करिब आठ मिनेट जतिको उकालो उक्लिएपछि ऊ टक्क उभियो सानो खोला छेउको धारा नजिक। उकालो चढ्दा उसको मुटुको धड्कन अलि बढेको थियो। केही बेरको सुस्ताइसँगै उक्त धड्कन सामान्य लयमा फर्कियो।
मझौला अनि मन्दिरको गजुर आकारका दुई ढुङ्गाको बीचमा अडिएको धारोबाट खोलाको कञ्चन पानी कलकल बगिरहेको थियो। रामबाँसको उक्त धाराबाट एकतमास ओर्लिरहेको पानीले उसलाई लोभ्यायो।
ऊ घोप्टो पर्यो। दुई हात जोडेर बनाएको अञ्जुली धारा तल राख्दै घटघट पानी पियो। पुरानो भएर होला धाराको पीँधमा हरियो लेउका दुई धर्साहरू पानीको गतिसँगै नाचिरहेका थिए। उसले वास्ता गरेन। जब पानी पिएर उभियो, उसलाई यस्तो शिखर अनुभूति भयो मानौँ उसको वर्षौंदेखिको प्यास तृप्त भएको छ।
धारा छेउमा एक लामो एवं फराकिलो ढुङ्गा लमतन्न पल्टिएको थियो। त्यहाँबाट पूजा साबुनको ताजा गन्ध आइरहेको थियो। ढुङ्गामा राखेर भर्खरै कसैले लुगा धोएर गएको थियो सायद।
जुन साबुन उसले प्रयोग नगरेको दशकौं भैसकेको थियो, त्यसको गन्ध अझै स्मरणमा रहेको थाहा पाउँदा ऊ स्वयम अचम्मित भयो। बाल्यकालमा रेडियोबाट बज्ने विज्ञापन सम्झियो- ‘पूजाको शक्ति, महाशक्ति।’
त्यो धारा, त्यो ढुङ्गासँग उसको दशकौं पछि भेट भएको थियो। उसलाई यस्तो अनुभूति भयो मानौँ वर्षौंपछि आफ्ना प्रिय बालसखालाई भेटेको हो। अचानक बाल्यकालका अनगिन्ती यादहरू प्रकट भए।
उसलाई पानी र साबुनसँगै त्यो ढुङ्गाको असीमित माया लागेर आयो। 'आखिर यो निर्जीव ढुङ्गाको किन यति धेरै माया?' आफैलाई प्रश्न गर्यो। उत्तर पायो- यससँग उसको बाल्यकाल जोडिएको छ कुनै न कुनै रुपमा।
के उसको वर्तमानभन्दा विगत सहज र सुखपूर्ण थियो? जवाफ स्पष्ट थियो- थिएन।
त्यसो भए एक भावना विहीन निर्जीव ढुङ्गाप्रति किन यति गाढा प्रेम जागृत भयो? अकारण नै उत्पन्न हुन्छ। तब न प्रेम। कारणसहित त व्यापार हुन्छ, स्वार्थ हुन्छ, घृणा हुन्छ, बदलाभाव हुन्छ।
मनमनै हाँस्यो। सायद उसले चित्तबुझ्दो उत्तर भेट्यो।
त्यही ढुङ्गा थियो जसमा राखेर उसलाई नुहाइदिनुभएको थियो आमाले कैयौं पटक ऊ सानो छँदा। आमाले लुगाहरू धुँदा त्यसैको कुनामा बसेर हेरिरहन्थ्यो ऊ। आज पनि त्यो ढुङ्गा त्यसैगरी चुपचाप थियो जसरी वर्षौं पहिले पनि कसैले उसमाथि बसेर नुहाउँदा होस् वा लुगा धुँदा, उफ्रँदा होस् वा बस्दा मौन रहन्थ्यो।
मौसमअनुसार धाराको बहाब बदलियो, रामबाँसका धाराहरू बदलिए। तर ऊ कहिल्यै बदलिएन- स्थिर, अविचलित एवं अरुकै सेवामा समर्पित। बदलामा न कुनै अपेक्षा, न कुनै गुनासो। न कुनै अहंकार, न कुनै अपमानबोध।
मानौँ ऊ मौन साधनामा यसरी लिप्त छ कि उसको साधना भंग गर्न सक्ने कसैको ल्याकत छैन। हुन पनि उसको छरछिमेकमा कैयन ढुङ्गाहरूले बसाइँसराइ गरेका छन्- बाढीसँगै, पहिरोसँगै।
समय क्रममा कतिपय ढुङ्गाहरू टुक्रिएका छन्। तर अचम्म ऊ जहाँ थियो त्यहीँ छ। जस्तो थियो उस्तै छ। उसलाई हजारौंले प्रयोग गरे होलान्। छोडेर गए होलान्। तर त्यो ढुङ्गालाई कुनै पर्वाह छैन।
ऊ अचम्मित भयो अनायासै यसरी भावुक भएको देख्दा। हिजो मात्र सम्पन्न पूजा सम्झियो। सयौंको संख्यामा भगवानको भक्तिगानमा समर्पित भक्तजनहरू। फूलमाला, दियो बत्ती, शंख, घण्ट, भजन, किर्तन। सम्पूर्ण परिवेश नै गुञ्जायमान। भगवानप्रति मान्छेहरूको पूरा समर्पण।
भगवानको एक झलक दर्शनका लागि भक्तजनहरूको घण्टौंदेखिको व्यग्र प्रतीक्षा। भगवानकै कृपाले उसले पनि सानो मन्दिरभित्र विराजमान भगवानरुपी शीलाको दर्शन गर्ने अवसर पाएको थियो। ऊ धन्य भएको थियो। फूल झैं हलुङ्गो महसुस गरेको थियो- एक पलको दर्शन मात्रले।
झसंग भयो। अहो! त्यो शीला पनि त ढुङ्गो नै हो र यो पनि ढुङ्गो नै। एउटाको त्यत्रो सम्मान, भक्तिगान। अर्को अत्यन्त उपयोगी सावित हुँदाहुँदै पनि कत्रो उपेक्षा। ढुङ्गाहरूको समाजमा पनि कत्रो विभेद? एउटा पूजिने ढुङ्गा, अर्को कुल्चिने ढुङ्गा।
होइन, यो सब मजस्तै मान्छेको चतुर्याइँ हो। नितान्त आफ्नो स्वार्थका लागि रचिएको विभाजन हो। यस प्रकारको वर्ग विभाजनसँग ती ढुङ्गाहरूको कुनै सरोकार छैन। न आफू भगवान बनाइएकोमा मन्दिरभित्रको पवित्र ढुङ्गालाई कुनै अहंकार छ, न वर्षौंदेखि पिल्सिएकोमा यो परोपकारी ढुङ्गोलाई कुनै अपमानबोध छ।
मान्छेले भिराइदिएको फरक-फरक जिम्मेवारी निष्ठापूर्वक निर्वाह गरिरहेछन् दुवैले, मान्छेहरूकै इच्छाअनुसार। यसवापत न कुनै पुरस्कारको लोभ, न कुनै प्रशंसाको भोक। न कुनै प्रतिस्पर्धाको लडाइँ, न कुनै पहिचानको लालसा। बस् निःस्वार्थ सेवामा समर्पित। स्थित प्रज्ञताको अवस्था।
आखिर ढुङ्गा पनि त मान्छेजस्तै विराट प्रकृतिको एक अंश हो। तर यति विघ्न फरक। मान्छे चेतनशील, ढुङ्गा चेतना शून्य। मान्छे आशा, अपेक्षा, अहंकार, लोभ आदिको पुञ्ज। पद, प्रतिष्ठा, पहिचान आदिको भोको। ढुङ्गा स्थित प्रज्ञताको शिखरमा। तैपनि ढुङ्गाका कथाहरू लेखिएका छैनन् धेरै।
लेखिए पनि उसको कठोरताका, निरसताका कथाहरू लेखिएका होलान्। मान्छे मागिरहन्छ- पैसा, शक्ति, प्रशंसा, करुणा, कृतज्ञता, सम्मान, प्रतिष्ठा। निःश्वार्थ परोपकारको नाममा गरिने कृत्यबाट पनि कम्तीमा कृतज्ञता भावको अपेक्षा।
झल्याँस सम्झियो- केही महिनाअघि आफ्नो जन्मदिनको अवसरमा एक वृद्धाश्रममा रहनुभएका २० जना जति वृद्ध बुवाआमाहरूलाई एक छाक खाना खुवाउँदा पनि आफ्नो फेसबुकको भित्तो रङ्गाएको, चिनेको अनलाइन मिडिया बोलाएर आफ्नो उदारताको प्रचार गर्न लगाएको। फेसबुकमा आएका प्रशंसाले भरिएका कमेन्टहरू हेर्दै पहाड झैं फुलेको।
त्यो आत्मरति सम्झेर हल्का लजायो आफै। सोच्यो- लाग्छ मान्छेसँग मान्छे चेतना होइन, माग्ने चेतना छ। फेरि झस्कियो- धत्! के-के कुरा खेल्छ हो यो दिमागमा पनि।
‘साथी! कता छस् यार तँ? सबैजना तँलाई पर्खेर बसेका छन्। तँ भने यो खोला किनारमा आएर बसेको छस्,’ आलोकको बोली उसको कानमा गुञ्जियो।
‘हेर् न यो ढुङ्गा, अझै उस्तै छ है? मलाई त यसले हाम्रो मिठो बाल्यकालको याद दिलायो यार। हामी कति बदलियौं तर यो जहाँको त्यहीँ छ।’
एकछिनको मौनतापछि आलोकले मुख खोल्यो- ‘ह्या कस्तो कुरा गर्छस् तँ पनि! तँजस्तो हो र त्यो ढुङ्गो गाउँ, सहर, देश देशावर डुली हिँड्नलाई। बुढो हुन लागिस् यार, हावा कुरा मनमा खेलाएर टोलाएर बस्ने तेरो बानी अझै पनि उस्तै छ है। ल हिँड् छिटो।’
आलोकले तानेर लग्यो। उसले यसको जवाफ दिएन।
भन्न त मन थियो- ‘चरो नहोला, मान्छे नहोला तर हामीजस्तै प्रकृतिको अंश त हो यो ढुङ्गा पनि। त्यसैले हाम्रो आफन्त हो। हाम्रो साथी हो। माया लाग्छ नि यसको पनि।’
तर उसलाई अर्ध पागलको पगरी भिर्नु थिएन। त्यसैले फिस्स हाँस्यो र आलोकलाई पछ्यायो।
केही कदम अघि बढेपछि पछाडि फर्केर हेर्यो। हावाको सानो झोकाले ढुङ्गाको शिरानमा रहेको धाराको पानी र पुछारतिर उभिएको ऐंसेलुको झ्याङ विस्तारै हल्लिए। बिदाइको हात हल्लाए झैं लाग्यो उसलाई।
ढुङ्गा सदा झैं मौन थियो। मन भित्रैबाट जवाफ दियो- ‘म फेरि आउनेछु तिमीहरूलाई भेट्न अलि लामो समय सँगै बिताउने गरी।’ तर भेट्ने कहिले उसैलाई थाहा थिएन।