एकदिन मेरो फेसबुकमा अन्जान युवतीको म्यासेज आयो- ‘के हामी साथी बन्न सक्छौ?’
म अचम्मित भएँ र म्यासेज हेरेर छोडिदिएँ। फेरि उसकै म्यासेज आयो- ‘बोल्नुस् न, गाह्रो मान्नु पर्दैन।’
मैले पनि त्यति भनिसकेपछि ‘हजुर नमस्कार! सन्चै हुनुहुन्छ?’ भन्दै म्यासेज गरेँ।
उताबाट सन्चै भएको भन्दै एउटा मुस्कानसहितको स्टिकर आयो।
यसरी सुरु भएको हाम्रो कुराकानी एकको दुई, दुईको चार गर्दै एकअर्कासँग नबोली बस्न नसक्ने आदत बसिसकेको थियो।
हामीबीचमा त्यस्तो माया प्रेमको बारेका केही कुरा भएको त थिएन तर पनि एकअर्कासँग नबोली भोक निद्रा नपर्ने भइसकेको थियो। हामीले कुराकानी गर्न सुरू गरेको दुई महिना बितिसकेको थियो।
उनको बसाइँ र मेरो बसाइँ खासै टाढा भने थिएन। म सामान्य जागिर खान्थेँ। जागिरबाट मलाई कोठा भाडा तिर्न र खाना खानको लागि भए नि सहज भएको थियो।
उमेरले जिम्मेवारी थपिँदै गएको थियो। पढाइ स्नातक दोश्रो वर्षमा चल्दै थियो। एक दिन हामी भेट्ने भयौं।
भेट बानेश्वर चोकमा गर्ने निर्णय गरेका थियौं। बिहानको १० बजे म रत्नपार्कबाट बानेश्वरको गाडी चढ्दै गर्दा मैले उनलाई फोन गरेर हिंडेको जानकारी दिएँ। उनी पनि भक्तपुरबाट हिँडिसकेको कुरा बताइन्।
मनमा केही माया, केही डर बोक्दै म बानेश्वर चोकमा पुगेँ र उनलाई फोन लगाएँ। उनलाई आफू आइपुगेको जानकारी दिँदै उसलाई वरिपरि कतै नदेखेको भन्दै थिएँ मेरो पछाडिबाट एउटा सुमधुर आवाजसहित नमस्कार भन्ने शब्द सुनियो।
म पछाडि फर्किएँ। मुटुको गति मापन गर्न सक्ने थिएन। अनुहार रातोपिरो र पसिना आइरहेको थियो। म गोजीमा भएको रुमाल निकाल्दै आफ्नो पसिना पुछ्दै आफूलाई नियन्त्रण गर्छु भनेर सानो आवाजमा ‘सन्चै हुनुहुन्छ? खाना खानु भयो?’ भन्दै प्रश्न गरें।
उनले सुमधुर आवाजमा ‘हजुर खाएँ अनि हजुरले?’ भन्दै फेरि प्रश्न गरिन्।
मैले पनि टाउको हल्लाउँदै खाएको जानकारी दिएँ।
म उनलाई सिधा हेर्न नि सकिरहेको थिइनँ र उनले पनि मलाई। हामी पहिले फोन र भिडिओ कलमा मात्रै बोलेका थियौं। भौतिक भेट पहिलो थियो।
भेटको एकछिनपछि बल्ल उनलाई हेर्ने हिम्मत जुटाएँ। उनलाई एकोहोरो रुपमा हेरिरहेँ र आफैसँग कुराकानी गर्न थालेँ। साँच्चै मेरो दिलको रानी नै रहेछिन्। शालिनता, हँसिलो मुहार, बाटुलो अनुहारको मोहडा, मृग नयनी आँखा, सेता मिलेका दन्त, हिमालको जस्तै चमक थियो।
केहीबेर हामी दुवै मौन बस्यौँ। मैले कतै जाउँ र बसौँ भनेँ। उनले हँसिलो मुहारमा हस् भनिन्।
हामी बानेश्वरबाट ट्याक्सीमा जाउलाखेलस्थित चिडियाखाना जाने निर्णय गर्यौं। ट्याक्सीमा हामी दुईको दूरी एकअर्काभन्दा केही टाढा थियो। उनको शिर निहुरिएको थियो अनि म निःशब्द। बोल्न केही आएकै थिएन।
हेर्दाहेर्दै चिडियाखाना पुगियो। टिकट लिएर भित्र गयौँ। ट्याक्सीमा हाम्रो दूरी केही टाढा भएता पनि चिडियाखानासम्म पुग्दा हात समाएर हिँड्न् सक्ने भएका थियौँ।
जाडोको समय भएको हुँदा हामी घाम खोज्दै बस्ने कुरा गर्यौं। हामीजस्ता धेरै जोडीहरू थिए। उनीहरू रमाउँदै फोटो खिच्दै गर्थे तर हाम्रो पहिलो भेट खुलेर बोल्न समेत सकेका थिएनौँ।
समय विस्तारै बित्दै थियो। हामी मौन मात्र थियौँ। एकअर्कालाई हेरेर बस्यौँ। त्यति बेलै मैले गोजीमा भएको मोबाइल निकालेर सेल्फी लिएँ। दुवै जना एकदमै लजाएका थियौँ।
बेलुकाको ३ बज्नै लाएको थियो। अब खाजा खाने भन्दै हामी चिडियाखानाबाट निस्किएर नजिकैको होटेलमा गएर खाजा अर्डर गर्यौं र एउटै टेबलमा बसेर खाजा खायौँ।
खाजा खाइसकेपछि छुट्टिने बेला भयो। म लगनखेलबाट रत्नपार्कको गाडी चढेँ, उनी भक्तपुर जाने बस। जाने बेलामा उनको अनुहार एकदमै मनिलो, धमिलो थियो। म महसुस गर्न सक्थेँ तर के भयो भनेर प्रश्न गरिनँ। बाई भन्दै हामी एकअर्काबाट छुट्न पुग्यौं।
म कोठामा पुग्नासाथ फोन बज्यो। त्यही सुमधुर आवाजमा ‘म पुगेँ है घर अनि हजुर पुग्नुभयो, राति बोल्न मिल्दैन जस्तो छ आफ्नो ख्याल गर्नुस्, मिस यु हिरो’ भन्दै फोन राखिन्।
म कोठामा पुगेर आफैसँग हराउन थालेँ। आफैलाई प्रश्न गर्न थालेँ। भगवानलाई धन्यवाद भन्दै म सुतेँ।
समय बित्दै गयो, हामी छिटो-छिटो अवधिमा भेट गर्न थाल्यौँ। हाम्रो मायाको फूलबारी फुल्दै थियो। समयले ४ महिना पुगेको थियो हामी मायामा परेको।
हामीले एकअर्काको घरमा हाम्रो सम्बन्धबारे कुरा राख्ने निर्णय गर्यौं। पहिले दुवैतिर ममीलाई कुरा गर्यौं र भेट्यौं पनि।
उहाँहरू हामीप्रति सकारात्मक हुनुहुन्थ्यो। ‘तिमीहरूको खुसी हाम्रो पनि खुसी’ भन्दै हाम्रो सम्बन्धलाई अझ बलियो गराउने अर्को आधारशिला बन्नुभयो। हामी एकदमै खुसी भयौँ।
परिवार र केही आफन्तलाई हाम्रो कुरा थाहा थियो। तर दुवैतिर बुबालाई भने थाहा थिएन। ममीहरू बुबाले नमाने पनि हामी भगाएर भए नि बिहे गर्दिन्छौँ भन्नुहुन्थ्यो।
समय बित्दै गयो। उनी २० वर्ष पुग्दै गर्दा बुबाले एउटा केटाको कुरा लिएर आउनु भएछ। त्यो कुराले ममी, आफन्ती विशेष गरी त उनलाई एकदमै डर लागेछ। हाम्रो प्रेम सार्थक हुन सक्दैन कि भनेर।
‘यति एकअर्कालाई राम्रोसँग बुझेका छौं, त्यो अन्जान व्यक्तिसँग कसरी खुसी हुनसक्छु’ भन्दै रातको १० बजे सबै कुरा फोन गरेर मलाई भनिन्। मलाई नि डरले धेरै सताउन थाल्यो। त्यो रात दुवै जना सुतेनौँ, बोलिरह्यौं।
अर्को दिन ममीसँग सल्लाह गर्न म उनको घर गएँ। ममीले ‘पहिले उहाँले भनेको वाचालाई पूरा नै गर्छु, तिमीहरू ढुक्क हुनू, तिमीहरूलाई जसरी पनि म भगाइदिन्छु’ भन्नुभयो।
मनमा केही उर्जा थपियो र म त्यहाँबाट फर्किएँ।
समय बित्दै थियो। उनी २१ वर्ष पुगिन्, म २४ वर्ष। घरमा बिहेको कुरा धेरै आउन थाले। ममीहरूले हामी दुईको आन्तरिक सल्लाहबमोजिम हामीलाई भाग्न भनेर सल्लाह दिनुभयो।
उहाँहरूले भने बमोजिम हामीले भाग्यौं र विवाह गर्यौं। मेरो घरमा बुबाले उनाई सहजै स्वीकार गर्नुभयो तर उनको बुबाले गर्नु भएको थिएन। समयसँगै उनको बुबाले पनि स्वीकार गर्दै हामीलाई भेट्नको लागि निमन्त्रणा गर्नुभयो।
बुवा पनि हामीदेखि एकदमै खुसी हुनुहुन्थ्यो। अहिले हामी एकअर्काप्रति एकदमै खुसी छौँ। हाम्रो परिवार नि खुसी छ। फेसबुकको प्रेम कुनै भर हुन्न भन्नेहरूको लागि एउटा सकारात्मक सन्देश बनोस्। उच्च भरोसा, एकअर्काप्रति सम्मान, निःस्वार्थ प्रेम भएको सम्बन्ध कहिले छुट्नु पर्दैन।