ऊ र म बोल्न लागेको वर्षौं भयो। हामी फरक जिल्लाका भए पनि एकै सहर अर्थात् बुटवल कोदेविनगरमा बस्छौँ। उसको र मेरो कोठा दुइटा गल्लीको फरकमा छ- म अग्नि पथ, ऊ चाहिँ रेसुङ्गा पथ।
हामी एक्लै-एक्लै बस्छौं। ऊ कालिका कलेजमा पहिलो वर्षमा अध्ययनरत छे, म लुम्बिनी वाणिज्य कलेजमा तस्रो वर्ष।
हाम्रो चिनजान फेसबुकबाट भयो। हामी साथी बन्यौं। मेसेन्जरमा च्याट र कल घण्टौंसम्म गरेर बस्छौँ हामी। कुराकानी केटाकेटीबीच हुने असल साथीको रुपमै हुने गर्छ।
उसले मलाई कसरी हेर्छे थाहा छैन तर मैले उसलाई एक असल केटी साथीको रुपमा हेर्ने गर्छु। हामी दुवैको प्रेमी-प्रेमिका छैन।
केटाकेटी वर्षौं बोल्दैमा प्रेम प्रस्ताव गर्नुपर्छ, लभ पार्नै पर्छ भन्ने भ्रम कम्तीमा हामीले चाहिँ तोडेका छौँ।
उसका र मेरा मिठा-मिठा कुराहरू घण्टौँ हुन्छ। छिल्लेका कुरा केहीँ पनि हुँदैन। ऊ मेरी यस्तो केटी साथी हो जोसँग सकारात्मक सोचेर मात्र कुरा गरिन्छ।
मेरो कतै काम पर्यो भने म उसलाई बोलाउँछु र उसले पनि मलाई सम्झिन्छे। हामी दुई भएर हाम्रो काम सँगै गर्छौं। जस्तो कि बजार जान देविनगरको हाट बजार त हामी सधैं सँगे जाने गर्छौं। कतै मेला जान, पार्क घुम्न, मन्दिर जान पनि सँगै जान्छौँ।
हामी दुईको मित्रता देख्नेले सोचिसके कि यिनीहरू पक्कै मायामा छन्। मेरै साथीहरूले नै मलाई जिस्काउँदै भन्ने गर्छन्- 'के हो केटो, चक्कर त खुबै चलेको छ नि'
म भन्छु- 'हैन यार, साथी मात्र हो। त्यस्तो नसोचाओ न!'
उनीहरू कसरी विश्वास गरून? जब कि उनीहरूको यस्तो केटी साथी नै छैन र बनाउन पनि खोज्दैनन् सायद।
लभ पार्नकै लागि केटीसँग बोल्ने र प्रेम प्रस्ताव स्वीकार नगरे केटीलाई गाली गर्ने तथा ब्लक गर्ने, अर्को नयाँ केटीलाई फ्रेन्ड रिक्वेस्ट पठाउने, बोलाउँदा नबोले अनफ्रेन्ड, ब्लक त्यसै गर्ने साथीलाई के थाहा हामीबीचको मित्रता!
खैर! सोच्नेले सोचून, केहीँ छैन। उसको मनको भावना त म बुझ्न सक्दिनँ तर म चाहिँ त्यस्तो केहीँ सोचेको छैन र आशा गर्छु उसले पनि साथीकै रुपमा बोलेकी हुनुपर्छ।
एक दिनको कुरा हो, हामी बुटवलको सिद्धबाबा मन्दिर घुम्न जाने योजना बनायौँ र सँगै घुम्न गएका थियौँ। यसै क्रममा देविनगरबाट ई-रिक्सा चढेर पाल्पा बसपार्कसम्म पुग्यौँ। गाडी चढेर सिद्धबाबा मन्दिरतर्फ लाग्यौँ।
केहीँ मिनेटको यात्रापछि हामी सिद्धबाबा मन्दिर पुग्यौं। मन्दिरको ढोका अघिबाट भगवानलाई ढोग्दै उसले के-के वर मागेकी हुन्छे। दर्शन सकेर हामी मन्दिर परिसर घुम्दै फोटो, सेल्फी खिच्छौँ।
यत्तिकै घुम्ने बेला मेरो मनमा कुरा खेल्न थाल्छ, उसले के मागी होली? कतै यो केटोले मलाई प्रस्ताव गर्ने शक्ति देऊ भगवान भनेर पो मागी कि! यस्तै यस्तै मनमा अनेकौँ प्रश्नहरू खेलाउँदै हिँडेको बेला उसले म टोलाएको देख्छे।
भन्छे- 'कता के सोचिरहेको तपाईंले ह?'
म झस्किँदै भन्छु- 'ए! केहीँ हैन, केहीँ सोच्या छैन' म आत्तिँदै भन्छु।
एकछिनपछि सोच्छु, हैन उसले मप्रति यस्तो सोचेर बोलेकी हैन, मेरो इमान्दारिताले ऊ साथी बनेकी हो। यस्तो गलत सोच्नु हुँदैन।
अर्को मनले भन्छ- हैन कि यसले मलाई मन पो पराउँछे कि? हैन भने किन सबैले बोइफ्रेन्ड बनाउँदा यसले नबनाइ बसेकी होली त?
फेरि आफूलाई हेर्दै भन्छु- तैट लाटा! तेरो पनि तगलफ्रेन्ड छैन। तैँले चाहिँ किन नबनाएको त?
आफै निष्कर्षमा पुग्छु।
यतिकैमा हामी मन्दिर घुमेर थाकिसकेपछि बुटवलतिर पाल्पाबाट फर्कंदै गरेको बसमा फर्किन्छौँ। गाडीमा एउटा सिट मात्र खाली हुन्छ। म उसलाई सिटमा बसाल्छु र आफू छेउमा उभिन्छु।
हामी २० मिनेटपछि बुटवल बसपार्क आइपुग्छौँ। त्यहाँबाट हिँडेर हामी हाम्रो कोठा देविनगरतिर फर्कने क्रममा मिलन चोकमा रहेको एउटा खाजा घरतिर लाग्छौँ।
म उसलाई खाजा के खाने भनेर सोध्छु। उसले मैले जे खाने त्यही नै खान्छु भन्छे। म पनि उसकै शैलीमा उत्तर दिन्छु- 'तिमी जे खाने म त्यही खाने, तिम्रो चोइस मेरो चोइस।'
हामी एकछिन गलल हाँस्छौं।
मेनु जति पल्टाए पनि रुमदेखि नै सोचेर गएको ममः नै रोज्छु र उसलाई पनि सोध्छु। ऊ मुस्कुराउँदै टाउको हल्लाउछे।
हामीले दुई प्लेट चिकेन ममः अर्डर गर्यौं। खाजा आउने बेलासम्म मेरो मोबाइलबाट खिचेको फोटोहरू उसको मोबाइलमा शेयर गर्दै फोटो हेर्दै बस्छौँ।
त्यत्तिकैमा ममः आइपुग्छ। हामी ममः खाएर बिल तिर्छौं। २०० रुपैयाँ म दिन्छु, १०० रुपैयाँ उनी तिर्छिन्। मसँग ३०० रूपैयाँ थिएन पनि। जागिर भए पो, घरबाट मागेको पैसा न हो।
हामी रुमतिर फर्कन लाग्छौँ। फर्कने क्रममा मिलन चोकबाट देविनगर जाने बाटोको तीनकुने चोकमा एउटा चटपटको ठेला देखिन्छ जहाँ म प्रायः चटपट खान एक्लैसम्म आउने गरेको छु। कारण साथीहरूलाई चटपट मन नपर्ने भएकोले मलाई साथ दिदैनथे। कहिलेकाहीँ जिद्दी गरेर सँगै लेराउथेँ।
त्यो दाइको चटपट मलाई सबैभन्दा याद आउने ठेला हो। मैले कयौँ रात त्यही चटपट खाएर गुजारेको छु खानाको सट्टा पनि। दाइको चटपटको जति तारिफ गरे पनि मलाई पुग्दैन।
एक्लै त खान आउने म आज त झन् मिल्ने साथी सँगै छिन्। कहा खान छोड्ने? उसलाई चटपट खान आग्रह गर्छु। उसले सहजै स्वीकार गरी।
मैले दाइलाई ३०-३० रुपैयाँको दुई ठाउँमा चटपट बनाइदिनु भनेँ। चटपटवाला दाइले हामी दुईलाई देखेर जिस्काउँदै दुई ठाउँमा भन्दा ५ रुपैयाँको एकै ठाउँ खानूस् न भने।
उसले पनि त्यस्तै गर्दा हुन्छ, एकै ठाउँमा बनाइदिनूस् भनिन्।
म हतारिँदै दुई ठाउँमा नै बनाइदिन भन्छु सजिलो हुन्छ भनेर। तर विचरा तिनीहरूलाई के थाहा म कसैको जुठो खादिनँ भनेर।
दाइले पिरो कति खाने सोध्नुभयो। मलाई पिरो मनपर्ने तर उनले भनिन् पिरो कम।
'ह्या! कस्तो के तिमी, अमिलो-पिरो नखाने भए किन चटपट खानु? घरमै भुजा चाउचाउ मिसाएर खाए भैगो नि।'
छेउमा भएका मान्छेहरू हाँस्छन्। उनी हल्का लजाएर अब पिरो खान्छु भन्छिन्।
हामीले चटपट खाएर सक्छौँ। चटपटको पैसा उसले तिरी। सायद अघि ममःको बिल चुक्त्ता गरेकी होली! अनि हामी रुमतिर फर्कियौँ।
यो त कुनै एक दिनको कुरा हो। यस्तो त हामी धेरै बाहिर घुम्न हिँडेका छौँ।
त्यो दिन रुम पुगेर फेरि एक मनले सोच्छु, हैन म पो सकारात्मक सोचेर बोलिरहेको छु। ऊ कतै मलाई चाहेर पनि व्यक्त गर्न नसकेर चुपचाप पो छे कि!
कतै उसको भावना मैले पो बुझ्न नसकेर मित्रताकै रुपमा बोलिरेहेको पो छु कि!
कतै उसले मलाई कस्तो केटा रहेछ अहिलेसम्म प्रस्ताव गर्दैन भनेर छोडेर जान पो तयारी गर्दै पो छे कि!
नत्र भने यत्रो वर्ष किन बोइफ्रेन्ड नबनाकी होलि है?
आफ्नै मनलाई सोध्छु। फेरि अर्को सोझो र इमान्दार मनले भन्छ, हैन उसले पनि मलाई मैलेजस्तै सोचेर बोलिरहेकी होली। बेकारमा किन नराम्रो सोच्नु उसलाई? उसको जस्तो सफा मन अरुको पक्कै छैन होला। म साथी नै ठिक छु!
किन केटा र केटी बोल्नेबित्तिकै माया प्रेम गाँस्न पर्छ र? केटाकेटी पनि त मिल्ने साथी बन्न सकिन्छ, कि सकिँदैन? हैन सकिन्छ, हामी सकेका छौँ त।
फेरि आफै आफ्नै मनलाई जवाफ दिँदै फकाउँछु। ऊ मलाई राम्री र असल लाग्छ। मेरो ऊजस्तै जीवनसाथी होस् पनि भन्छु मनमनै तर उही होस् भनेको छैन।
उसले के चाहन्छे मलाई थाहा छैन तर मलाई भने मलाई नै चाहन्छे जस्तो पनि लागेन। तर किन मसँग बोलेकी होला है? यो प्रश्न भने बेलाबेला नआउने हैन। ऊ यत्रो वर्षदेखि उत्ति नै समय दिएकी छ। फेरि मैले पनि त उसलाई समय दिएकै छु र त हाम्रो मित्रता बचेको छ!
उसको र मेरो घण्टौं कुरा हुन्छ। मेरो केटा साथी पनि उही, केटी साथी पनि उही। सायद उसको पनि त्यही भएको छु होला म र हाम्रो सम्बन्ध चलिरहेको छ। सधैंभरि रहिरहोस्, फलोस फुलोस् हाम्रो मित्रताको सम्बन्ध।