आवाजविहीन बस्तीबाट
सिरेटो छिचोल्दै
गाँसको आशमा चाउरिएको अनुहार
सन्तानको पिरले थलिएको मन
जिउदो शरीर मृत पन
सहयोगको याचना गर्दै
एक वृद्ध चिहाइरहेछन्
सरकारी अड्डा
लौ न हाकिम साब
केही त गरिदिनु पर्यो!
पोहोरको फसल रहेन
दुहुनो गाई रहेन
फसल हुरीले खायो
गाई चिड्कोले
म सत्य भन्दैछु
झुट्ठा ठहरे हत्कडी मार्नू
झुपडी बरु नामसारी गर्नू
जसरी हुन्छ मेरो गर्जो चाहिँ टार्नू
लौ न हाकिम साब
यत्ति त गर्नू
कृपा नै हुन्छ भोको पेट भर्नू
मनको बह खै कसलाई पोखुँ
सखिया मेरी सुख दिन्याछु भनेर लियाको
छिमेकी मेरा राम्रोमा अर्ज्याको
दाजुभाइ सबै हुँदाका आफ्ना
रित्तो यो खल्तीमा सहारा दिलाइदेऊ
हुँदैन भने विषै पिलाइदेऊ
लौ न हाकिम साब यत्ति
सिफारिस मिलाइदेऊ
गरिबको ओठमा अमृत
पिलाइदेऊ
लौ न हाकिम साब यत्ति त
मिलाइदेऊ।
छिमेकी मेरा मधेस पसे
म यतै बसेँ, अहिले फसेँ
उबेला लाग्थ्यो जन्म ठाउँ छाड्दिनँ
बाबुको इज्यत माटोमा पार्दिनँ
म हार्दै हार्दिनँ
किसानको छोरो हुँ
पाखुरी बजार्छु
तर
आजको यो दिन उदासी लाग्छ
सखिया सम्झन्छु
वाचा सम्झन्छु
दुःख दिँदैन भनेर लियाको
उस्!
हरेक साँझ रोयार बिताइछ
त्यसैले
लौ न हाकिम साब हस्ताक्षर गर्दिनुस्
मन मेरो भर्दिनुस
पापी यो पेटमा
अमृत छर्दिनुस्
यत्ति त गर्दिनुस्!