माटो पटक्कै खुसी छैन
हावा सुस्ताएको छ
चराहरू रगमगाइरहेका छन्
वाष्परहित सुक्खा बादलका टुक्राहरूले
उज्यालो अलिकति छेलिएको छ
आकाश यसै धुम्मिएको छ
पुरै वस्ती केही पर्खिरहेछ
असिना पानी र हावा हुरी
पटक-पटक नआएको होइन
फोहोरमैला पखाल्ने शंखघोष गर्दै
तर पनि
एकैछिनको झल्याकझुलुकपछि
उसैगरी धुम्मिन्छ
उकुसमुकुस बन्छ
पात झरेका रुखका मनहरू
एउटा बुढो मान्छे
यात्राविहीन यात्रामा
हिँड्दा हिँड्दै
गोरेटोमा टक्क उभिएर चुरोट सल्काउँछ
अनि नाप्छ
उसको टाउको र बादलबीचको दूरी
खर र वनमासा जेलिएर
हैरान भएकी एउटी
महिलाको पटुकीमा बज्छ
सहरबाट सखीले गरेको फोन
अनि खुल्छ
क्षितिजमा धुमिल
तर लोभलाग्दो उसको आशाको संसार
विरत्त खुसीमा बन्दै अलमल
खेतमा चराउँदा चराउँदै
थला परी मरेको डिंगोको
गन्ध छिचोल्दै एउटा बालक
मध्ये दिउसोमै स्कुलबाट फर्किन्छ
झोला बिसाउने हतारोमा
क्षणिक उन्मुक्तिको सास फेर्न
गाता च्यातिएको किताबले जस्तो
धुम्मिएको आकाशमुनि
एउटा सानो खोला
सुक्दै-सुक्दै
विषादीले माछा रित्तिएको शोकमा
आफ्नै गतिमा बगिरहेछ।