उसले मलाई माया गरोस् या नगरोस्
म त उसलाई मेरो सास रहुन्जेल
एकोहोरो प्रेम गर्छु
उसलाई यो जुनीमा नपाए पनि
हजार जुनीसम्म पर्खन्छु
म त उसको सधैँ भलो चाहन्छु
म त उसको मिजासिलो बोली र
विमोहन सुशील स्वभावसँग प्रेम गर्छु
पहिलो चोटि मलाई आकृष्ट पारेको उसका ती
अनुपम मन्द मुस्कानसँग
पूर्णिमाको जून झैँ चहकिलो मुहार र
गुलाबी ओठहरूसँग
अनि झरना झैँ फिँजीएको रेसमी केशसँग
म त प्रेम गर्छु
बिहानीमा झुल्के घामको
लाली किरणले स्पर्श गर्दा
उसको प्रेमको आभास गर्छु
रजनीमा जूनको जुनेली किरणले स्पर्श गर्दा
उसकै काखमा निदाएको कल्पना गर्छु
अनि एकछिनपछि झसङ्ग हुन्छु
वरिपरि हेर्छु, अँध्यारो अनुहार लगाउँछु
त्यसपछि सम्झन्छु म
त्यो साँझपख आँधीबेहेरी र तुफान सरी आएको
उसले त अर्कैलाई माया गर्छ भन्ने
हृदयविदारक खबर
अनि आफूलाई सम्हाल्दै छु हेरेर
त्यो उसको निर्जीव तस्बिर
उसको अगाडि झुटो हाँसो लिएर
आजकाल हिँडने गरेको छु म
उसलाई भेट्दा शिर झुकाएर
विरहको उदास लाग्दो रातहरू काटिरहेको छु
उसलाई सम्झेर रातभरि म त ओछ्यानमा छटपटिएर।
त्यो साँझपख आँधीवेहेरी र तुफान सरी आएको
उसले त अर्कैलाई माया गर्छ भन्ने खबरले
झारिदिएको छ मेरो एकोहोरो प्रेमको कोपिला
सायद अब म त उसलाई यो जुनीमा पाउँदिन होला
मेरा चाहनाहरू अधुरै हुन्छन होला
ऊसँगै हिँडिरहने छाया बन्न सक्दिनँ होला
भनि
उसको मुहार भुल्न जान्छु म सधैँ भट्टीको पसल
साथीभाइले भन्छन् मलाई आजकाल
कसको एकोहोरो यादमा हो साथी
भएकोछस् त पागल
खै कसरि भनुँ म उनीहरूलाई
मेरो दिलभित्र चलिरहेको कोलाहल
तर कसैको मलाई मतलब लाग्दैन
उसले मलाई माया गरोस् या नगरोस्
तर मेरो साँचो माया कहिल्यै मर्दैन
मैले त उसलाई मेरो मनको भावनाहरू
पोख्न पाएको छैन
त्यसैले त म उसकै यादमा तड्पिरहन्छु
सधैँ उसलाई सम्झेर टोलाइरहन्छु
उसकै गीत म सधैँ गुनगुनाइरहन्छु
रातभरि मुटु मेरो जलिरहेको छ, छियाछिया भएको छ
तर उसलाई पाउने रहर अझैँ मरेको छैन
त्यसैले त म अझैसम्म बाँचिरहेको छु
बरू भोक निन्द्रा हराइसकेको छ
तर रुँदा-रुँदा ओभानिएका थकित
मेरा दुई आँखाहरूले उसलाई नै
खै किन हो खोजिरहन्छ?
सधैँ उसकै यादमा म त
रातभरि विरक्तिएको मुटु लिएर
यी कोमल हातहरू काटेर
उसकै चित्र कोर्छु
उसका कोमल नयनहरूले अर्कैलाई
सजाएको खबर सुनेको छु
त्यसैले त उसलाई प्रेमपत्र लेख्दा लेख्दै
म त स्तब्ध भएको छु
तर उसले मलाई माया गरोस् या नगरोस्
म त उसलाई आजीवन हृदयदेखि नै
प्रेम गर्छु
टाढैबाट हेरेर भए पनि खुसी हुने प्रयास गरिरहेको छु
ऊ सधैँ फूलिरहेको मात्र देख्न चाहन्छु
केवल ऊ सधैँ खुसी भएको हेर्न चाहन्छु
अनि म त एकलै यो जिन्दगीमा बाँच्ने प्रयास गरिरहेको छु।
हुन त म उसको लागि
एउटा जिउँदो बेवारिसे लास हुँ
अपरचित मान्छे हुँ
सडकमा उडिरहेको धुलोधुवाँ हुँ
पुस-माघमा मुटु नै कठ्याङ्ग्रिने जाडो र
आकाशै छोपिदिने कुहिरो हुँ
असार साउनमा झरीले
दलदल भिँजिएको बाटो हुँ
वागमती किनारमा फालिएको फोहोर हुँ
बगरमा लडिरहेको झुर ढुंगा हुँ
तर
उसले मलाई माया गरोस् या नगरोस्
म त उसलाई आकाशका ताराहरूको
सङ्ख्या गनेर नसकुन्जेल
घाम र जून यस धर्तीमा रहुन्जेल
मरुभूमिमा हराभरा नहुन्जेल
मानिसहरूको दुःखपीडा यस धर्तीमा रहुन्जेल
नदीनाला र समुद्रहरू यस धर्तीमा नसुकुन्जेल
मेरो शरीरमा एक थोपा रगत र पानी रहुन्जेल
म त उसलाई असीमित प्रेम गर्छु
म त उसलाई टुक्रिएकै मुटुले
बाँचुन्जेल अटुट प्रेम गर्छु
टाढैबाट हेरेर भए पनि खुसी हुने
प्रयास गरिरहेको छु
म त उसलाई
मिर्मिरे बिहानीमै सबैले पूज्ने देवीदेवता मान्छु
त्यसैले त उसलाई भाकेर मैले यो कविता लेखेको छु।