क्षितिजपारि देशको
न्यानो याद गर्छ मनले
घरको ढोका खोल्दै
आमाले बोलाएको सम्झिन्छ कानले
निदले बिर्सेर छटपटिरहँदा
सिरानीमुनि साउती गर्छ हातले
र भेट्छ केही पुराना तस्वीरहरू।
ती पुराना बरको रूखका लहरामा झुन्डिन खोज्छन्
मेरा हातहरू
बाख्रा चराउँदा खेल्ने पहरातिर दौडिन्छन्
मेरा पाउहरू
परालको बिटामुनि लुकामारी गर्न तम्सिन्छ
मेरो टाउको
आँपका पँहेला गेडाहरू टिप्न रूख चढ्न खोज्छन्
आँखाहरू
पैसाको दर्जामा लुकाएका च्याप्टा ढुंगा बटुल्न खोज्छन्
औंलाहरू
यस्तै-यस्तै यादहरूमा
छपक्कै भिज्छ मन
मेरो देश
मेरो खेत
मेरो गाउँ
मेरो समाज
मेरो मान्छे
सबै मेरा त हुन् जस्तो लाग्छ
छाती चरक्क चिरिन्छ
माया नै माया उर्लेर आउँछ
आँखाले घरीघरी देशमा टेक्छन्
खुट्टामात्रै प्रदेशमा हिंड्छन्
सुत्ने बेला देश
उठ्ने बेला देश
सम्झिँदै जान्छु
परिवार पाल्नु पर्ने बाध्यताको भकारीले थिचिन्छु
घर चलाउनुपर्ने जिम्मेवारीले भड्किन्छु
र निधारभरि उम्रिएका पसिनाका दानाहरू पुच्छु
फेरि सम्झिँदै जान्छु
बुद्धको जन्मघर
सगरमाथाको अग्लो नजर
मन न हो
सम्झिन्छु
मेरो गाउँका
पानी नपाएर घाँटी सुकाइरहेका धाराहरू
दियालो बाल्दै उज्यालो खोज्न हिंडेको सानो छोरा
ढाड च्यातिएका बिरामी बाटाहरू
चिल्ला गाडीमा कुद्ने गनाउने कीराहरू
मोलमोलाइले फुलेका पिछलग्गूहरू
मन्दिरको पार्श्वमा मल बिसर्जन गर्ने बाँदरहरू
दरबारलाई घरबारमा बेच्ने गिद्धहरू
बेचिएको न्याय
किनिएको मानवता
धत्
मेरो देशभरि मैलिएका दशा
विरक्त हुन्छु
हेर्दै गरेका फोटाहरू पुनः सिरानीमा राख्छु
छचल्किँदै गरेको मन
बढ्दै गरेको ढुकढुकी
सबैलाई भुल्दै गरेको बहानामा
दरो पार्दै खुट्टा
अग्लो पार्दै विश्वास
उभिन्छु समयमाथि
र काममै फर्काउँछु
देशतिर हिंडेका पाउहरू
विदेशमै अड्काउँछु चङ्गाझैं उडेको मन
तर मन न हो
सम्झनाको हावाले फेरि उडिहाल्छ देशतिर
र भन्छ-
मेरा सङ्गीहरू देशलाई सन्चै छ?