कहिलेकाहीँ स्मृतिका पानाहरू हृदयभित्र आफै पल्टिन्छन्
धुलाम्य भइसकेका अनुहारहरू मस्तिष्कमा टलक्क टल्किन्छन्
छोटो झैँ लाग्दछ जीवन, तर यात्रामा धेरै मानिस भेटिए
कसैको याद धुमिल आज, त कोही स्मृतिबाटै मेटिए
कुनै दिन कसैको सामीप्यमा लाग्यो- यो साथ सधैँ रहेनछ
सागर बरु थामिएला कतै, प्रेमलहर सधैँ बहनेछ
तर परिवर्तन नै जीवनको रीत हो
क्षणभंगुर नै समयको जित हो
हिजोको प्यारो मान्छे आज कतै टाढा-टाढा
भेटिँदा पनि लाग्दैन माया, पहिले जस्तो गाढा
को सधैँ आखिर कसको प्यारो रहिरहन्छ र?
समयको कसीमा को सधैँ खरो रहिरहन्छ र?
धेरै सम्बन्धहरू जीवनमा आफै बनेर आउँछन्
तर सबै आफन्तहरू ‘आफ्ना’ नहुन पनि सक्छन्
थोरै सम्बन्धहरू हृदयको तारतम्यले बन्छन्
तर ती सधैँ संयोजित नरहन पनि सक्छन्
प्रेमले व्याकुल मनुष्य, हर बखत आफैलाई सोधी हिँड्छ
जीवनको उतारचढावमा यो प्रश्नको उत्तर खोजी हिँड्छ
को हुन् आफ्ना
को हुन पराई?
रगतको नाता गाढा
कि हृदयको गहिराइ?
समाजले सम्बध जुटाँउछ कि अन्तर्मनले छान्दछ?
यो मनले आखिर, आफ्ना मान्छे कसलाई मान्दछ?
जसलाई भेट्दा हृदयमा असीमित आनन्द बर्सिन्छ
जसको सान्निध्यले मनमा अक्षोभ शान्ति मिल्दछ
जो सुन्दछ तिम्रो हर कुरा, निन्दा किंचित गर्दैन
नित्य प्रहर भेटेर पनि जसलाई, तिम्रो चित्त भर्दैन
जो तिम्रो आँखामा मान खोज्दैन
जो तिम्रो साँचो कुरामा अपमान देख्दैन
जसलाई तिमी पोख्न सक्छौ आफ्नो मनको कुरा- छर्लंग
तिम्रो सुख-दुखमा उसको एउटै छ रंग- एउटै तरङ्ग
स्विकार्छ जसले तिमीलाई सहजै- जे छौ, जस्तो छौ
तिमी हुनुमा नै सबैथोक छ- न यस्तो, न उस्तो छौ
त्यो नै हो आफ्नो मान्छे
जो तिम्रो अंतस्करणमा छाउँछ
तिम्रो गहन शून्यतामा पनि
उसले आत्मियताको मिठो गित गाउँछ!