सानो छँदा म नभई नहुने छोरा तिमीलाई
अहिले तिम्रो साथीहरूको सामु म आउँदा लज्जित हुन्छौ रे
मेरो काखबिना निन्द्रा नपर्ने तिमीलाई
अहिले मेरो अभावमा पीरमुक्त भएको आभास गर्छौ रे
तिमी सानो छँदा
काखमा तिमीलाई र पिठ्युँमा गह्रुंगो भारी बोक्दा
यो गह्रुंगो भारी बिसाउँदा कत्ति हलुका हुन्छ होला जस्तो लाग्ने मलाई
अहिले न त काखमा तिमी छौ
न त पिठ्युँमा भारी नै
मनमा पहिलेको भन्दा ठूलो भारी बोकेको जस्तो लाग्छ
पहिलेकै जस्तै भारी बिसाउन कतै चौतारी भेटिनँ मैले
न त घामझैँ अस्ताउन नै सकेँ
तर तिमीले मेरो काखमा भन्दा आनन्द उसको साथमा पाउछौ रे
पहिले घरको छानोबाट तपतप गर्दै पानी चुहिँदा
बाटामा पानी थाप्दै
आमा म ठूलो भएपछि एउटा राम्रो पानी नचुहिने घर बनाई हजुरलाई सँगै राख्नेछु भन्थ्यौ
तर अहिले पानी नचुहिने घर त छ
साथमा तिमी छैनौ मन यसै भकानिन्छ
उती बेलाको वर्षाको पानीभन्दा धेरै आसु आँखाबाट बग्छ
तर आँसु थाप्नको लागि न त तिमी छौ न त बाटा नै
त्यति बेला सबै कुराको अभाव भए पनि
तिम्रो त्यो मिठो बोली सुन्दा संसारको सबै खुसी पाए जस्तो लाग्थ्यो
अहिले तिमीले मलाई सबै सुख सुबिधा पुर्याइदिएका छौ
तर साथमा तिमी छैनौ
तिम्रो मायाको अगाडि यो सबै फिक्का लाग्छ
फर्केर त्यहीँ तिम्रो बाल्यकालमा जान पाए जस्तो लाग्छ
तर तिमीलाई कामको चाप र
उसको साथको लत लागेछ
बाल्यकालमा जान त के
तिमीलाई बाल्यकालको कुरा गरेको पनि मन पर्दैन रे!