भोकका कथा
कसरी हुन्छन् यति स्वादिला?
सायद बावर्चीजस्ता कथाकारहरू
सायद काव्यिक बिम्बहरू
या चास्नीमा चोपिएका पटकथाहरू?
मसलाहरू
यसरी पिसिन्छ
कि एउटा ठूलो दूधकुण्डबाट
मथेर निकालिन्छ नौनी।
कहिल्यै नअघाउने महंगा लेन्सहरूले
चपक्क अंगालेर अँगालोमा
प्रकाशको लेप दलिदिन्छन्।
नमिलेका मुख वरिपरीका काला कोठीहरू
सर्लक्कै उडाइदिन्छ क्रप गरेर
अनिन्द्राका धब्बाहरू
चम्काइदिन्छन् फिल्टर हालेर।
भोकका कथा
यसरी हुन्छन् स्वादिला
र बेचिन्छन् पैसामा
र किनिन्छन् पैसामा
र सजाइन्छन् डाइनिङका ती भित्ताहरूमा
जतापट्टि
फर्किएका हुन्छन् खाएरै नथाक्ने
मानवताका ठेकदारहरूका
सेवाका भारी बोक्ने ओसिला ढाडहरू।