म चाहन्नँ
मेरो यो पीडा त्यहाँसम्म पुगोस्
जहाँ शासकहरू निदाएको छ
म सुनाउन चाहन्नँ
कानमा तेल राखेर बस्ने शासकलाई
बाटोमै सुत्केरी बेथाले मुर्छित भएको कथा
म देखाउन चाहन्नँ
बहुरुपी शासकलाई
दाइजोको निहुँमा कुटिएकी चेलीको घाउ
किन? प्रश्न आउन सक्छ
किनकी
उहिल्यैदेखि
सत्ताको लागि खुइलिए सिद्धान्तहरू
सत्ताकै लागि मैलिए वादहरू
सत्ताकै लागि च्यातिए मानवताको किताब
स्खलित भए नोटको लागि
नांगो भए भोटको लागि
ए शासक
भूमिहीनलाई लखेटेर
भोकालाई लात बजाएर
तिर्खाएका युवालाई मरुभूमिमा अलपत्र छाडेर
बिरामीलाई उपचार नदिएर
अशिक्षितलाई शिक्षा नदिएर
भुइँमान्छेलाई महंगी दिएर
अन्तिममा शासकलाई प्रश्न
यो कस्तो शासन हो?