म एक रेडियो प्राविधिक, सधैँ झैँ आज पनि आफ्नो कुर्सीमा बसेर ड्युटी सम्हालिरहेछु। रेडियोको जागिर रेडियोका भुक्तभोगीबाहेक अरूलाई मनपर्छ।
मेरा आफन्त र साथीहरू मेरो जागिरको खुब प्रशंसा गर्छन्। रेडियोभित्रको वास्तविकता थाहा नहुनेलाई मनपर्नु स्वाभाविक हो। भनिन्छ नि- नमरी स्वर्ग देखिन्न।
आइतबार १२ बजेदेखि १ बजेसम्म रमा दिदीको कार्यक्रम ‘बुढेसकालको सहारा' मा म खुब इन्जोए गर्छु। बुढाबुढीप्रति समर्पित यो कार्यक्रममा साँच्चै मनपर्छ।
दिदीले एक्लो बलले यस कार्यक्रम चलाउनु भएको छ। मजस्ता साना प्राविधिकको हात त छँदै छ। दिदी सुनाउनु हुन्थ्यो, सुरुमा यस्ता बुढाबुढीको कार्यक्रम कसले सुन्छ भनेर अनुमति नै नदिएको रे। उहाँले समय किनेर चलाउन थाल्नु भएको रहेछ। पछि चर्चित हुँदै गएपछि पैसा तिर्न छोड्नु भएको रे।
यो कार्यक्रम अहिले हाम्रो एफएमको सबैभन्दा चर्चित र पूरानो कार्यक्रम हो। कहिलेकाहीँ विषयवस्तु खोज्न म पनि सहयोग गर्छु। म नेपाली भाषा साहित्यको विद्यार्थी भएको नाताले मलाई विश्वास गर्नुहुन्छ दिदी।
मैले दिएको विषय प्रशारण भएको दिन म दंग पर्छु। फोन धेरै आउँदा पुइकिन्छु पनि अनि भन्ने गर्छु- ‘देख्नु भयो दिदी!’
दिदी सधैं मलाई धन्यवाद दिएर निस्कनु हुन्छ। कहिलेकाहीँ नौलो खानेकुरा ल्याइदिएर दंग पनि पार्नुहुन्छ।
आज पनि यही कार्यक्रम चलिरहेको बेला मोबाइल बज्यो। उठाएँ, मेरै स्कुल पढ्दाको साथी विजयको रहेछ। भन्दै थियो- ‘समीक्षा, तिम्रो यस कार्यक्रममा मेरा एउटा कथा थियो प्रशारण गर्न मिल्छ? खास आमाबुबाहरूलाई नै सुनाउनु पर्ने विषयवस्तु हो।’
मैले भनेँ- ‘यसमा त लामो कथा वाचन गर्न मिल्दैन त विजय, अर्को कार्यक्रम छ कथा वाचन गर्ने। त्यसमा राखिदिउँला नि, लिएर आऊ न।’
उसले अहिल्यै आउने बतायो। मैले ‘हुन्छ आऊ’ भनेँ।
ऊ एकै क्षणमा केही फाइल बोकेर आयो। मेरो हातमा फाइल थमाउँदै बोल्यो- ‘तिमीलाई कस्तो लाग्छ एकपटक पढ। ठिक लागेमा प्रशारण गरिदेऊ है!’
तुरुन्तै हिँडिहाल्यो, ऊ हतास थियो। मानौँ कुनै अपराधी हो। म छक्क परेँ, आज के लेख्यो त विजयले? यसभन्दा अघि त साहित्य लेख्ने गरेको सुनाउँदैन थियो। मैले पाना खोलेँ, कथा यसरी सुरु भयो-
‘त्यस दिन म एकदम खुसी थिएँ। मैले संसार देख्दाका दिनदेखि मेरो अध्ययन सुरु भएको हो। आज यसले पूर्णता पाएको छ।
म बालक छँदा मेरी आमाले आफ्ना मायालु हातले मेरा कलिला हातलाई समातेर कति प्रेमपूर्वक कखरा सिकाउनु हुन्थ्यो। लेख्न मन नलाग्दा फकाउँदै मिठाई दिने आश्वासनका साथ सिकाउनु हुन्थ्यो। म आज्ञाकारी भएर लेख्थेँ।
यसरी नै आजसम्म पनि आज्ञाकारी भएर आमाको सपना पूरा गरेँ। त्यसकै परिणामस्वरूप स्नातकोत्तर तहको दोस्रो वर्षको रिजल्ट प्रकाशित भयो। म प्रथम श्रेणीमा पास भएछु। आफैले कलेजको सूचना पार्टीमा गएर पटक-पटक नाम पढेँ। त्यति नै पटक उढेर गई आफ्नी आमाको काखमा बस्न मन लाग्यो।
कलेजमा साथीहरू र गुरुहरूबाट पाएको बधाईलाई पोको पारेर सम्हाल्दै त्यहीभित्र केही मिठाई पनि किनेर थपेँ। दौडँदै आएर त्यो सबै आमाको पोल्टोमा थपक्क राखिदिएँ। यो सबै सफलताको श्रेय तपाईंलाई, तपाईंकै सत्मार्गमा लाग्ने हौसलाको परिणाम हो।
मैले देखेको थिएँ त्यतिबेला आमाको आँखाबाट झरेका हर्षका आँसु। धेरैबेर हामीले खुसी साट्यौँ। त्यसपछि आमा भान्सातिर लाग्नु भयो, म मेरो कोठातिर।
मेरो परिवारमा आमा र मबाहेक बुबा, दाजु र एक दिदी हुनुहुन्छ। बुबाको सरकारी जागिर थियो। शिक्षक हुनुहुन्थ्यो। उहाँ अहिले रिटायर्ड भइसक्नु भयो। बुबाको जागिरका कारण हामीलाई कुनै आर्थिक संकट थिएन। बुबाको तलबले मज्जाले घर धानेकै थियो।
दाजुले पनि उच्च शिक्षा हासिल गरी आफै कमाउन थाल्नु भएको छ। विवाह गरेकै साल आमा र भाउजूको कुरा मिल्न नसक्दा उहाँ अलग्गै बस्नु हुन्छ। दिदीको विवाह भएको धेरै भयो। पश्चिम धनगढी तिरको केटा, उहाँले आफै मन पराएर विवाह गर्नु भएको। दिदीभिनाजुको सम्बन्ध राम्रो छ। मेरो पनि आफ्नो जागिर छ। व्यवस्थित छ हाम्रो परिवार।
खै किन-किन त्यस दिन खाना मलाई त्यति स्वादिलो लागेन। बलैले केही गाँस खाएँ। आज मलाई एक्लो महसुस भइरहेको छ। एउटा नजिकैको साथी खोजिरहेको छ मेरो मनले। जो मेरो कोठाभित्र हुन्छ, मेरो मनभित्र हुन्छ, मलाई मैले जत्तिकै माया गर्ने साथी मानौँ मेरो अर्को पाटो।
हरपल दुःख सुखमा साथ दिने साथी तर खोई मेरो यस्तो साथी? उच्च शिक्षा हासिल गरेर आफै सक्षम भइसक्दा पनि मैले त कहिल्यै यस बारेमा सोचिनछु। बरु बेलाबेलामा आमा नै अब विजयको पनि जोडी बाँधिदिनु पर्छ भन्नुहुन्थ्यो।
यति लामो समय बितिसक्दा पनि किन मैले मेरो जोडीको बारेमा सोचिन छु? स्कुल तथा कलेज पढ्दा नै साथीहरूले त जीवन साथी रोजिसकेछन्। म भने कता अलमलिएछु। उफ! दिक्क लाग्यो आफू र आफ्नो सोझोपनप्रति।
मैले पनि पहिले नै एउटा जीवन साथी रोज्न सकेको भए आज मेरो खुसीमा उनी हुने थिइन्। आफैले जीवन साथी खोज्न नसकेपछि आमाले खोजिदिएकै केटीसँगै विवाह गर्ने प्रण गरेँ।
यो मेरो कमजोरी थियो। त्यस रात विवाहसँग जोडिएर आएका धेरै कुराले मेरो मस्तिष्कमा चक्कर लगाइरहे।
केही वर्ष अगाडि काकाका छोरा रविन दाइले यही काठमाडौंकै केटी विवाह गरे, आफ्नै रोजाइमा जातीय आधारमा हामीभन्दा सानो जातकी थिइन् जेठी भाउजू तर धनीकी छोरी रहिछन्। धनको पोकोले सबैको मुख थुन्न सफल भइन्। त्यसैले सबैको हाई-हाई भइन्।
मेरो घरभित्रको समस्या त झन् जटिल छ। हुन त मेरो दाजुको विवाह पनि धुमधामले भएको हो। दाइजो पनि राम्रै दिएका थिए भाउजूका माइतीले तर तुलनात्मक रूपमा काकाकी बुहारीको भन्दा कम भयो भनेर आमाले कचकच गरेको कारण आमा र भाउजूबीच मनमुटाव बढ्दै गएर उहाँहरू अलग्गै बस्न थाल्नु भएको हो।
आजभन्दा केही महिनाअगाडि काकाको कान्छो छोराले पनि विवाह गर्यो फेसबुकबाट सम्बन्ध जोडेर। भारत सिक्किमकी केटी। उनी पनि रूपमा झैं धनमा पनि सम्पन्न रहिछन्। तिनीहरूलाई त झन् काकाले हाक्काहाक्की नगदको प्रस्ताव नै राख्नुभयो। आखिर दाइजो माग्ने बानी नै पार्नुभएको थियो। उनले पनि भने अनुसारको पैसाको बिटो ल्याएर घरलाई आफ्नो बनाइन्।
अब विवाह गर्ने पालो मेरो। म त दाइजो प्रथाको विरोधी। म चाहन्नँ दाइजोको माग गरेर केटीको परिवारलाई दुःख दिन। यसरी पैसाको माग गर्दा म बिकेझैं लाग्छ। मान्छेको मोलतोल भएझैं। अर्कोतर्फ त्यो केटी जसले मसँग विवाह गर्छे, त्यो त सक्षम पो हुनुपर्छ। सम्पत्ति त हामी कमाउन सकिहाल्छौँ नि मन मिल्यो भने।
यसरी सम्पत्तिको बीचबाट जोडिएको नाता सम्पत्ति सकिँदा समाप्त हुनसक्छ। यस्तो सम्बन्ध पक्कै पनि धराशायी हुनसक्छ। कसरी उनको अगाडि ठाडो शिर लगाउन सक्छु? कसरी उनको घरमा गएर दाइजोको प्रस्ताव राख्न सक्छु? मलाई उनको परिवारले अपमान गरेर निकालिदिए भने?
सार्वजनिक स्थलमा दाइजो माग्न आएको केटा यही हो भनेर औँल्याए भने मेरो सारा करियर चकनाचुर भइहाल्छ नि। मेरो मन सिरिङ्ग भयो। त्यस्तै कुरा मनमा खेलाउँदै निदाएछु।
बिहान आमाले चिया ल्याएर दिँदै भन्नुभयो- ‘बाबु, एउटी केटीको कुरा आएको छ। असल छ रे, पढेलेखेकी जागिरे पनि। हाम्रै गाउँटोलकी सीता दिदीको छिमेकी रे। एकपटक हेर्न जाने हो कि?’
आमाले भनेको सबै ठिक लाग्यो। पढेलेखेकी अनि जागिरे! मैले खोजेजस्तै। एउटा पारिवारिक जमघटमा हाम्रो भेट भयो कुराकानी पनि भयो। राम्रो बोलिचाली, शिलस्वभाव, सुन्दर अनुहार, हँसिली, स्पष्ट वक्ता, एउटी असल केटीमा हुने सबै गुण थिए उनमा। हामी दुवै विवाहका लागि राजी भयौँ।
केही दिनमा घरमै आएर कुरा छिन्ने निष्कर्षले हामी छुट्यौँ। मेरो त्यो रात फुरुङ्ग परेर बित्यो। उनी र म (हाम्रो) जीवनको सुन्दर सपना, सुन्दर परिवार, शिक्षित संसार, सानो चिटिक्क परेको घर, बगैंचाभरि फूल, घरभरि फूल झैँ सुन्दर सन्तान, कति रमाइलो संसार!
बिहान भइसकेको रहेछ, हातमा चिया लिएर आमा कोठामा पस्नुभयो र भन्नथाल्नु भयो-
‘बाबु, हेर काकाका बुहारीहरु सबै धनीका छोरी छन्। हाम्रो भने न तेरी भाउजूले सम्पत्ति ल्याई। अब आउने बुहारी त धनवान खोज्ने भनेको घरको तला पनि थप्न सकिएको छैन। देउरानीका अगाडि कति शिर झुकाएर हिँड्नु म चाहिँ। ऊ सधैं पार्टीमा बुहारी र बुहारीले ल्याएको सम्पत्तिको तुजुक देखाउँछे। हिजो हेरेकी केटी त्यति धनीकी छोरी होइन रहिछ। विवाहसम्म त राम्रै गर्छन् रे तर नगदै दिन चाहिँ सक्दैनौं भने रे! मैले त बुबालाई हुँदैन भनिदिनु पो भनेँ त। अब अर्कै खोज्नु पर्छ। पाइहालिन्छ नि केटी त, तँ यत्तिको पढेलेखेको छस्।’
आमाका कुरा सकिन नपाँउदै मेरो खाट घुम्न थालिसकेको थियो। आँखा चिम्लिएँ, संसार अँध्यारो भयो। मेरा रातभरिका सपना पनि पानी-पानी भए। चिट्चिट् पसिना आयो। उनी मेरो उपहास गर्दै मेरै वरिपरि घुमे जस्तो लाग्यो। मलाई तान्दै लगेर महिला समूहमा कालो मोसो दलेर जुत्ताको माला लगाइदिई पैसाको मुठोले हम्कँदै वरिपरि घुमेझैँ लाग्यो।
आँखा खोलेँ, आमा गइसक्नु भएछ। एक गिलास पानी खाएँ। कोठाबाट निस्कन डर लाग्यो। कतै तिनी जुत्ताको माला बोकेर बाहिर बसिरहेकी त छैनन्?’
***
विजयको कथाले मलाई अलमल्ल पार्यो। रमा दिदीको कार्यक्रममा गीत बजिसकेर विज्ञापन सकिएर पनि कार्यक्रमको फिलर बज्न थालेछ। स्टुडियो भित्रबाट दिदी हात हल्लाउँदै हुनुहुन्थ्यो। हतार-हतार माइक दिएँ।
कार्यक्रममा फोन आयो, सिधैँ अनएयर पठाइदिएँ। त्यो पुरुष आवाज थियो, विजयले नै फोन गरेछ।
‘दिदी, किन बुबाआमा मूर्ख बनेर हामीलाई अप्ठ्यारोमा पार्नुहुन्छ? यस कार्यक्रममार्फत समस्त बुबाआमालाई सम्झाइदिनुहोस्- तपाईंले सक्षम पारेका छोराछोरीले पाल्छन्। किन खोज्नुहुन्छ दाइजोको रूपमा अरुको धन?’
अनएयरमा नै धेरै दुःख पोख्यो उसले। दिदीले समस्त बुबाआमालाई दाइजोको पछि नलाग्न आग्रह गर्नुभयो। मैले फेरि अफएयरमा विजयसँग कुरा गरेँ।
भन्दै थियो- ‘समी, म आजकाल अफिस जान छोडेको छु। घरमै बस्छु, रेडियो सुन्छु। मलाई डर लाग्छ कतै उनीले नराम्रो व्यवहार गर्लिन् कि भन्ने। उनीसँगको कुरा गराइमा मैले आकाशपाताल जोडेर कुरा गरेँ। सुन्दर सपना देखाएको थिएँ।
दाइजो प्रथाको विरोधी हुँ भन्न पनि भ्याएको थिएँ। भोलिपल्ट बिहानै बुबाले दाइजोको कारण देखाई विवाह हुन नसक्ने सूचना उनको घरमा पुर्याउनु भएछ। घरबाट बाहिर निस्कँदा कतै उनैले पछ्याउँदै छिन् कि भनेर डराउँछु। चारैतिर उनी मात्र छाएकी छिन् काली बनेर। म के गरौँ समि? मलाई बचाऊ।’
उसले फोन काट्यो।
म के नै गर्न सक्छु र? रमा दिदी र म भएर अर्को हप्ताको विषय छान्योँ- नयाँ पुस्ताका छोराछोरीले बुबाआमालाई बुझ्दैनन् भन्ने आरोप लगाइन्छ नि, के आमाबुबाले चाहिँ छोराछोरीलाई बुझेका छन् त?’