निकै चञ्चल स्वभावको। किशोरावस्थाले झपक्कै ढाकिसकेको। साथीको लागि जे पनि गर्ने। घरमा बाबुआमालाई ढाँट्न पनि पछि नपर्ने। तर साथी भनेपछि जहिले पनि ज्यान हाजिर।
अरुको बारीको काक्रो चोरेर आधा खाने, आधा त्यही फालिदिने। त्यतिमात्रै होर र! मान्छेले चोरेर खाएको भन्ने शंका गर्छन् भनेर बोटमै झुन्डिरहेको काँक्रोलाई नटिपी आधा खाइदिने, आधा बोटमै छोडिदिने। खान मिल्ने त खायो ठिकै छ, काँचै खान नमिल्ने भर्खर पलाएको बाँसको तामा पनि भाँचेर फालिदिने।
उफ्! यस्तै उपद्रो गर्ने। अँ, ऊ यस्तै थियो। ऊ अर्थात् अर्जुन। अर्जुन कक्षा ८ मा पढ्दै थियो। कात्तिक महिना तिरको कुरा हो। स्कुलका साथीहरू बीचको मित्रता निकै बढेको थियो। एकजना साथीले जे भन्यो बाँकी सबैले मान्ने।
राजन- ओई साथी हो, सरले भन्या सुन्यौ?
अर्जुन- के?
राजन- विद्यार्थी जीवन भनेको जीवनमै रमाइलो उमेर हो रे। खै रमाइलो त छैन यार! खालि पढाइको टेन्सन मात्र। कहिलेकाहीँ त रमाइलो पनि गरौं न हो।
बलबहादुर- हात्ती पढेर ठूलो भा हो र? कमिला नपढेर सानो भा पनि हैन। एक/दुई दिन स्कुल नजाँदा के फरक पर्छ र? भोलि स्कुल हापौँ न त।
कृष्ण- बलेको कुरा पनि सही हो है। भोलि खोलामा खेल्न जाउँ न त!
सबैजना सहमत भए। सहमत त गरे तर अर्जुन निकै दोधारमा पर्यो। स्कुल नगए आमाले मार्नुहुन्छ, भनेको नमाने साथी रिसाउँछ। चारै जनाले सल्लाह गरे, घरबाट स्कुल हिँड्ने तर स्कुल नगई खोलामा जाने र चार बजेपछि घर फर्किने। सबैले भेट्ने स्थान निधो गरे।
अर्जुन बिहान खाना खाइवरी आकाशे रङको शर्ट, निलो पाइन्ट लाएर स्कुल जान निस्कियो।
‘बाबु राम्रोसँग पढ है,’ आमाले भनिनसक्दै ‘हस्’ भनेर दौडियो।
‘बाबु, आज झोला लैजान पर्दैन?’
अर्जुन झस्कियो।
‘ए साँच्ची! म त त्यसै जान पो लागेछु’ झोला समात्यो, दौडेर गयो।
‘बाबु, विस्तारै जाऊ,’ आमाले सम्झाउँदै भन्नुभयो।
बहिनी पनि एउटै स्कुल जाने भए पनि आ-आफ्नै साथीहरूसँग हिँड्ने गर्थे।
बारीको कुना-कुनाबाट बाटो थियो। भर्खरै मकै स्याहारेर खाली भएको थियो बारी। मकैका ढोडहरू बारीको कुनामा चाङ बनाएर राखिएको थियो। अर्जुनले शर्ट फुकाल्यो र त्यही मकैको ढोडको चाङभित्र घुसाएर राख्यो।
साँझ फर्केर आउँदा फेरि त्यहीँबाट लगाउन भनेर राखेको थियो उसले। साथीहरूसँग भेट्ने ठाउँमा पुग्यो। सबैजना उसलाई नै कुरेर बसेका रहेछन्। सबैजना हिँडे खोलातिर। कहिले माछा खोज्ने, कहिले पौडी खेल्ने, कहिले अरुको खेततिर जाने कुलाको पानी फर्काएर माछा खोजे।
मारेको माछा खोला किनारमै पोलेर खाए। साह्रै रमाए। दिन यसै बिताए। चार पनि बज्न लाग्यो। स्कुलबाट घर फर्कने समय खुब ख्याल गरेका थिए। कसैलाई शंका नहोस् भनेर ठिक समयमा हिँडे।
आउँदा आउँदै सल्लाह भयो- ‘भोलि स्कुल गयौँ भने हिजो किन नआएको स्कुल भनेर गाली खाइन्छ, भोलि पनि नजाऔँ।‘
सबैलाई डर थियो। अर्जुनलाई पनि डर लाग्यो।
‘त्यसो भए कँहा जाने त?,’ अर्जुनले भन्यो।
‘यसो गरौँ, हामी चार जना साथी-साथी मिलेर दिनको एउटा-एउटा कुखुरा सबले आ-आफ्नो घरबाट ल्याउने। ४ दिनसम्म एउटा एउटा कुखरा जंगलमा लगेर पोलेर खाने।‘
कुरो ठिकै लाग्यो सबैलाई। स्कुल गए पिटाइ खाइन्छ, बरु स्कुल नगए मासु खान पाइन्छ। सबै जना घर फर्के। फर्कँदा मकैको ढोडको चाङबाट शर्ट निकाले। हल्का धुलो थियो तैपनि लगाए। घर आए।
अर्जुन स्कुल नगएको कुरा पत्तोसम्म भएन उसको आमालाई। अर्जुन भने निकै सम्हालिएको थियो, थाहा पो पाइहाल्नुहुन्छ कि भनेर। हरेक पटकको कुरा गराइमा सकेसम्म थोरै बोलेर कुरा छोट्याएको थियो अर्जुनले।
बहिनीलाई थाहा थियो। अर्जुनले नभन्न भनेर भनेको थियो।
गरिबीका कारण अर्जुनका बुबा मलेसिया गएका थिए। धेरथोर पैसा कमाउथे र उनको घरको जीविका चल्दै थियो। दुवै जनाको ठूलो सपना भनेको अर्जुनलाई राम्रो मान्छे बनाउनु थियो। राम्रो जागिर खाने मान्छे बनाउने धोको थियो।
उसैअनुसार बुबाले विदेशमा र आमाले घरमा निकै मेहनत गरेका थिए। तर खै अर्जुनले बाटो बिराउन लागेको पत्तै भएन।
भोलिपल्ट आमा बिहानै घाँस काट्न जानुभयो। अर्जुनलाई पनि ठ्याक्कै मौका मिल्यो। घरमा भएको एउटा कुखुराको भाले समातेर झोलामा हाल्यो। आमा नआइपुग्दै स्कुल जान भनी हिँड्यो।
कुखुरा हराएको थाहा हुन्छ भनेर, उनले बुद्धि लगायो। बनविरालोले लगेको हो भन्न पार्नलाई घरबाट नजिकै जंगलसम्म भुत्लाहरू लहरैसँग खसाल्दै खसाल्दै गयो। अनि फेरि फर्केर स्कुल जाने बाटोमै गयो।
हिजोको दिनझैँ फेरि शर्ट फुकालेर मकैको ढोडको उही चाङमा राख्यो। उसैगरी साथीहरूसँग भेट भयो। एउटा ठाँउमा जाने निर्णय गरे र गए पनि।
त्यो दिन अर्जुनले कुखुरा लग्यो, अर्को दिन अर्को साथीले ल्याउँदै पालैपालो चार दिनसम्म कुखुरा खाने काम गरे। स्कुल गएर शिक्षकहरूको अर्ति खानुभन्दा त यसरी मासु खानु खुब आनन्द माने उनीहरूले।
स्कुले जीवन रमाइलो हुन्छ भन्ने कुरा हो-हो जस्तो लाग्यो। अहिले मासु खाएर परीक्षामा आलु खाइएला भन्ने कसैले पनि सोचेनन्। अर्जुनको दैनिकी शर्ट उही मकैको ढोडको चाङमा राखेरै हिँड्ने, फर्कँदा लाएर आउने।
त्यस दिन फरक घटना भयो। अर्जुनको आमाले बारीको सरसफाइ गर्दा बारीमा मकैको ढोडका झाङहरू सबै पोलिदिनु भयो। विचरी ती आमालाई के थाहा, त्यो चाङभित्र आफ्नै छोराको शर्ट छ भनेर। पोलिएर सकिँदासम्म पनि थाहा भएन।
थाहा होस पनि कसरी? न उसले भनेको थियो, न देखिने गरी राखिएको थियो, न त शंका नै थियो। अर्जुन उसैगरी चार बजेपछि घर फर्किँदै थियो। बारीको छेउ आइपुग्दा त्यो चाङ नै थिएन।
अब भने अर्जुनको मनमा चिसो पस्यो। जहाँ मकैको ढोडको चाङ थियो, त्यहाँ खरानी मात्रै छ।
अर्जुनको मनमा दुई वटा कुरा खेल्न थाल्यो। कि त्यो चाङभित्र आमाले शर्ट भेटाउनुभयो, कि आगोले पोलियो। आखिर जे भए पनि अर्जुनलाई पर्नु तनाव पर्यो।
बाठो भएर आमालाई सोधुँ भने पनि के भनेर सोध्ने? नसोधुँ त आमाले सोध्नुहुन्छ कि भन्ने तनाव। अर्जुनले घरमा पाइला के टेकेको थियो, आमाले सोध्नुभयो- ‘खै त शर्ट बाबु?’
ऊ अक्क न बक्क भयो। केही बोलेन पनि। बरु सोध्न मन हुँदो हो, हजुरले देख्नुभयो कि भनेर। तर हिम्मत आएन।
आमाको आँखामा पनि हेर्न सकेन। केही न केही गडबड छ भन्ने कुरा आमाले बुझिसक्नुभयो।
हरायो भनौँ भने ज्यानमा लगाएको शर्ट कसरी हराउँथ्यो? के भन्ने, के नभन्ने। रातैपिरै भयो अर्जुनको अनुहार। उसले अर्कैतिर फर्केर आमालाई सोध्यो- ‘बारीमा मकैको ढोडको चाङमा शर्ट राखेको थिएँ, हजुरले देख्नुभएन?’
‘मैले त बारीका झाङ सबै पोलिदिएँ त। अनि त्यहाँ शर्ट राखेर कहाँ गाको नि?’
केही भन्न सकेन उसले। आमाले कुरा बुझिसक्नु भयो। घरको कुखुरा चोरेर लगेको पनि भनेका थिए छिमेकीले। त्यो पनि हो जस्तो लाग्यो। असल मान्छे बनाउने सपना बाकेकी आमाको मनमा कति चोट पर्यो होला!
सहन सक्नुभएन आमाले। गाली गर्न थाल्नुभयो। एकैछिन बेस्सरी गाली गर्नुभयो। जब गाली सुरु भयो, अर्जुन डौडिन थाल्यो। बारीका अग्ला-अग्ला कान्लामा हाम फाल्दै। आमा पछि-पछि जानुभयो।
आमालाई फेरि चिन्ता, हामफाल्दा केही हुने हो कि! एक्लो छोरो। फेरि सम्हालिँदै ‘ए बाबु, ए मेरो राजा’ भन्दै मायाले बोलाउनुभयो।
गहभरि आँसु भए तर पनि छोरा कुद्न छोडेन।
‘आऊ बाबु घर, म केही गर्दिनँ। आऊ राजा, मेरो राजा।‘
नेपालमा राजाको दिन गइसकेको थियो। ती राजाको दिन गए पनि नगए पनि आमालाई के को स्वाद। मायाले राजा नै भनेर बोलाउनुभयो।
किन गाली गरेँ होला? सम्झाउँदै भनेको भए यसरी भाग्ने थिएन होला भन्ने लाग्यो।
त्यति भनिसकेपछि छोरा डराइ-डराइ घर फर्कियो। जे हुनु भैगयो। अब गाली नगर्ने मन बनाइन्। त्यो दिन धेरै कुराकानी भएन।
खाना खान बोलाउँदा पनि आएन। खाना पनि खाएन। यत्तिकै सुत्न गयो। अर्जुन निदायो होला कि नाई? भोक लाग्यो होला। पटक-पटक बोलाउन जानुभयो आमा। तर अर्जुन बोलेन।
भोलिपल्ट आमाले नरिसाई सबै कुरा सोध्नुभयो। उसले सबै-सबै साँचो कुरा भन्यो। अब त्यस्तो नगर्ने वाचा गर्यो।
वार्षिक परीक्षाको नतिजा हेरेर स्कुलबाट फर्केकी बहिनीलाई आमाले सोध्नुभयो- ‘पास भइस् त?’
‘म त पास भएँ।‘
आमाले कुरो बुझिहाल्नुभयो। म त पास भएँ भनेपछि दाइ पक्कै फेल भयो। तैपनि सोध्नुभयो- ‘अनि दाइ?’
दाइको आँखामा पुलुक्क हेरेको दाइ रिसाए। बहिनीले केही भनिनन्। अब त झन् नभनेरै पनि बुझिसक्नु भयो।
छोराको मन कसरी पढाइमा फर्काउने होला! आमालाई चिन्ता पर्यो। निद्रा पनि राम्रोसँग परेन। चिन्ता र निन्द्राको विपरीत सम्बन्ध हुँदोरहेछ। कहिले कता, कहिले कता कोल्टे फेर्दै सुत्ने प्रयास गर्दा पनि निन्द्रा परेन।
जता कोल्टे फेरे पनि छोराको भविष्यको चिन्ता मात्रै मनमा आइरह्यो। थुप्रै कुरा सोचिन् रातभरिमा। नयाँ सालको लागि ड्रेस किन्नुपर्ने भयो, किताब कापी किन्नुपर्ने भयो। फेल भएपछि पुरानै किताब छ। अर्जुनको लागि त किन नयाँ किन्नु, बहिनीको लागि चाहिँ नयाँ किनिदिनु पर्ला भनेर अर्जुन र बहिनीलाई लिएर आमा दमौली बजार जानुभयो।
बहिनीलाई नयाँ किताब, कापी र ड्रेस पनि किनिदिनुभयो। बहिनीले नयाँ किताब लिएको देखेपछि अर्जुनले पनि नयाँ किताब लिने मन गर्यो।
‘नयाँ किताब किनिदिए सधैँ स्कुल गएर पढ्छौ त?,’ आमाले सोध्नुभयो।
अर्जुनले पढ्छु भन्यो। आमाले उसको रहरलाई पूरा गरिदिनुभयो। अर्थात् बहिनीलाई जस्तै नयाँ किताब, कापी, ड्रेस सबै किनिदिनुभयो। अब भने अर्जुन खुसी भयो।
अर्जुन नियमित स्कुल जान थाल्यो। पढाइ निकै राम्रो हुन थाल्यो। पास हुँदै गयो। एसएलसी पनि दोस्रो श्रेणीमा पास गर्यो। अब भने आमाको मन पनि निकै खुसी भयो। धन्नै नराम्रो बाटोमा हिँडिसकेको छोरालाई असल बाटोमा ल्याउन सक्दा आमाको मन कम्ती हर्षित थिएन।
छोरा पास भएको कुरा छिमेकीलाई, सारालाई सुनाउन मन थियो। आफूले भेटेका र चिनेका जतिलाई सुनाउनुभयो पनि। अब छोराले पोखरा पढ्न जाने रहर गर्यो।
गाउँमै क्याम्पस थिएन। आमाले पोखरा पठाउने सोच बनाउनु भयो। विदेशमा भएका अर्जुनका बाबुसँग सल्लाह गरेर क्याम्पस भर्ना गरिदिनु भयो। पढाइ राम्रो हुँदै गयो। पोखरा पढाउनु घरको पैसाले पुग्दो थिएन। छोराको भविष्यको अगाडि ऋण धन गरेर जोरजाम गर्नुभएको थियो आमाले। तर त्यो कुरा अर्जुनलाई के थाहा?
थाहा दिए छोराको मनमा असर पर्छ कि भनेर आमाले थाहा दिनुभएन। क्याम्पस पढ्दापढ्दै कम्प्युटर सिक्ने इच्छा गर्यो अर्जुनले। यतिकै पनि पैसा पुर्याउन धौधौ भएर ऋण धन गरेर पोखरा पढाएको। अब कम्प्युटर कसरी पढाउनु? फेरि निन्द्रा परेन आमालाई।
सबैभन्दा बढी आमाको निन्द्रा बिगार्ने आफ्नै छोराछोरी हुन्छन् होला सायद। छोराछोरीको जन्मेदेखि सयौं रातका निन्द्राहरू खर्चिनुहुन्छ आमाहरू। कहिले यता, कहिले उता, जता कोल्टे फेरे पनि निन्द्रा परेन। छोरालाई पैसा कसरी पुर्याउने भन्ने मात्रै मनमा खेलिराख्यो।
गाउँमा कसैसँग पैसा मागौँ भने अलिअलि भएकासँग मागिसकियो। अरु कसले देला र? मनमा आफ्नो तिलहरी सम्झिनुभयो। अर्जुनका बाबुले किनिदिनु भएको थियो। त्यही भए पनि बेचेर छोराको लागि पैसाको जोहो गरिदिने विचार आयो।
भोलिपल्टै दमौली बजारमा तिलरी बेचेर पैसाको जोहो गरिदिनुभयो। यसो गरी अर्जुनले कम्प्युटर पनि सिक्यो। कक्षा १२ सम्मको पढाइ पनि सक्कायो। अब भने घरको आर्थिक स्थितिबारे अर्जुन जानकार भइसकेको थियो।
विदेश जाने कुरा चल्न थाल्यो। नगई पनि सुख भएन। दुबई गयो। एक कम्पनीमा काम सुरु गर्यो, सेल्सम्यानको रुपमा। अर्जुनले निकै इमान्दारी र मेहनतले काम गर्यो। सेल्स्म्यानको रुपमा काम गर्दा एक जना ग्राहक अर्जुनको कामबाट निकै प्रभावित भएर उसको कामको प्रशंसा गर्दै मिल्छ भने उसको प्रमोसनको लागि एउटा चिट लेखेर कम्पनीको मालिकलाई दिए।
त्यो चिट पाएपछि अर्जुनलाई बोलाए र भने- ‘तिमीलाई ग्राहकले निकै मन पराउँदा रहेछन्। तिम्रो सेवाबाट प्रभावित भएका छन्। त्यसैले तिमीलाई टिम लिडरको रुपमा काम गर’ भनेर प्रमोसन लेटर दिए।
कार्यालयको व्यापारिक अभिलेखहरू कम्युटरमा एकदमै राम्रो दख्खलताका साथ चुस्तदुरुस्त राखे। एक वर्ष बित्दा बिवित्दै फेरि एक तह माथिको प्रमोसन पाए।
यता गाउँमा उनका दुई जना साथीहरू गाउँको केटाहरूसँग लडाइँ गरेको हुनाले जेलमा छन्। अर्जुनको अमाले समयमा नै सही बाटोमा नल्याएको भए अर्जुनको पनि कहाँ यस्तो प्रगति हुन्थ्यो र!
अहिले आमा पनि निकै खुसी हुनुहुन्छ। बेलाबेलामा आमालाई पैसा पठाइदिन्छ अर्जुनले। उसको पढाइमा भएको सबै ऋण तिरिसक्यो। सामान्य घरलाई ढलान सहितको घर बनाउने गरी पैसा पनि वचत भएको छ। घर
फर्केर केही गर्नको लागि लगानीको पीर छैन। एकदिन बहिनीसँग फोनमा कुरा गर्दा आमाले तिलहरी बेचेर आफूलाई पढाएको कुरा थाहा पायो। घर फर्किँदा ठूलो तिलहरी ल्याइदिने योजना बनाएको छ।
आमा भने अब अर्जुनको आगमनको प्रतीक्षामा हुनुहुन्छ। अर्जुन आउनेवित्तिकै सोध्न मन छ- ‘बाबु, तिमीले कुखुराको मासु खुब रुचाउछौ। तिम्रो लागि थुप्रै कुखुरा पालेको छु, जगंल लगेर खाने कि घरमै खाने? जति खाए नि खाऊ। तर अहिले भुत्ला खसाल्दै जंगल लानु पर्दैन।‘