना गरेको तिन दिनमै उसलाई पनि मबाट छुट्यायो।’
ऊ आँखा चिम्म गरी। दुवै आँखाका कोसहरूबाट दुई ढिक्का आँसु सुरेली खेल्दै भुइँतिर खसे। माथिल्ला दाँतले तल्लो ओठलाई किटिक्क टोके र आँखा चिमचिम पारेर पोखरीको डिल भत्किनबाट रोके।
‘त्यसपछि म एकदम एक्ली भएँ। समुन्द्रको छेउमा ठिंग उभिएको लाइट हाउस जस्तै। लिली उसैले किनेको कुकुर हो। ऊ लिलिसंगे यहाँ पौडी खेल्ने गर्थ्यो। म ढुंगा माथि बसेर हेर्थें। मलाई पौडी खेल्न आउँदैन। अहिले लिली उसैलाई पानीमा खोज्छे। उसलाई नदेखेपछि मसँग आएर सोध्छे- ‘जुओन खोइ?’
उसले पुन: ओठहरू बन्द गरी र लामो श्वास तानी।
उसको विगत सुनेपछि बाहिर देखिने जोसना र भित्री जोसनामा निकै भिन्नता पाएँ। उसको विगतले मेरो शरीरभरि काँडा उम्रियो। उसले विगत नखोल्दासम्म लाग्थ्यो- ऊ कति भाग्यमानी छे। तर अहिले सोचेँ, कति धेरै चोटहरू सहेर पनि मुस्कुराउन सक्दो रहेछ मान्छे।
त्यो दिन हामी सँगसँगै उकालो चढ्यौँ। कफी शपमा बसेर चिया पियौँ र छुट्टियौँ।
त्यसपछिका दिनहरूमा हाम्रो सम्बन्ध झन् कसिलो बन्दै गयो। हामीहरू किंग्सटन र बेलामिको जक्सनमा भेटेर सँगसँगै लेक ओन्टारियोतिर झर्थ्यौं। कहिले साइकलमा रुजभ्यालीसम्म पुग्थ्यौँ।
कहिले ब्लफर पार्कमा लमतन्न परेर सुतेका ढुङ्गाहरूमाथि बसी बादलको आकृतिहरू हेर्थ्यौं। एकअर्काको काखमा टाउको अड्याएर लेक अन्टारियोमा बत्तिँदै गरेका जेट स्की हेर्थ्यौं र त्यसैगरी आफूहरू पनि कुनै दिन पानीमाथि कुद्ने कल्पना गर्थ्यौं।
यसरी प्रत्येक छुट्टीको दिन हामीहरू यसै गरेर एकान्तमा घुम्थ्यौं। सहरको कोलाहलभन्दा प्रकृतिको शान्त वातावरण मन पर्थ्यो। उसलाई साहित्य मन पर्ने र मलाई पनि। सँगै हिँड्दा उसले नाइजेरियन लोककथाहरू सुनाउथी। मैले आफूलाई मन परेका नेपाली कथाहरू सुनाउथेँ।
‘विश्वास गर, हाम्रो जीवनमा सबैकुरा अप्रत्याशित छ,’ उसले बेलाबेला भन्ने गर्थी।
एकदिन ऊ मलाई थाहै नदिई एक्कासी लापत्ता भई। किन भई, कहाँ गई? मैले सुइँको समेत पाइनँ। पहिलो रात अबेरसम्म उसलाई कहिले फोन त कहिले टेक्स्ट गर्दै बसेँ। फेसबुक, मेसेन्जर कतै पनि उसलाई जोडेको थिइनँ। उसले पनि कहिले सोधिन।
हाम्रो सबैकुरा फोनमा हुन्थ्यो। भेट भएको बेला हामी प्रकृतिमै रम्थ्यौँ। कहिले फोटो समेत खिचेनौँ। कतै उसको फेसबुक एकाउन्ट भेटिन्छ कि भनेर ‘जोसना’ टाइप गरेँ। दर्जनौँ जोसनाहरू हुरुरु आए। उसको फोटो चिन्ने कोसिस गरेँ। कतै मिल्दोजुल्दोसम्म भेटिएन।
अर्को दिन बिहानै सधैँ भेट हुने स्थानमा पुगेँ। टेक्स्ट गरेँ। न ऊ आई, न रिप्लाई आयो। लुखुर-लुखुर ओरालो लागेँ। लेकको पूर्वी क्षितिजमा सुनौलो घेरालाई कालो बादलले घुप्लुक्क छोपेको थियो।
सूर्योदय नहुँदै बादलले अतिक्रमण गरिसकेको थियो। लेकको पानीको रंग धुमिलिएको थियो। किनारको ढुङ्गामाथि बसेर धेरैबेर पर्खिएँ। ऊ आइन। तलमाथि गरेर फर्किएँ।
जोसना यसरी हराएको महिनौँ भैसकेको थियो। कतै उसले सूर्यदय हेर्ने ठाउँ परिवर्तन गरी कि भनेर धेरै दिनसम्म लेकको किनार-किनार खोजेँ तर उसलाई भेट्न सकिनँ।
मेरो संगतले डिप्रेसनबाट छुट्कारा पाएँ भन्थी। मैले किताबी दर्शन छाँटेर बाँच्नको लागि प्रेरणा दिएको थिएँ। त्यसले त सबै कुरा खोलेकी थिई मसँग।
बिजनेस बन्द भएपछि आफन्तहरूले पनि वास्ता गर्न छोडेका थिएँ भन्थी। ‘घर बेच्न राखेकी छु। एक्लै बस्दा भाइको यादले सताउँछ। बेचेर अपार्टमेन्टमा सर्छु’ भन्थी।
हाम्रो भेट बाटोमा हुन्थ्यो। न उसले मलाई आफ्नो घरको ठेगाना भनेकी थिई। न मैले नै सोधेको थिएँ। नसोधेकोमा आज पछुतो लागेको थियो।
म उसको घरमा जान चाहन्थेँ। उसलाई बेस्सरी अँगालोमा कस्न चाहन्थेँ। उसले सपनीमा चुम्मा गरे झैँ मैले विपनामै चुम्न चाहन्थेँ। तर समय यसरी निष्ठुरी भैदिन्छ भन्ने कहाँ थाहा थियो र? उसैले त भनेकी थिई, ‘हाम्रो जीवनमा सबैकुरा अप्रत्याशित छ!’
जोसना बेपत्ता भएको करिब दुई महिनापछि क्रिसमसको दिन हिँउको तुफान आइरहेको थियो। पिकरिङ जाने काम पर्यो। किंग्सटन र लरेन्सको इन्टरसेक्सनको रातो बत्तीमा गाडी रोकियो। त्यहीँबेला एक्कासी कसैले देब्रे पट्टिको ढोका ढक्ढकायो।
सिसा विस्तारै तल झारेँ। त्यहाँ बाक्लो ज्याकेटले घुप्लुक्क मुख छोपेर कोही उभिएको थियो। एक्कासी हाम्रो आँखा जुधे।
आँखा पनि ओडारभित्र लुकाएर राखेको रिठ्ठाजस्ता। गाला सुकेर खोपिल्टो परेको। हरे भगवान! मलाई रिंगटा लाग्न थाल्यो। अगाडिको ट्राफिक अघि बढिसकेको थियो। पछाडिको हर्नले गर्दा होस् खुल्यो।
अगाडि बढेर गाडी म्याकडोनाल्डको पार्किङभित्र हालेँ। बाटोमा निस्केर त्यो महिला उभिएको ठाउँतर्फ हेरेँ। ऊ हातमा ग्रोसरी ब्याग बोकेर तल जाँदै गरेको देखेँ। हिँड्दै गर्दा ऊ खोच्याइरहेकी थिई।
घरीघरी पछाडि फर्केर हेर्थी। म दौडँदै ऊ जाँदै गरेको बाटोतर्फ गएँ। फर्केर हेर्दा उसले मलाई देखी। झन् छिटो-छिटो गरेर दौडी ऊ। ग्यालवे रोडसम्म धुमिल आकार मात्र देखियो। म दौडँदै त्यहाँ पुगेँ।
एक्कासी दमकल र एम्बुलेन्सका साइरनहरू एकतमासले बज्न थाले। ग्यलावे चोकको पेट्रोल पम्प नजिकै पुग्दा चोकमा थुप्रै मान्छेहरू जम्मा भएको देखेँ। फायर ट्रकहरू तुफानी गतिमा त्यतै जाँदै थिए।
खुट्टा थरर कामे। त्यहाँ गाडीको ठक्करबाट कोही भुइँमा ढलेको थियो। अलि नजिक गएर हेंरेँ। एक जोडी स्थिर आँखाले पूर्वी क्षितिजतर्फ एकोहोरो हेरिरहेका थिए। सूर्योदयको पर्खाइमा। विडम्बना सूर्य त कहिले नझुल्कने गरी अगाडि नै अस्ताइसकेको थियो।
‘जोसना!’ म एक्कासी चिच्याएँ। उठ्दा पूरा शरीर थर्थर कामेको थियो। झ्यालको पर्दा खोलेँ। बाहिर सिमलको भुवा झैँ हिउँ झरिरहेको थियो। धेरैबेरसम्म मुटुको ढकढक र भित्तामा झुन्डिएको घडीको छकछक सँगसँगै कानमा गुन्जिरह्यो।
‘हाम्रो जीवनमा सबैकुरा अप्रत्याशित छ!’