कति हँसिला र रमाइला थिए आमा ती दिन
जब तिम्रो काख र बाबाको साथमा आफ्नै घरमा थिएँ म
न त कुनै कुराको अभाव थियो
न त अभावको भारी आफूले नै बोक्नु परेको थियो
जब तिमीबाट टाढा गएँ
तब आफ्नो जिम्मेवारीको महसुस भयो
स्कुलको झोलाको वजनसम्म राम्ररी उठाउन नसक्ने मलाई
जिम्मेवारको भारीले उठ्नै नसक्ने गरी पछारिदियो
सधैँ तिमीसँगै बसेर पनि
त्यो तिम्रो मुस्कान पछाडिको पीडा नबुझेको मैले
जब जिम्मेवारीको भारी आफ्नो काँधमा लिएँ
तब बल्ल बुझेँ तिम्रो त्यो हाँसोभित्रको गहिराई
तब बल्ल बुझेँ रमाएर हाँस्नु र
पीडा लुकाउन हाँस्नुमा कत्ति फरक हुँदो रहेछ भन्ने
विस्तारै जिन्दगी र सङ्घर्षलाई बुझ्दै गएँ
जिन्दगीले पनि यस्तो पाठ सिकायो
जुन पाठ न त स्कुलमा सरले पढाए
न त घरमा तिमीले नै बुझाउन सक्यौ
घरमा तिमीले र विद्यालयमा सरले नपढाएको
जिन्दगीको पाठ आफैले बुझ्ने प्रयास गर्दैछु
घर पल्तिरको पसल जाँदासमेत एक्लै नहिँड्ने म
आज जिन्दगीको लामो र अन्धकार भरिएको यात्रा एक्लैले तय गरेकी छु
थाहा छैन यो जीवनको सफर कति लामो छ
कहाँ गएर टुङ्गिन्छ तर
जुन गन्तव्यमा पुग्न भनि सुरु गरेकी छु यो सफर
त्यहाँसम्म पुग्न सकुँ, आशीर्वाद देऊ है आमा।