बिहानै उठेर झ्यालको पर्दा उघारेँ। ममीले भर्खरै ल्याउनु भएको चियाको कप टेबलमा राखेर कुर्सीमा बसी बाहिर चियाउन थालेँ।
बाहिर मुसलधारे पानी परिरहेकै थियो। लगातार चार/पाँच दिन भैसक्यो यसरी पानी पर्न लागेको पनि। कहिले रोकिने हो केही सुरसार नै छैन।
झमझम परिरहेको पानी, पानीलाई नटेरी छिट्कारिरहेका रुखका पात, नदबिने कोसिस गरिरहेका भुइँका झारहरू, आत्मसमर्पण गरेर पानीसँगै विलिन भएर बगेका माटोहरूले सेतो पानीलाई रातो पानीमा परिणत गराइसकेका थिए।
भनिन्छ मान्छे सबैभन्दा बढी खुसी पानी देखेर हुन्छ रे। कोही-कोही त पानी भनेपछि हुरुक्कै हुन्छन्, पर्नै हुन्न कुदिहाल्छन् शाहरूख खानलेजस्तै हात फिजाउँदै। म पनि पानी लभरमा पर्छु, भिज्न खुब मज्जा लाग्छ।
तर भिजाइको अन्तर फरक हुने रहेछ। भिज्न पनि यसरी भिजियोस् न कतै हिँड्दा हिँड्दै चरक्क चर्केको घामको कुनाबाट पसिना बगाउने गरी फिरफिर पानी परोस्, तब न रमाइलो। यो अविरलको झरीमा हामफाल्न यो पटक मनले मानेकै छैन।
एउटा कुरा भने मान्नै पर्छ, यो तीन/चार दिनको अन्तरालमा नक्कली वर्षाको आवाज मोबाइलमा लगाएर निदाउने कोसिस भने गर्नु परेकै छैन। नत्र भने कैयौं पटक त्यसरी नै निदाएको छु म।
मोबाइलमा गड्याङ्गुडुङ गर्दा तर्सिएजस्तो गरेर, पानी र बतासको संगमलाई आफ्नै छेउ भएको अनुभव गरेर निदाएको छु म। ती नक्कली आवाजले यो पानीको के छेउ भेट्न सक्थे र?
चियाको चुस्कीसँगै मन अझै बढी घोत्लिँदै छ।
सररर हावा चल्यो, झ्यालभित्रै आयो। मुटु एक्कासी जिरिङ्ग भयो।
जब पानी पर्छ तब म भने विगतमै फर्किने गर्छु र सम्झिन्छु एउटा नाम- प्रश्ना!
प्रश्ना कुनै समयमा यो संसारकै सबैथोक लाग्थ्यो मलाई। हाइड्रोजन र अक्सिजनको मिश्रणबाट पानी बनेझैं, पानीका आयामबाट हामी बनेका थियौँ।
दशैँको बेला थियो, सबै घरका युवाहरू मिलेर लाहुरे बाको खाली जग्गामा लिङ्गे पिङ हालेका थियौँ तर पनि अन्य विविध कामले गर्दा म भने पिङ खेल्न गएको थिइनँ।
दशैंको दिन आफन्तसँग टीका लगाइसकेपछि वर्षमा एक पटक धर्ती छोड्न पर्छ भन्ने हाम्रो संस्कारअनुसार म निधारमा टीकासँगै लाहुरे बाको घर छेउमा रहेको लिङ्गे पिङ भएतर्फ सोझिएँ।
पिङ खेल्न पालो कुर्नेहरूको भिडभाड थियो। पालैपालो पिङ खेल्दै थियौँ। एक्कासी आकाशमा बादल मडारिन थाले, घामका झुल्काहरू बादलसँग लुकामारी गरेझैं देखिन्थे। घरी बादल घरी घाम, यत्तिकैमा फिर-फिर पानी पर्यो, पानीको बहाब बाक्लियो, सूर्य पनि एकैसाथ चम्किँदै थियो। हामी यस्तो अवस्थालाई भनिदिन्छौ- 'घाम पानी स्यालको बिहे।'
सबै लाखापाखा लाग्न थाले, म भने पानीको झड्कालाई शरीरमा महसुस गर्दै थिएँ। यत्तिकैमा कोही मेरो पछाडिबाट हुत्तिएर पिङ भएतर्फ दौडियो। पछाडिबाट राम्रोसँग नियाल्न नपाउँदै उक्त व्यक्ति पिङमा बसेर म उभिएको दिशातर्फ फर्कियो।
केही पलको लागि हाम्रो नजर जुध्यो। ठूलो निधारमा टपक्क अडिएर बसेका राता अक्षता, जमारा राख्न सजिलो हुने गरी ठाडो पारेर बाँधिएको कपाल, हाँस्न खोज्दा पहिले देखिने दाह्रा, कुर्तामा टिमिक्क मिलेको शरीर, सायद राम्री यस्तै मान्छेलाई भन्छन् होला। मेरो मनले मलाई बताउँदै थियो।
फिरफिरे पानी अब जोडजोडले पर्दै थियो, उसका निधारबाट अबिरका टीका नाकका टाकुरामा ठोक्किदै पखालिँदै थिए। आफैलाई नियालेँ, म पनि त भिजिसकेछु।
'हजुर पिङ खेल्ने हो?,' दाह्राको मुस्कानमा आँखाको इसाराले उसले मप्रती प्रश्न तेर्स्याई।
'तिमीलाई पुग्यो र?,' म लडबडिँदै थिएँ।
'होइन हजुर खेल्ने भए खेल्नु न, म बस्छु एकछिन।'
ऊ झरी, म पिङमा गएँ।
'मच्चाइदिउँ?' ऊ पानीमा छुट्टै उत्साहित देखिन्थी।
मैले अन्कनाउँदै सहमति जनाएँ।
'हजुरको घर ऊ त्यो पहेलो कलरको होइन र?'
मेरो घर कसरी थाहा भयो म मनमनै सोच्दै थिएँ।
'के रे हजुरको नाम, सुदिप हो क्या है!'
म अवाक भएँ।
'कसरी थाहा भयो?' मेरो आश्चर्यचतिक प्रश्न ऊतर्फ तेर्साएँ।
'अब मामाघर आउँदा, छरछिमेकका हेन्डसम केटाहरूको नाम त जानिराख्नु पर्यो भो, हिहि...,' उसले आँखा झिम्काउँदै भनिरहेकी थिई।
अब मलाई धेरै औपचारिकता देखाइरहनपर्छ जस्तो लागेन। 'अनि तिम्रो नाम नि?'
'प्रश्ना।'
हामी पिङ खेल्दै कुराकानी गर्यौं। प्रश्ना ब्याचलर सकेर अब बिदेशमा जाने सोच बनाइरहेकी रहेछ। अझै एक/दुई दिन मामाघरमै बस्ने कुरा सुनाई। म ढुक्क भएँ, हामी फेरि पिङ खेल्नेछौँ भनेर छुट्टियौँ।
म घरतर्फ मोडिएँ।
यत्रो लामोबेर कुराकानी भयो, फोन नम्बर मागेको भए पनि हुने, नभए कमसेकम फेसबुकमा त एड हुन सकिन्थ्यो होला। बरु इन्स्टा नै भनेको भए अलिकति स्ट्यान्डर्ड मेन्टेन हुने थियो। मैले यस्तो राम्रो मौका कसरी खेर जान दिएँ? भोलि फेरि भेट हुन्छ या हुँदैन। हत्तेरिका! म किन यति धेरै नर्भस हुन्छु केटी देखेपछि?
प्रश्नासँग जोडिने मौका मैले गुमाइसकेको थिएँ। मनभरि उसलाई कहीँकतै एड नगरेकोमा पछुतोसहितको भारी मन बोकेर म घर पुगेँ।
भिजेका कपडा चेन्ज गरेपछि म झ्याल छेउमा राखिएको टेबलमा हात राख्दै कुर्चिमा बसेर मोबाइल चलाउन लागेँ। 'टिङ्ग' मोबाइलमा घण्टी बज्यो।
फेसबुकमा आएको नोटिफिकेसन रहेछ। प्रश्नाको फ्रेन्ड रिक्वेस्ट आएको थियो। एकछिन त विश्वास नै लागेन, दोहोर्याएर हेरेँ।
उहीँ निधार, उहीँ कपाल अनि उहीँ दाह्रासहितको मुस्कान।
मैले मौका गुमाएको थिएँ, सायद उसले गुमाउन चाहन्न थिई होला। पलभरमै एसेप्ट क्लिक गरेँ। अब हामी समाजबाट, सामाजिक संजालमा जोडिसकेका थियौँ। म खुसीले गद्गद् भएको थिएँ तर देखाउन कसैलाई नमिल्ने, मनमनै मुस्कुराइरहेँ।
एसेप्ट त गरेँ म्यासेज मैले पठाउँ कि के? फेरि अहिले नै बोल्दा केही सोच्ने पो हो कि? दोधारमा थिएँ।
रिक्वेस्ट एसेप्ट गरेको पलभरमै उताबाट म्यासेज आइहाल्यो- 'हेलो छिमेकी ह्याण्डसम मान्छे।'
जीवनमा अचानक खुसी, उत्तेजना र आनन्दको संयोजनसहितको पलको कुरा कसैले सोध्यो भने, सायद त्यो क्षण नै भन्छु होला म।
'हजुर छिमेकीको भान्जी।'
हाँसेको इमोजिसहित रिप्लाई आयो। त्यो मुस्कान भित्रको दाह्राको परिकल्पना गर्दै थिएँ।
'दाह्रा देखिएन मिस।'
'त्यो त मुखभित्र छ नि।'
अब के रिप्लाई दिने? शब्दहरू फिल्टर गर्न लागेँ। लेख्दै मेट्दै, मनभरि धेरै कुरा छन्, भनौँ कि नभनौँ भयो।
अनि भने- 'ह्याप्पी दशैँ।'
'सेम टु यु, अब पैसा दिनू।'
'केको पैसा?'
'भान्जीलाई केको पैसा हो र? दशैंको दक्षिणा दिनु पर्दैन?'
'मेरो भान्जी हो र तिमी?,' तितो जवाफ फर्काएझैं लाग्यो।
'कति छुच्चो!' उताबाट रिप्लाई आइहाल्यो।
कुनै किताबमा पढेको थिएँ, छोरी मान्छेको ध्यान खिच्नु छ भने केही इग्नोर गरेजस्तो पनि गर्नुपर्छ। सत्य हो वा झुटो साइकोलोजी हो तर मलाई प्रयोग गर्न मन लाग्यो, अनि उसको म्यासेज सीन गरेर छोड्दिएँ।
त्यो दिन हामी थप केही बोलेनौँ।
भोलिपल्ट बिहानै उसको म्यासेज आयो- 'शुभप्रभात सुदिपजी।'
उसको म्यासेज हेरे मनमनै के खालको म्यासेज गर्छ सोचेँ।
'गुड मर्निङ प्रश्ना मिस।'
'सुदिप जीले चिया खाइस्यो?'
'सुदिपजी उठिस्या छैन,' मैले भनेँ।
'अल्छी होइसिँदो रैछ। उठ्नुस अब त।'
यस्तो लाग्दै थियो हामी एकअर्काको परिपूरक बनिसक्यौँ। जिस्कन रमाइलो लाग्दै थियो।
'तिम्रो आज के छ प्लान?' मैले सोधेँ।
'केही छैन, सुदिप जीको नि?'
'म केही प्लान बनाउँ?'
'कस्तो प्लान?'
'डे आउट?'
उसको उपस्थितिको शंका मनमा थियो। हिजो भेटेको आज नै घुम्न जान गाह्रो मान्न सक्ने कुरालाई मेरो मनले शिरोपर गरी पनि सकेको थियो। उसले आज नभ्याउने आशयको बस एउटा गतिलो बहानाको पर्खाइमा थिएँ म। म्यासेज सीन भएर टाइप हुँदै थियो, म उसको बहानाको प्रतीक्षामा थिएँ।
'हुन्छ, कतिबेला?'
उसले मेरो प्रस्तावलाई स्विकारेकी थिई। मेरो शंका गलत निस्कियो। म थप उत्तेजित बनेँ।
हामीले नम्बर साट्यौं। दिउँसो भेट्ने वाचासँगै म बेडबाट उठेर नुहाउन गएँ।
खाना खाइसकेर तयार हुँदै गर्दा अपरान्हको १२ बजिसकेको थियो। मैले उसलाई फोन गरेर अबको ५ मिनेटमा ला आइपुग्छु, चोकमा आएर बस भनेँ। उसले हस् भनेर फोन काटी।
म घरबाट निस्किएँ, ऊ पहिले नै चोकमा आएर बसेकी थिई। मलाई देख्नेबित्तिकै मुस्कुरायहाली, ओठभित्रको दाह्रा फुत्त बाहिर निस्कियो।
हामी त्यहाँबाट सिधैँ नारायणी किनारमा पुग्यौँ। पारिपट्टि चितवन राष्ट्रिय निकुञ्ज, बीचमा फरासिँदै मौन बगिरहेको नारायणी नदी र वारि त्यो मनोरम दृश्यलाई नियाल्न बनाइएको रिसोर्ट थियो। म नयाँ मान्छेहरूलाई प्रायः यहीँ लिएर आउँछु।
मान्छेहरू यो ठाउँमा आइपुगेपछि छुट्टै संसारको अनुभव गर्छन्, यस्तो लाग्छ कोलाहल जीवनबाट छुटकारा मिलेको छ। यस्तो लाग्छ नदीसँगै आफै पनि बगिदिउँ। मन बहकाउनको लागि योभन्दा अर्को संसार हुन्छ जस्तो मलाई लाग्दै लाग्दैन।
बर्खामा नदीले आफ्नो अञ्जुलीमा बोकेर ल्याएको बालुवाले बगर लिपिदिन्थ्यो। त्यो बालुवामा खाली खुट्टा परसम्म दौडिँदै गर्दा लाग्थ्यो कि म कुनै समुन्द्र किनारमा छु।
'कस्तो लाग्यो ठाउँ?' पछाडि फर्किएँ। ऊ त अघि नै त्यो बालुवा किनारमा दौडिन पुगिसकिछ।
'सुदिप, यहाँ आऊ न।'
तपाईंबाट अब तिमीमा झरिसकेकी थिई ऊ।
हामी नदीको छेउमै बनाइएको टहरामा बस्यौँ।
'दाइ के ल्याइदिउँ?' टेबलको छेउमा ट्रे बिसाउँदै पानीको बोत्तल, दुई वटा ग्लास र न्यापकिन पेपर निकाल्दै गर्दा उक्त होटेलको भाइले सोध्यो।
मैले पुर्लुक्क उसलाई नियालेँ। नमिलाइएको कपाल, पुरानो कपडा, आँखामा अनगिन्ती सवाल, उमेरले भर्खर १४/१५ जस्तो।
'बाबु, मेनु छैन?' प्रश्नाले सोधी।
'नाई, भन्नू न के खानुहुन्छ? हाँस ग्रेभी, छोइला, चिकन, सुकुटी, माछा?'
भाइको मुखमा मेनु कण्ठै थियो। खाने कुराको छेउमै सिधा एरो बनाएर राखिने पैसा हेर्ने बानी परेकोलाई मुखले भनेको मेनु अलि अपूरो लाग्ने रहेछ। कुन खानेकुरालाई कतिपर्छ सोध्न पनि नमिल्ने। म मनमनै यस्तै सोच्दै मुस्कुराएँ।
'छोइला खाउँ है सुरुमा?' प्रश्नातर्फ हेरेर सोधेँ।
'हजुरको जे इच्छा सुदिपजी?'
'मेरो इच्छा अरु पनि छ?' मैले भनेँ।
'भन्नाले?' ऊ उत्सुक थिई।
'बियर। हिहि।'
'त्यो नि सोध्ने कुरा हो?,' उसको सजिलो जवाफ थियो।
बियरको चियर्ससँगै हाम्रो कुराकानी सुरु भयो। जीवनका, विगतका, प्रेमका, वियोगका। जति जति हामी मात्तिँदै थियौँ उति-उति सामीप्यता झन् बढी बढ्दै थियो। अगिनै टेबलको वारिपारि बसेका हामी अब एउटै साइडमा थियौँ।
उसको शिर मेरो काँधमा ढल्किएको थियो अनि मेरो एउटा हातमा उसको हात, मेरो अर्को हात फुत्किएर उसको कपाल चलाउँदै थियो।
लगातारको झरीपछि आज आकाश अलिकति खुलेको थियो। घाम चर्किन खोज्दै थियो, टाढाबाट बादलहरू आक्रमणको योजना बनाए जसरी हुत्तिँदै आउँदै थिए। एकैछिनमा आकाशमा कालो बादल झनै मढारिए। गढ्याङ्गुढुङ सुरु भयो। एक, दुई गर्दै पानी फिरफिर पर्न लाग्यो।
'जाम न भिजौँ,' प्रश्नाले मेरो काँधबाटै मतर्फ हेर्दै आग्रह गरी।
म कसरी नाई भन्न सक्थेँ? मोबाइल, पर्सलगायत भिज्न नमिल्ने कुराहरू टेबलमै राखेर। हामी बाहिर निस्कियौँ। मज्जाले भिज्यौँ। वरिपरि कोही थिएन। उसले मलाई आफूतर्फ तानी र आफ्नो ओठ मेरो ओठमा ल्याएर बिसाइदिई।
मेरो कल्पनाभन्दा बाहिरको कुरा थियो त्यो पल। मेरो ढाडमा उसको हात राखे अनि मैले प्रश्नालाई जोडले अगांले। ओठहरूको सालिन संवादपछि ऊ मेरो छातीमा टाँसिएकी थिई। यसरी कि मानौँ म अब उसको भविष्य हो। यसरी कि मानौँ, हामी एकअर्काको लागि बनेका थियौँ र आज भेटियौँ।
पानीको वेग कम हुँदै गयो, अघिका बादलहरू युद्द सकिएको घोषणा गरे जसरी टाढिन लाग्दै थिए, सूर्यले आफू फर्किएको जानकारी मधुर चमकबाट दिँदै थियो। हामी पुन: टेबलमै फर्कियौं। अबको सामीप्यता झन् नजिकको थियो। एकअर्कालाई खुवाउनु नयाँ कुरा थिएन। एउटै ग्लासबाट वियर पिउँदै थियौँ हामी।
'के गरेको प्रश्ना?' मैले हत्तपत्त सोधेँ।
'जुठो खायो भने माया बढ्छ भन्ने थाहा छैन र?' दाह्रा देखाउँदै हाँस्न लागी।
'खाने कुराको हकमा त थाहा थियो, रक्सी जुठो खाएर पनि माया बढ्छ थाहा थिएन।'
हामी दुवैजना जोडले हाँस्न लाग्यौं।
मलाई प्रश्नालाई त्यसरी नै अगांलिरहुँ लागिरहेको थियो। ऊ पनि मसंग सुरक्षित अनुभव गरेकी थिई। छोरी मान्छेले आफ्नो जीवनसाथी उसको बाबाजस्तै होस भन्ने चाहन्छन् रे, जसले सधैँ उसको हिफाजत गरिरहोस्। म त्यो कुरामा पूरै सचेत थिएँ, त्यही अनुरुपको व्यवहारको लागि।
एउटा बिर्सनै नसक्ने जीवनको पल बोकेर हामी साँझतिर घर फर्कियौँ। मेरो बाइकको पछाडि चुम्बक जसरी टाँसिएकी थिई ऊ। चोकमा छोड्ने बेलामा राति फोन गर्न अह्राई।
'झ्याप नभएजस्तो एक्टिङ गर है,' सम्झाएँ।
'त्यति खाएर कसलाई लाग्छ र?' ऊ हाँसी।
हामी छुट्टियौँ।
म आज खुसी थिएँ। खुसी भन्ने शब्द पनि त्यो खुसी व्यक्त गर्न प्रयाप्त थिएन, सायद म त्यो खुसीभन्दा अझै बढी खुसी थिएँ जुन अव्यक्त थियो। खान मन थिएन, ममीको मन राख्दिन थोरै खाएँ।
त्यो रात हामी रातभर बोल्यौँ।
'कहिल्यै बिहान हुन्जेल कसैसँग बोल्नु भएको छ?,' उसले सोधी।
'अँ एक पटक,' मलाई झुट बोल्न मन लागेन।
'ओहो! भनेपछि ब्रो प्रो हो?,' जिस्काएको म बुझ्न सक्थेँ।
'म त कोहीसंग यसरी बोलेको थिइनँ, पहिलो पटक तपाईसंग बोल्दैछु,' उसले थपी।
'होला-होला, के थाहा,' मैले शंकालु पारामा भनेँ।
'कोसँग बोल्ने हो र? भनेछु त पहिलो पटक हो भनेर।'
'ल त नि पत्याएँ, किन रिसाको हो र,' सम्झाउन खोज्दै थिएँ।
'अनि किन त जे पायो बोल्ने? रिस उठाउने होइन है अर्काको छोरीलाई।'
'आफ्नो बुढीलाई त पाइने भो,' मौका किन गुमाउथेँ र म।
जस्तोसुकै मान्छे पनि रक्सी खाएपछि खुला हुन्छ। त्यहीमाथि राती बोल्दै थियौँ हामी। रातका बातहरू प्रायः प्रेमिल नै हुने गर्छन्। जति रात गहिरो बन्छ त्यति कुराहरू गहिरिन्छन्, झनै मजेदार बन्छन्, जिद्दी बन्छन्। हाम्रो सवालमा त्यही हुँदै थियो।
'सिन्दुर हाल्न पर्छ बुढी भन्नलाई। त्यति सजिलो छ र?'
'त्यो पनि दिन आउँछ मिस प्रश्ना, चिन्ता नगर्नुस्,' जिम्मेवार प्रेमीले जस्तै कुरा गर्दै थिएँ म।
'हेरौँला हेरौँला।'
'तिमी चाहन्नौ त्यो दिन आओस भनेर?'
'चाहन्छु।'
म ढुक्क भएँ।
रातभर बोल्यौँ हामी। बिहानको चार बजेतिर सुत्ने सल्लाह भयो, त्यो पनि फोन नकाट्ने सर्तमा। फोन काटिएन, एकअर्काको सास फेरेको आवाज सुन्दै बिहानीपख निदायौँ।
'गुड मर्निङ' लभ इमोजीसहित बिहानै उसको म्यासेज र तीन मिसकल आइसकेको रहेछ। म ढिलो उठेँ।
म्यासेज रिप्लाई गरेर कलब्याक गरेँ।
'म घर फर्किदै छु।'
'हो र? दुई/चार दिन बस्छु भने जस्तो लागेथ्यो त? किन एक्कासी? भन्नु पर्दैन?,' एकैपटक प्रश्नातिर प्रश्नहरू तेर्साएँ।
'भन्नलाई त फोन गरेको थिएँ, आफू रिसिभ नगर्ने, अहिले उल्टै रिसाउने! बस्ने त भनेको हो काम परेर हिँड्न पर्यो के,' उसले भनी।
मैले राम्रोसँग जान र पुगेपछि फोन गर्न भनेँ।
'हस्, उठ्नुस हजुर अब अनि फ्रेश भएर केही खानुस्,' उसको शब्दमा ममीको जस्तो केयर थियो। म मनमनै हाँसें।
समय सधैं आफ्नो साथमा, आफूले चाहेजस्तो नरहने रहेछ। प्रश्ना उसको मामाघरबाट गैसकेपछि हाम्रो सम्बन्ध उस्तै कहिल्यै रहेन। सुरु-सुरुको दिनहरूमा हामीले खुब कुरा गर्यौं। फोनमा, च्याटमा एकछिन छुट्टिएनौ।
कैयौं पटक हाम्रो भेट्ने सल्लाह हुन्थ्यो, दुवै जनाको विविध कारण पर्थ्यो अनि क्यान्सिल हुन्थ्यो। विस्तारै दिनहरू थप परिवर्तित हुँदै गए। हाम्रो टाढाको सम्बन्धमा आफ्नो नजिकका मान्छेहरू प्रभाव पर्नु स्वभाविक थियो।
दिनरात बोल्ने हामी अब गुड मर्निङ र गुड नाइटको औपचारिकतामा आइपुगेका थियौँ। एकअर्काको लागि फोनमा बोल्न समय निकाल्ने हामीले, फ्री हुँदा पनि कल गर्न कम गरिसकेका थियौँ। दिनबाट महिना बित्यो। त्यो सुरुको जस्तो इनर्जी अब हामी दुवैमा थिएन।
सम्बन्धको चिसोपन आउँदाको सुरुमा हामी सानो कुरामा झर्किन्थ्यौं, रिसाउथ्यौं। झन् चिसिँदै गएपछि भने म्यासेज सीन हुन्थ्यो र छोडिन्थ्यो। अब गुड मर्निङ म्यासेजहरू मेलको स्पाम म्यासेजजस्तै सीन नभै यसै थन्किरहेका देखिन्थे।
हाम्रो सम्बन्ध चिसिनुमा गल्ती दुवै जनाको थिएन। टाढाको सम्बन्ध अनि झ्याप्पै बिहे गरिहाल्न नसक्नु सायद प्रमुख कारक बन्न सक्छ। या हामी थप अझै परिस्कृत व्यक्तिको खोजीमा थियौँ। त्यसको पनि सम्भावना हुनसक्छ। अब त हप्तादिनको ग्यापमा कुरा हुन्थ्यो, त्यो नि मुडअनुसार।
सन्चो बिसन्चो सोध्यो अनि एउटाले म्यासेज सीन गरेर छोडेपछि थप कुरा हुँदैनथ्यो। फोनमा त लगभग बोल्न छोडिसकेका थियौँ।
सम्बन्ध टिकाउन मैले धेरै कुरा गर्न सँक्थे। बिग्रनुमा धेरै गल्ती मेरै थियो। मैले उसले मलाई गरे जसरी उसलाई केयर कहिल्यै गर्नै सकिनँ। सुरु-सुरुमा जब ऊ मप्रति लगाव राख्थी, म भने अब आफ्नै त हो भनेर इग्नोर धेरै गर्दिने गर्थें, पछि त्यो मलाई बानी पर्यो।
उसको लागि नबोल्ने गतिलो बहाना। विस्तारै उसले पनि बदलाको रुपमा मसँग त्यस्तै गर्न लागी। म प्रयासरत रहन्थेँ, बद्लिन्छु भन्थेँ तर त्यति बेलासम्म ढिलो भैसकेको थियो। हाम्रो मायाको दियो लगभग निभिसकेको थियो।
एकपटक मैले सोधेको थिएँ- 'हामी सधैँ यस्तै हो कि दुवै जनाले सम्बन्ध टिकाउन केही पहल गर्ने?'
'खै!' उसको इरिटेड गराउने रिप्लाई थियो।
'सम्बन्ध पुगेको हो तिमीलाई?,' म स्पष्ट कुरा चाहन्थेँ।
'म बुझ्नै सकेको छैन सुदिप,' ऊ सधैँ यस्तै द्विविधामा रहन चाहन्थी।
अति भैसकेपछि मैले प्रश्नालाई सामाजिक संजालतर्फ ब्लक गरेर छोडिदिएँ। यसरी प्रश्नासँगको कहानी अन्त्य भैसकेको थियो।
महिनाबाट वर्ष बित्यो। कहिलेकाहीँ सम्झिन्थेँ अनि साथीभाइको आइडीबाट चियाउथेँ। प्रश्ना पढ्नको लागि अष्ट्रेलिया पुगिसकेकी थिई। विभिन्न ठाउँमा विभिन्न पोजमा खिचेका फोटोहरू थिए। सबै फोटोमा दाह्रा देखिन्थ्यो। उसलाई देख्दा मेरो आत्मग्लानी सहितको पीडादायी मुस्कान ओठमा आइरहन्थ्यो।
'सुदिप!' ममीले बोलाउनुभयो।
'चिया अझै खाएको रहेनछ, सेलाइसक्यो,' गिलासतिर हेर्दै ममीले भन्नुभयो।
म झल्यास्स भएँ।
यत्रो बेर म प्रश्नासँगको विगतको सम्झनामा हराइरहेको पो रहेछु। बाहिर पानी झनै जोडले पर्दै थियो। प्रश्नासँग भेटेको भनौँ या छुट्टिएको पनि आज पाँच वर्ष भैसकेछ। प्रत्येक पटक जब दशैं आउँछ अनि मलाई उसको सम्झना आउँछ।
यो पटक त उसलाई सम्झाउन झरी पनि आएको थियो। मैले छेउमा राखिएको दराजको ऐनामा आफूलाई नियालेँ, आँखाबाट पनि त झरी आइसकेछ।
टेबलमा राखेको मोबाइल भाइब्रेट गर्दै थियो। मोबाइलमा नियालेँ, नयाँ नम्बरबाट फोन थियो। रिसिभ गरेँ।
'हेलो' मेरो आवाज मलिन थियो।
'हेल्लो छिमेकी ह्याण्डसम मान्छे, के छ आजको प्लान? डे आउट जाने हो?'
यो आवाज त्यही पुरानै थियो, उसैको थियो जसलाई यत्रो वर्ष मैले सम्झिरहेको थिएँ।