गुरु,
यदि तपाईंले भनेजस्तो
जीवन आफैमा भ्रम हो भने
मेरा लागि
भ्रम नै सत्य हो
सत्य नै भ्रम हो।
घोर्ली बाख्रोको पाठो नाच्दा
नाच्छ मेरो मन
उडेका चरा मनपर्छ
फुलेका फूल, हरिया पात
सुकेका रुख, झरेका पात
ङ्वारर गर्ने बिरालो
नाके डाँडो, भिरालो
लडिरहेको ढुङ्गो
बगिरहेको नदी
सबै सत्य लाग्छ
सत्य सबै यिनै लाग्छन्
कर्मेन्द्रीयले कर्म गरोस् भन्छ मन
ज्ञानेन्द्रीयले विचरन गरोस् भन्छ
सुखेन्द्रीयले भोगोस् भन्छ
सत्यमा रहेर
गुरु,
यिनै सत्य मेरा लागि
यदि
यो भ्रम हो भने
मलाई भ्रम मै बाँच्न देऊ
मेरा लागि भ्रम नै सत्य रहून्।
गुरु
मलाई कालो, सेतो, रातो, निलो सबै सत्य लाग्छ
मलाई घाम, पानी, हिउँ र असिना सत्य लाग्छ
मलाई मेरो छोरो पनि
र उसकी छोरी पनि सत्य लाग्छ
मलाई सन्त सत्य लाग्छ
मलाई चोर सत्य लाग्छ
मलाई माया गर्ने सत्य लाग्छ
मलाई घृणा गरून् सत्य नै लाग्छ
मलाई चाउरिएका बाका गाला सत्य लाग्छ
मलाई कुप्रिएकी आमा सत्य लाग्छ
म आकाशमा भिड देख्छु
सूर्यको तेज डगमगाएको देख्छु
जे जुन रुपमा छ
त्यो त्यही रुपमा होस्
मेरा लागि सत्य त्यही हो
यदि यो भ्रम हो भने
भ्रम नै सत्य हो
गुरु,
म भ्रम मै रमाएको छु।
गुरु,
मलाई ठगेर पाइने परमसत्य चाहिएन
मलाई लुटेर पाइने परमानन्द चाहिएन
मलाई झुक्काएर जाने स्वर्ग चाहिएन
अरुलाइ दलाएर पाउने दिव्यज्ञान नहोस् बरु
आफूलाई झुक्काएर ब्रह्मज्ञानी भन्नु नपरोस्
जटिलताको साङ्लोमा फस्न नपरोस्
अपराधीको मतियार बन्नु नपरोस्
मेरो सत्य सरल छ
गुरु,
यहि हो मेरो लागि सत्य
निर्विकार, निर्गुण र निराकार
यदि यो भ्रम हो भने
भ्रम नै सत्य हो
सत्य नै भ्रम हो।
गुरु,
सत्यका घर
सत्यका इट्टा र सत्यका सिमेन्टले बन्छन्
न कि
सत्यमा ढोङका जलप लगाएर
ढोङ्को लेपन खुइलिँदैन र गुरु?
नत्रभने
आश्रममा बन्दुकका चाङ किन?
गुरुका धोती धुने सुसारेको लाइन किन यति लामो?
गुरु,
सत्य पुग्ने बाटो सत्यको हुन्छ
झुटको हुँदैन।
सत्यम शिवम सुन्दरम्
सत्यम शिवम सुन्दरम्।