म जन्मिएँ अनि हुर्किंदै गएँ। बालापन निकै रमाइलो अनि प्यारो पनि। खुसी थिएँ। घरमा हरेक चिज, प्रत्येक कुरामा आफ्नो हक जताउँथें। सबै मेरो अनि हाम्रो भन्ने गर्थें। यो मेरो सानो खुसीको संसार मेरो हो मात्र मेरो। यो मेरो परिवार कति प्यारो अनि मेरो घर कति राम्रो भन्ने गर्थें।
कोही साथीसँग झगडा हुँदा पनि ‘पख न! मेरो घर, मेरो घरको बाटो नजिक आउलास्’ भन्ने गर्थे। समयसँगै हुर्किंदै गएँ। समाजका हरेक रीति, चालचलन बुझ्दै गएँ। सामाजिक परिवेशमा मलाई हिँड्न, खान, बस्न, बोल्न, हाँस्न, सहन, सबै सिकाइयो। तत्पश्चात् म पनि यी र यस्तै धेरै कुरामा अभ्यस्त भएँ। उमेरसँगै मेरो सिकाइ बढ्यो, सिकाइ सँगै बुझाइ।
जब बुझ्न थालें, तबमात्र महसुस हुन थाल्यो, यहाँ मेरो त केही रहेनछ। मैले हाँस्न पनि सिकाएबमोजिम हाँस्नुपर्ने रहेछ। बोल्न, बस्न, मलाई सिकाइए अनुसार गर्नुपर्दो रहेछ। मैले ममाथि गरिएका व्यवहार र बोलिएका शब्द चित्त नबुझे पनि सहनु पर्दो रहेछ। यही र यस्तै सिकाइयो मलाई। मलाई लाग्न थाल्यो म नै मेरो होइन रहेछु। आफूले आफैंलाई दोस्रो व्यक्ति र समाजद्वारा परिचालित गर्नुपर्ने रहेछ मेरो भन्ने म नै रहिनँ अब।
कुरा बुझ्दै र सुन्दै जाँदा यो घर मेरो होइन रे! परिवार पनि अर्को हुन्छ रे! यो जन्मेको घर त माइती हो रे!
‘म कतै जान्नँ, अरूको घरपरिवारमा स्थापित भई आफ्नो बनाएर बस्दिनँ’ भनेर जन्मघरमै बसिरहेकी तल्ला घरे काइली दिदीलाई बिहान साँझ आफ्नै आमाबुवा र दाजुभाइले नै कुरा काट्दै हिँडेको देखेँ।
गाउँभरी जहाँ जाँदा पनि त्यही कुरा सुनिन्थ्यो। मलाई लाग्थ्यो विचरी काइँली दिदीको आफ्नो कमाइ छ। पढे/लेखेकी छिन्। सुखले बस्न त दिनु नि! कसैलाई पाल्नु परेको त छैन। मलाई पनि यस्तै गर्छन् होला। हिजो आमाले जे गरिन् मैले त्यही गर्नुपर्छ भन्ने छैन। म आफ्नो जीवन जसरी पनि जिउन सक्छु। मात्र कसैले हस्तक्षेप नगरिदिए पुग्छ भन्ने सिद्धान्त बोकेकी म पनि यही समाजका नमिठा कुरा, नराम्रो नजर र घिनलाग्दो व्यवहारले सोचाइ परिवर्तन गर्न बाध्य भएँ।
अब मलाई यो घर, परिवार, समाजजस्ता अनेक कुरा साँच्चै आफ्नो हो जस्तो लाग्दैन। अरू त टाढै जाओस् आमा बुवा पनि आफ्नो लाग्दैन एक दिन छोड्नु पर्छ रे! भन्ने यो मानसपटलमा छाप बसिसक्यो।
आफ्नो नै नभएको घरमा बस्न मन पनि छैन। सबै नेपाली छोरीका कथा अनि व्यथा सुनेर अभ्यस्त ममा कतै ज्युँदै जल्छु कि ? पिटिन्छु कि? अनेक बहानामा नर्कको जीवन जिउनु पर्छ कि? यस्ता हजारौं प्रश्नहरू आफैंभित्रबाट आउँथे। तर पनि हिम्मत गरेँ। पढाइकै सिलसिलामा एउटा साथी भेटें। मनले बुझें। भाग्यमानी रहेछु सोचे भन्दा उत्तम, मेरो सिद्धान्त पनि मिल्ने, मेरा हरेक पक्षको समर्थन गर्ने व्यक्ति जीवनमा आयो। मैले पनि सहमति जनाएँ। हाम्रो कुराकानी हुँदै थियो। घरमा मेरो विवाहको लागि कुरा चलेछ।
पद, प्रतिष्ठा र कूल हेरेर मेरो विवाहको कुरा मलाई जानकारी नभई पक्का भएछ। जब मैले थाहा पाएँ त्यो अव्यवहारिक खोक्रो आदर्श बोकेको परिवारमा आफूलाई सुम्पिनु आफ्नै हत्या गर्नु सरह ठानें। अनि आफ्नो मान्छेसँग सबै बताएँ। दुबै जनाको सल्लाह बमोजिम हामीले भागेर विवाह गर्यौं ।
केही समय रिसाउनु होला माइती तर जीवन धरापमा राख्नुभन्दा उहाँ रिसाउनु नै उचित लाग्यो।
अहिले सबैको सम्बन्ध राम्रै छ। हामी धेरै खुसी छौं । विशेषगरी म धेरै खुसी छु। यो सबै परिवर्तनको आधार म अनि म जस्ता धेरै छोरीको उमेर हो। उमेरसँगै हरेक छोरीका मनमा परिस्थितिका हजारौं कम्पनहरू आउने गर्दछन्।
आफ्नो लागि आफैं नसोचे कसैले राम्रो गर्ला भन्ने अपेक्षा गर्न सकिँदैन।