स्वागत भएरै आगत बिम्बको
विगत छाडेर हिँडदै गरेका पथ
घामका पाइलाहरुको यात्राजस्तै
सुनौलो रंग बाँड्दै सगरमा
खुसी हुनका लागि हाँस्दै छन्
फेरि एकपल्ट पहेंलो रंगमा।
अस्तित्व निराधार तिमीसँग
तिम्रो भूतकालमा म थिएँ
अहिले पदचाप संगीतमय छन्
छुटेका हरेक पाइलाहरू भन्छन्
हुनुपर्ने जे थियो बेसै भयो।
मुटु अहिले हस्तक्षेप गर्नेगर्छ
तँ अब त खुसी हुनैपर्छ
म पनि हरेक बहानाहरूलाई
एक-एक गर्दै खुसी बनाउँदै छु
चाहे तिमीसँग होस् या तिमीबाहेक
मस्तिष्क सधैं इमान्दार नै छ
हरेक द्वार राम्रोसँग खोल्ने गर्छ।
भविष्यका कुरा गर्नुपर्दा
तिमीलाई श्राप दिन चाहेन कहिल्यै
मन न हो मेरो, हारेन कहिल्यै
खुसी छ, नाच्छ, गाउँछ तर मर्दैन
तिम्रो जस्तो चाहना कहाँ हो र निमोठ्ने
कोपिलाहरू निर्वाद फक्रिन्छन् भित्रै
यति ठूलो मन बोकेर फूलै रोपियो
आँगन सधैँ मगमगायो मभित्रै।