फुर्सदमा खिचेको तस्बिर
पल्टाएर के हेरेको थिएँ
तस्बिरसँगै प्रेम भयो
अनि
खोजेँ उसलाई
गल्ली, चोक,
बजार, सहर,
चिया, चौतारी,
पाटी, पौवा,
पार्क, फलैँचा
त्यही तस्बिरको आधारमा
अहँ भेटिनँ!
भौतारिरहेँ त्यो रुपमा
कोमल मुस्कानमा
कति मोहनीरुपी थियो
जादुमयी थियो
मेरो नजरमा त्यो तस्बिर!
जितेको थियो
मेरो सिङ्गो हृदय
एक शब्द पनि नबोली!
र पनि
गुनासो छैन जिन्दगीसँग
किनकी
मेरो भाग्य बलियो रहेछ
सुरक्षित हृदयमा उसलाई राख्दै
कम्तीमा यत्रतत्र खोज्ने अवसर त पाएँ
चलिरहेको मुटुमा सँगै लिएर
हिँडने अवसर त पाएँ
यतिकैमा बिउँझिएँ
र
झस्किएँ!
तैपनि
खुसी छु तन्द्रामा
सुन्दर रुपमा अल्झिएरभन्दा पनि
अर्कै दुनियाँमा छु आजकल
महसुसमा पनि जरुरत ठान्छु
त्यही
फुर्सदमा खिचेको तस्बिर हेरेर।