निख्खर कालो जिम्वाल साबको घोडा आफैमा सुन्दरताको मानक मात्र थिएन, उनको सम्पन्नताको प्रतीक थियो।
उनको शासकीय प्रतीक थियो। व्यवहारको प्रतीक थियो। निर्णयको प्रतीक थियो। विभेदको प्रतीक थियो। समभेदको प्रतीक थियो। कामको प्रतीक थियो। नामको प्रतीक थियो। किनकी घोडाबाहेक उनको कल्पना नै गरिन्नथ्यो।
पुरानो हुने तर कहिल्यै बुढो नहुने बर पाएको कालो घोडाका कालो जगरमा हातका औँला छिराएर चलाइरहेका जिम्वाल। त्यसको अग्लो ज्यानको माथि आफ्ना मुलायम तर बुढ्यौली हातले थपथपाइरहेका जिम्वाल। घोडाका सुडौल तिघ्रामा थपथपाइरहेका जिम्वाल। घोडाका कञ्चन आँखामा आफ्नो छाया खोजिरहेका जिम्वाल।
घोडाबाहेक जिम्वालको कल्पना नै हुन्नथ्यो। उनी घोडाको सवारी गर्थे, स्वभाविक छ देखाउन राखेको होइन, चढ्नै पर्यो। घरभित्र भ्वाङ परिसकेर पनि बाहिर सम्पन्न छु भन्न पालिएको घोडा पनि होइन। कसैले दुई/चार दिन फोइदिन्छ कि भनेर आशा गरेको घोडा होइन।
वास्तवमा जिम्वालले निरन्तर भोग गर्न पालेको हो घोडा। कसैले विरासतमा पाउँछन् घोडा। कसैले उपहारमा। कोही सम्पन्न हुँदै गएपछि घोडा किन्छन्। कसैको कुरै अर्कै हुन्छ, सबैतिरको सुख भोगिसकेपछि घोडा चढ्ने सौख जाग्छ र घोडा चढ्छन्।
घोडा भोगवृत्ति पनि हो। घोडा मनोवृत्ति पनि हो। घोडा जिम्मेवारी पनि हो। घोडा हावादारी पनि हो किनकी जे हो त्यो नदेखिन पनि सक्छ, घोडसवारीमा।
जिम्वालको घोडा यी सबै कुराको प्रतीक थियो। उसले सानै उमेरदेखि देख्यो, एउटा वलिष्ठ जिम्वाल, जिम्मा लिएको मान्छे, भोगोन्मूख मान्छे, शासन गरिरहेको मान्छे निरन्तर घोडामा छ।
उसले देख्दा अधबैँसे भए पनि धेरै भयो रे जिम्वालले भोग गरेको। कालो घोडाको शरीरमा मुलायम गद्दा राखेर सयर गरेको। आफ्ना तेज आँखाले वरिपरिका दृश्य हेर्दै ठाँटले अट्टहाँस गरेको।
उसले जवान हुँदा पनि त्यही देख्यो। उही जिम्वाल, उस्तै तरिका। उस्तै भोग, उस्तै रवाफ। उस्तै जीवन, उस्तै परिवेश।
एक दिन उसले असह्य भएर भन्यो, ‘छि! देख्न सक्दिनँ म यो सबै। सहर जान्छु।’
‘बर्मा गए नि कर्मसँगै। कुन नयाँ भाग्य लिएर जान्छस्?,’ बाउले सोधे।
‘म आफ्नै भाग्य बनाउँछु।’
‘यी बनाउँछस् भाग्य? अर्काको रिस नगर्, गरेर खा,’ बाउले ठूला आँखा बनाउँदै चिच्याए।
‘बस्नु छैन मलाई वर्षौंदेखि थिच्चिएको यो गाउँमा,’ ऊ टिमुर्कियो।
‘के गर्छस् त, जिम्वालको रिस गरेर हुन्छ? भाँच्न सक्छस् त्यसको ढण्डेसो?’ दायाँबायाँ हेर्दै डराएर बाउले भने।
गुथ्थ पर्दै उसले भन्यो, ‘त्यो ताकत त कहाँ छ र ममा?’
‘त्यसो भए पलायन हुन्छस्?’
‘होइन, अवसर खोज्छु।’
बाउले ओठ लेप्र्याए।
कसैले भनेको सुनेन उसले।
साथीले भन्यो, ‘यतै गरौँला बस्।’
मितले भन्यो, ‘चलेकै छ त यहीँ पनि।’
दाजुले भन्यो, ‘मलाई हेर् न।’
काकाले भने, ‘जिम्वालकै भरोसा छ मलाई त।’
दिदी पिलपिलाई। बहिनीले नजा भनी। गुरूले भने, ‘स्विकार्नुपर्छ वास्तविकता।’
हिँड्ने बेलामा कसैले भन्यो, ‘यतै गरिखाने खालको थिइस्।’
केही दिनमा ऊ हिँड्यो। सबैले भने, ‘यतै गरिखाने खालको थियो।’
***
केही दिनमा सहरमा भेटिएको साथीले भन्यो, ‘त्यसो भए घोडाको टापसँग तर्सिएर सहर छिरेको?’
‘होइन।’
‘त्यसो भए घोडाको टापसँग?’
‘होइन भन्या।’
‘घोडावाला जिम्वालसँग होला।’
‘जिस्काएको?’
‘जिम्वालको वैभवसँग त पक्का हो?’
‘तिमीलाई पनि वैभव लाग्छ?,’ उसले प्रतिप्रश्न गर्यो।
‘दुई/चार दिन सहर भोग् अनि कुरा गरौंला’ भन्दै साथी हिँड्यो।
केही पर पुगेर साथी करायो, ‘सहरमा बाँच्नु पनि पर्छ। एउटा सजिलो काम छ। सहरका गल्ली-गल्ली भौतारिएर पत्रिका बेच्ने। तेरो सहर भोग्ने रहर पनि पूरा हुन्छ। मलाई भेट्नू मन लागे।’
उसले बाँच्नको लागि त्यो साथीलाई भेट्यो।
त्यसपछि ऊ सहरका गल्लीहरूमा निक्लियो। चिया अड्डाहरूमा अड्कियो। कलेज र स्कुलमा पुग्यो। बसपार्कमा फन्को लगायो। खेल मैदानमा गयो। सहरमा भैरहेको आमसभामा पुग्यो। विरोधसभामा छिर्यो। अनसन बसेको ठाउँमा पुग्यो। भट्टीमा पनि छिर्यो।
नयाँ-नयाँ मान्छे भेट्दै गयो। विद्यार्थी, नेता, कर्मचारी, खेलाडी, पत्रकार, वकिल, न्यायाधीश, व्यापारी। उसले गुण्डा पनि भेट्यो। यिनका बारेमा लेखिएका रङ्गविरङ्गका समाचारका टाउको भट्याइ-भट्याइ पत्रिका बेच्यो। फूर्सदमा ती समाचार पनि पढ्यो।
जति पढ्दै गयो, जति मान्छे भेट्दै गयो, उसले आफूलाई झन्-झन् कमजोर अनुभव गर्यो। दलदलमा भासिएको अनुभव गर्यो।
एकदिन चिसो चौरमा बसेर बदाम छोडाउँदै गर्दा उसले एकजना मान्छे भेट्यो।
आँखा जुध्नासाथ त्यसले सोध्यो, ‘के गर्नुहुन्छ?’
‘सहरमा भाग्य खोज्दैछु। गाउँको जिम्वाल देखेर आएको, यहाँ पनि सहरका जिम्वालकै फेला परियो। अलमलमा छु। रनभुल्ल छु,’ उसले आत्मीय मित्र भेटे झैँ एकै सासमा सुनायो।
‘त्यसो भए विदेश जानूस्। यी म त विदेश जाने तयारी गर्दैछु,’ उसले प्लाष्टिक फोल्डरमा भएको कागज देखाउँदै भन्यो।
‘त्यहाँ यहाँ जस्तो हुन्न?’
‘अहँ पटक्कै हुन्न।’
‘साँच्ची हो?’
‘म चिन्दै नचिनेको मान्छेसँग यतिविधि ठट्टा गरौंला त?’
ऊ सहमत भयो। होला, राम्रै होला। मान्छेहरू राम्रा होलान्। जिम्वालहरू राम्रा होलान्। ठाउँ राम्रो होला। विचार राम्रो होला। व्यवहार राम्रो होला। मलाई राम्रो होला। तर म के खोज्न यो सहरमा आएँ? ऊ घोत्लिन थाल्यो।
उसका दिमागमा जिम्वाल, जिम्वालको कालो घोडा, गाउँ र बा, काका अनि दाइहरू फनफनी घुम्न थाले। रूख बिरुवा, जङ्गल, खेत, खोला, पशुपन्छी घुम्न थाले। जङ्गलमा बजाएको बाँसुरीको धुन, खोलाको छङ्छङ्, हुरीको साइसुइँ कानमा ठोक्किन थाल्यो। गाउँको माटोको गन्ध, फूलको वासना नाकैमा ठोक्किए जस्तो लाग्यो।
उसले आमाको हात सम्झियो। बहिनीले लगाइदिएको तिहारको टीको सम्झियो। दसैंमा बाको गोडामा खुट्टा राखेर ढोगेको सम्झियो। एकछिन त ऊ विचलित भयो। जुरुक्क उठेर गाउँ जाउँ कि झैँ लाग्यो। तर गाउँको उही जिम्वाल अनि जिम्वालको कालो घोडा सम्झेर जाने आँट आएन।
उसले क्यालेन्डरका पानाहरू गन्यो। सिङ्गै दुई वर्ष भएछ सहर छिरेको। यो दुई वर्षमा मैले के कमाएँ? ऊ सोच्न थाल्यो।
फेरि गाउँमा फर्कौं? पहिला जिम्वाल गाउँमा मात्रै छ भन्ने लाग्थ्यो, होइन रहेछ। गाउँको जिम्वाल गाउँमा मात्रै सीमित छ भन्ने लाग्थ्यो, होइन रहेछ। गाउँको जिम्वाललाई ढाडमा हानेर खुत्रुक्कै पार्न कुनै दिन सकिन्छ जस्तो लाग्थ्यो, होइन रहेछ।
गाउँको जिम्वाल ढल्दा विरासत ढल्छ भन्ने लाग्थ्यो, होइन रहेछ। जिम्वालले चढ्ने घोडामा विरासतले वैधानिकता ग्रहण गरेको छ जस्तो लाग्थ्यो, होइन रहेछ।
धेरै कुरा होइन रहेछ भन्ने बुझेपछि उसले आफूभित्र शक्ति खोज्यो। अहँ! भेटेन। अन्तिममा परिस्थितिसँग सम्झौता गरेर उसले गाउँ फर्कने निधो गर्यो।
जुन ठाउँमा छोडेर गएको थियो, त्यही छ समय। मानौं घडी बदलिएकै छैन। बदलिएको छ त मान्छेका अनुहारहरू। केही चाउरी परेको, केही खुजमुजिएको, केही लखतरान परेको, केही आशाले थिचिएको, अझ बढी मिचिएको। त्यही थोत्रा अनुहारहरूको बीचमा उसले आफूलाई पाउँछ।
एक दिन चौतारोमा बसिरहेको बेला अनायास उसको मुखबाट फुत्कन्छ, ‘मलाई जिम्वालको ढाडमा हान्न मन छ।’
एकछिन त चौतारोका मानिसहरू उसलाई वाल्ल परेर हेर्छन्। डराउँछन्। दायाँबायाँ मुन्टो फर्काउँछन्। उत्सुक पनि हुन्छन्।
एक जना युवावयको मान्छे नजिकै आउँछ र सुस्तरी भन्छ, ‘सहर जानुभयो, मान्छे चिन्नुभयो, बुझ्नुभयो। किन उसको ढाडमा हानेर बस्ने? नयाँ जिम्वाल हुने।’
‘कसले बनाउँछ मलाई जिम्वाल।’
‘हामी बनाउँछौँ। हामी भन्छौँ। बुढा भए जिम्वाल, फेरौँ भन्छौँ।’
उसलाई भर लागेन तर पनि आशा पलायो। आशा बढ्यो। झाङ्गियो। आशाको बोटमा फूल फूल्यो। फल फल्ने छाँटकाट देखायो।
अचम्मको समाचार आयो। यसपालि जिम्वालको चुनाव गर्ने। भोट हाल्ने। चुन्ने।
नभन्दै निर्विकल्प जिम्वाल पन्छाएर ऊ जिम्वाल बन्यो। अनायासै भयो। अपत्यारिलोसँग भयो। सोच्दै नसोचेको कुरा भयो। एक किसिमले पृथ्वी पल्टियो।
चराहरू उडे। मान्छेहरू दगुरे। पशुहरू कुदे। झिँगाहरू उडे। सबै एकछिन हुरीले अलमलिए जस्ता भए।
एकजना मानिस जिम्वालको उही कालो घोडा लिएर उसको सामुन्ने आइपुग्यो।
‘यो त्यही घोडा होइन?’ उसले सोध्यो।
‘हो।’
‘त्यही कालो जगर भएको घोडा?’
‘अँ, हो।’
‘कहिल्यै बुढो नहुने तर पुरानो हुने घोडा।’
‘हो, हजुर।’
उसले फूर्तिसँग घोडालाई थपथपायो। मनमनै भन्यो, अब यो घोडा मेरो हो। म घोडाको भोग गर्छु। म शासन गर्छु। म हैकम चलाउँछु। जे गर्छु, पुरानो जिम्वाललाई मान्छेहरूले भुल्ने गरी गर्छु।
उसले एकै झमटमा घोडा चढ्यो। घोडा हिनहिनायो। छाती तनक्क तन्काएर उसले वरिपरि हेर्यो। घोडा टक्क अडियो। अडिएको घोडाले फ्यात्तफ्यात्त गर्दै लिदी छोड्यो।
एकैछिनमा केही झिँगा भुनभुनाउँदै लिदीको वरिपरि झुम्मिए। उसले कर्के नजरले हेर्यो। उही पुराना झिँगाहरू! एक पटक कुटिल तरिकाले हेर्यो। उसका शुभचिन्तकहरूले ताली बजाए।
ऊ तनक्क तन्किएर पुराना जिम्वालले घोडा चढेको नक्कल गर्दै हुइँकियो। झिँगाहरू घोडाको पछि-पछि उड्ने प्रयास गर्दैथिए। शुभचिन्तकहरू अपेक्षितरूपमा ताली बजाउँदै थिए।
यतिखेर अनायास मान्छेहरूमा एउटा प्रश्न उब्जियो, झिँगाले धपाउँदै उसलाई सहरको पुरानो जिम्वालकहाँ पुर्याउँछन् वा ऊ आफै सहर पुग्छ, त्यहाँका जिम्वाल भेट्न।