बाहिर बेमौसमी पानी दर्केर परिरहेको थियो। झ्यालबाट पानीको बाछिटा अलि अलि भित्र पनि छिरिरहेको थियो।
पानीसँग मिसिएर आएको हावाको झोंकाले चिसो चिसो महसुस भइरहेको थियो।
खाटमा पल्टेर दिप्तीले नागरिक दैनिक पत्रिका शनिवारीय अंक भित्रको कथा पढिरहेकी थिइन्। यस्तो मौसममा बिछ्यौनामा पल्टेर कथा पढ्नुको बेग्लै मज्जा लिन चाहन्थी दिप्तीले तर झ्यालबाट आएको पानीको बाछिटालाई रोक्न उठेर झ्याल बन्द गरिन् र पुन: ओछ्यानमा आएर पल्टिन्। मनमनै अघि भर्खर पढ्दै गरेको कथाको गहिराइमा डुब्न थालिन्।
त्यहीबेला कोठाबाहिर कसैको पदचापको आवाजले एकाग्रता भंग भयो। हातको चुराको आवाजबाट अनुराधा हुन् भनेर दिप्तीले अनुमान लगाइन्। अनुराधाले कोठा सफा गरिरहेकी थिइन्। त्यो कोठा अनुराधाको हो। ठूलो हल भएकोले दुइटा खाट छ। दुई खाटको बीचमा टिभी हेर्न मिल्ने गरी सोफा पनि राखिएको छ।
‘ल्याऊ त्यो कपडा तिमीले भन्दा राम्रोसँग टेबल सफा गरी दिन्छु म.... बरू यो गुलाबको फूल आफ्नो कपालमा सिउरेर मलाई देखाऊ न।’
‘यो त हिक्मतको स्वर हो’ दिप्तीले मनमनै विचार गरी।
लोग्ने-स्वास्नीको गफलाई भाजो नहाली चुपचाप सुनिरहन मनलाग्यो दिप्तीलाई।
‘तपाईं चुप लागेर बस्नु त! म गरिहाल्छु नि।’
‘पिर नगर ... मलाई आफ्नो कामको खर्च उठाउन पनि आउँछ।’
‘तपाईं यहाँबाट जानु त, फेरि दिनमै सुरू होला नि!’
‘भनेको मान न... हेर त कस्तो रोमान्टिक किसिमको पानी परिरहेको छ।’
उनीहरूको वार्तालाप सुनेर दिप्तीको कान बन्द होलाजस्तो भइरहेको थियो।
आँखाबाट आँसु टल्पलाएर बग्न थाल्यो। हिक्मत कहिलेदेखि यस्तो रोमान्टिक हुन थालेछ। हातको चुराको आवाज र उन्मुक्त जोडीको सासको आवाजले मानौं दिप्तीले कानको वरिपरि भमरा घुमेजस्तै महसुस गरिरहेकी थिइन्। एक किसिमले दिप्ती शिथिल भइसकेकी थिइन्। बाहिर आएको हावा र पानी रोकिएको थियो तर दिप्तीको जीवनलाई नराम्री हल्लाइदिएको थियो।
आफूलाई सम्हाल्दै दिप्ती कोठाबाट बाहिर निस्किन्। जाँदाजाँदै उनको नजर अर्को कोठाको बिछ्यौनामा पर्यो जहाँ हिक्मत र अनुराधा सिरकभित्र आपसमा अंगालोमा लुटपुटिएका थिए। आफ्नो कोठामा आएर दिप्तीले कोठाको चारैतिर एकनजर दौडाई।
‘के अन्तर छ यो कोठा र अनुराधाको कोठामा। हिक्मत यस कोठामा आउँदा गम्भीर र शान्त हुन्छ तर त्यो कोठामा जाँदा कसरी रोमाञ्चित हुन्छ?’
उनीहरू बीचको वैवाहिक जीवन पनि १५ वर्ष बितिसकेको रहेछ। यसबीच दिप्तीले हिक्मतको यस्तो रूप कहिल्यै देखेको थिइन। ऐनाको अगाडि उभिएर दिप्तीले आफ्नो अनुहारलाई नियाल्न थालिन्।
हिक्मत र दिप्तीको विवाह भएको १० वर्षसम्म पनि सन्तान नभएपछि दिप्ती आफैंले दोस्रो विवाहको लागि नमान्दा-नमान्दै हिक्मतलाई सहमत गराएकी थिइन्।
आफ्नो ठूलो बुवाको छोरी जो ३५ वर्षको उमेरसम्म पनि अविवाहित नै थिइन्।
अनुराधा दिप्तीभन्दा उमेरमा ठूली भए पनि विवाहको हकमा पछि परेकी थिइन्।
सुरू सुरूमा राम्रो केटा रोज्दा रोज्दै अनुराधाको विवाह हुनसकेको थिएन।
विवाहको प्रस्ताव आउँदा पनि अनेक बहाना बनाएर असहमति जनाउँथिन्। उमेर ढल्कदै जान थालेपछि विवाहको प्रस्ताव नै आउन छाडेको थियो। तर दिप्तीले राखेको प्रस्ताव अनुराधाले एकै पटकमा स्वीकार गरिन्। विवाह भएको वर्ष दिनमा अनुराधाको कोखबाट दिनेशको जन्म भएको थियो।
अब त दिनेश पनि ४ वर्षको भइसकेको छ। आज दिप्तीले किन हो कुन्नी आफ्नै खुट्टामा आफैंले बञ्चरो हानेजस्तो महसुस गरिरहेकी छिन्। आजसम्म आफू र अनुराधाको बीचमा हिक्मतले दिने समयको बारेमा दिप्तीले कहिल्यै पनि गुनासो गरिनन्, न त उनीहरूबीच हुने शारीरिक सम्बन्धलाई महत्व दिइन्। तर आज देखिएको हिक्मतको उन्मुक्त व्यवहारले दिप्तीलाई चिथोर्न थाल्यो। दिप्तीले आज आफ्नै कारणले आफू ठगिएको महसुस गरी।
कहिलेकाहीँ दिप्तीले सोध्थी ‘म कस्तो देखिएको छु....!, खाना कस्तो लाग्यो ....!, यो सामान कस्तो लाग्यो....!’ जवाफमा हिक्मतले ‘राम्रो’ भन्ने शब्दबाहेक थप केही पनि बोल्दैनथ्यो।
यस्ता छोटो छोटो सवाल जवाफमै हिक्मतसँगको वार्तालाप सकिन्थ्यो।
आजसम्म हिक्मतले दिप्तीलाई न कहिल्यै कुनै उपहार ल्याएर दियो...! न त कुनै सरप्राइज...! न त कुनै हाँसो ठट्टा।
हिक्मतको गम्भीर रूपसँग मात्र दिप्ती परिचित थिइन्।
आज हिक्मतको उन्मुक्त नयाँ रूप देखिएको थियो। ‘अनुराधा दिदी, अनुराधा दिदी’ भनेर दिप्ती कहिल्यै थाक्दिन थिइन्।
घरको सम्पूर्ण जिम्मेवारी अनुराधालाई सुम्पेर दिप्ती छोरो दिनेशसँग खुसी थिइन।
कोही नौलो मान्छे घरमा आउँदा दिप्तीलाई नै कान्छी ठान्थे। उनीहरू बीचको मिलाप देखेर सबैले प्रशंसा पनि गर्दथे। तर आज किन दिप्तीलाई न्यास्रोपन अनुभव भइरहेको छ?
हुन त त्यसबखत दिप्तीलाई कुनै अनाथलयबाट टुहुरो बच्चा पाल्ने इच्छा जागृत नभएको पनि होइन। हिक्मत पनि सहमत हुन सक्थ्यो।
पछि पुर्पुरोमा हात राखेर पछुताउनु पर्ला भनेर आमाले पनि पटक/पटक सम्झाएकी पनि हुन्।
आमाले त भनेकी थिइन् ‘सौता भनेको त माटोको मूर्ति पनि राम्रो हुँदैन।’
यस सम्बन्धमा दिप्तीले भनेकी थिइन्, ‘हैन आमा हिक्मतले मेरो जे कुरा पनि मान्छ। सन्तान नहुनुमा कमजोरी मेरो हो। किन उसलाई सन्तानहीन बनाएर राख्ने?’
आज बल्ल दिप्तीले महसुस गरिन्। के फरक हुन्थ्यो र! दिनेशको ठाउँमा अनाथलयबाट कुनै असहाय बच्चालाई पालेको भए!
घरमा तीन जना मात्र हुन्थ्यो अनि हिक्मत सधैं उसैसँग हुने थियो।
दिप्तीलाई अरूले भन्ने गरेको ठिक्कै हो कि जस्तो लाग्न थाल्यो - जेठी सेवा गर्नको लागि, कान्छी मेवा खानको लागि।
हिक्मतले कहिलेकाहीँ मिठो शब्दले सम्बोधन गरिदिओस् भन्ने दिप्ती आशा गर्थिन्। तर आज दिउँसै यो के हो? दिप्तीलाई वास्तै नगरी उछृङ्खल व्यवहार, मिठा शब्दहरू, अनि गुलाफको फूल......।
अनुराधाले दिप्तीलाई खुब माया गर्थिन् तर आज दिप्तीलाई त्यो सब देखावटी रहेछ जस्तो लाग्न थाल्यो।
दिप्तीको अगाडि उनीहरू दुबै जना त्यति धेरै कुरा गर्दैनथे। तर आफ्नो कोठामा उनीहरू नवविवाहित जोडी र धेरै दिनपछि भेट भएको जोडीजस्तो हुन्थे। रूँदारूँदा दिप्तीको आँखा पनि सुन्निन लागेको थियो।
अनुराधालाई खुब इज्जत गर्थिन् दिप्तीले तर आज एउटा अपराधीको रूपमा देख्न थालिन्।
हो... अनुराधा उमेरमा दिप्तीभन्दा ठूली थिइन्। त्यसबेला विवाहको कुरा गर्दा अनुराधाले दिप्तीलाई सम्झाउन सक्थिन् तर त्यस्तो केही गरिनन्। विवाह हुँदा दिप्तीको उमेर उन्नाइस वर्षको हुँदो हो, त्यतिबेला हिक्मत र दिप्तीबीच दश वर्षको उमेर अन्तर थियो।
विवाह भएको वर्षदिनमै सासू परलोक भएकोले पनि होला सारा गृहस्थी दिप्तीले सम्हाल्नु परेको थियो। जे, जस्तो जानी त्यस्तै गरी।
आज दिप्तीले महसुस गरिरहेकी छे। बढी भावुक भएर निर्णय गर्नु गल्ती थियो।
आजको यस अवस्थाका लागि कसलाई दोष दिनु- हिक्मत, अनुराधा वा स्वयं आफूलाई!