म त त्यहीँ छु
भूगोल तन्किएको मात्र हो
जन्मभूमिबाट देखिने आकाश
यहाँ मसँगै कर्मभूमि देखाइरहेछ
बोकेर सुगन्ध हावाको
पसिनाले कर्मको धर्ती शृंगारिरहेछु।
गणनाको आँकडामा नअटाएको मात्र हो
मसँगै छन् मेरा भाषाका तोतेहरू
भित्री हृदयमा खोपेर राखेको छु
हरियो रंगको ट्याटुले
पहराको त्यो चित्र
तराईको विशाल छातीभरि
साँचिएका छन् हिमालझै उँचो बनेर
स्मृतिमा पर्वत श्रृंखलाहरू।
केही सपना आफ्ना कति आफन्तका
मिठा सपनाका पछि लागेर उदाएको परदेश
जीवनको स्वर्ण संघार बनेर
पोखियो बिहानी झुल्के दैलो उघारेर
छेक्न सकेन संसारकै अग्लो हिमालले
अनि रोक्न सकेन
तमोरको धार, सुनकोशीको गहिराइसँगै कर्णालीको घुमाइले।
बाध्यता जीवनका तोड्न नसकेर
परदेश भासिएको भनेर ढाँट्न सक्दिनँ
हृदयमा खोपिएको छ ट्याटु सगरमाथाको
समयको परिबन्ध यत्ति न हो
मेरा सपनाहरू जन्मभूमिमा अटाउन सकेनन्।
कुनै समय यस्तो प्रकट हुनसक्छ
जुन दिन पितृभूमि फर्कन्छु भनेर
झुटो आशा किन दिउँ?
नियतिको बन्धनभित्र
परिवेशको भूमरी घुमिरहन्छ
चारा बोकेर गुँड बतासिएको ढुकुर
आँधीको भूमरीमा गुँड पुग्न सकेन।
जीवन यात्रामा आँधीले जता लैजान्छ
पुग्नु त्यतै छ
वायुवेगलाई रोक्ने यन्त्र छैन
मनवेगलाई त्यहीं छाडेर आएको छु
नपर्ख त भन्दिनँ
तर फर्कन्छु भनि आश देखाउँदिनँ।
यो जुनी त यस्तै भयो
अर्को जुनी नदेऊ त भन्दिनँ
जीवन दाता जति जुनी दिन्छौ
पुकार यत्ति गर्छु
आउँदा जुनीहरूलाई परदेशी चाहिँ नबनाऊ।
सँधै-सधैँ कर्मभूमि बनाएर
परदेशबाट एउटा नेपाली
हरेक निशा र साँझमा
चिहाउँछ सगरमाथा
आँखाभरि बोकेर सागर
खोपेर ट्याटु मनभरि
नाम आफ्नै मातृभूमिको।