किशोर अवस्थामा बसेको प्रेम सधैं अविस्मरणीय हुने गर्दछ। न त प्रेमको अर्थ नै थाहा हुन्छ न प्रेमलाई दिगो बनाउन नै सकिन्छ। त्यो प्रेम भेट हुन्जेलसम्मको केवल क्षणिक मात्रै हुन्थ्यो।
आजभन्दा डेढ दशकअघि म एक यस्तो प्रेम बन्धनमा थिएँ कि त्यो प्रेम हो कि कुनै प्रेमको पराकम्प हो त्यो थाहा छैन। उति बेलाबो प्रेम कहानी आजभोलिका किशोर किशोरीहरूलाई एकादेशको कहानी लाग्छ होला। तर म वास्तविक प्रेम कहानी प्रस्तुत गर्न गइरहेको छु।
न गाउँमा मोबाइल फोनको समय थियो न सामाजिक सञ्जालको जमाना नै। हो, त्यही समयमा पनि कुनै प्रेमले स्थान पाउथे।
भौगोलिक विकटताले घेरिएको ग्रामीण ठाउँ। बिहानीपखको किरण नआउँदै घरबाट हिँडेर २/३ घण्टपछि पुगिने मेरो विद्यालय। त्यसमा गरिबीले च्यापेर राखेको मेरो अवस्था। भोको पेट ६ घण्टा शैक्षिक क्रियाकलामा सरिक हुनुपर्ने त्यो बेलाको अवस्था आजभोलि सम्झिँदा पनि आँसु खस्ने गर्दछ।
हो, समय पनि त्यस्तै थियो। थोरै पैसाको मान्यता पनि धेरै थियो। ६० रुपैयाँमा महिनाभरि ट्युसन कक्षा पढाइ हुन्थ्यो। २/३ सयमा बाक्लो स्विटर आउथ्यो। तर खाजा खानलाई पैसा हुने त कुरै भएन। भोकलाई भोजनमा परिणत गरी शिक्षा आर्जन गरिन्थो र घरमा आएर बासी खाना भए नि अमृत मानी भोजन गरिन्थ्यो।
त्यही समयको एक प्रेम कहानीले कहिले नबिर्सिने गरी मनमा स्थान बनाएको छ।
एसएलसीको रिजल्ट आइसकेपछि कलेज पढ्ने भइसकेका थियौँ। अब कलेज पढ्ने भनेपछि मनले पनि अनेक सोच्न थालिसकेको हुन्थ्यो।
स्कुले केटाकेटीहरू नजर जुधाउन थालिसक्थे। एकदिन उहीँ स्वस्तिमाको ध्यान मप्रति आकर्षित भएछ। सँगै पढ्ने साथीहरू बीचको आकर्षणलाई सुरुमै प्रेम भन्ने त कुरै भएन तर हेराहेरी बढी नै हुन थालेपछि प्रेममा परिणत हुन पनि खासै समय नलाग्दो रहेछ।
एकदिन म यस्तो प्रेममा परेँ कि न त्यो प्रेमले सार्थकता पायो, न स्मरणबाट नै हरायो। उनको ध्यान ममाथि अनि मेरो ध्यान ऊमाथि पर्ने बित्तिकै त्यसको समिश्रणबाट एउटा दुई अक्षरको उदय भयो, त्यो थियो प्रेम।
म अलि चलाख विद्यार्थी, अब्बल स्थानमै पर्ने भएर होला मसँग उनको प्रेम बसेको। उनी पनि सुन्दरी र लजालु स्वभावकी थिइन्। न बोल्न नै सक्थिन् न प्रेम प्रस्ताव राख्न नै। केवल उनीसँग टाढा होस् या नजिक हेर्ने आँखा मात्रै थिए।
म पनि लजालु भएर होला उनको कुरा बुझ्न नै सकिनँ। आजभोलिको जस्तो भएको भए नम्बर मागेर भए पनि फोन गर्न त सकिन्थ्यो वा फेसबुक आइडी मागेर कुरा गरिन्थ्यो होला तर त्यो त परैको कुरा, चिठी लेख्ने हिम्मत पनि भएन।
नजर-नजरबीच हाम्रो प्रेम गहिरो भइसकेको थियो। प्रेम व्यक्त गर्ने वातावरण हुन्नथ्यो। विद्यालयको कडा प्रशासनमा बस्नुपर्ने त मेरो धर्म नै थियो किनकी म एक जेहेन्दार विद्यार्थीको श्रेणीमा पर्ने गर्थें।
व्यक्तिगत प्रेम व्यक्त गर्ने स्थान नभए पनि मिल्ने साथीहरूको सामूहिक प्रेम व्यक्त गर्ने एक मात्रै माध्यम थियो, अटो डायरी। आफ्नो मनमा लागेका कुरा उक्त डायरीमा प्रस्तुत गर्ने आफ्नो भागमा परेको पेजलाई चिठीमार्फत वा गीत, गजल, सायरी, मुक्तक, कविताहरू लेखेर पानाहरू भर्ने गरिन्थ्यो।
एक व्यक्तिलाई ३/४ पेज मात्रै पर्थ्यो। त्यसमा पनि पहिलो पेजमा आफ्नो परिचय, त्यो पनि कक्षा रोल नम्बरसहित राख्नु पर्ने र त्यसमै सम्भव भए फोटो स्टुडियोबाट निकालेर एउटा फोटो समेत टाँस्नुपर्ने। बाँकी २ पेजमा आफ्नो विचार राख्न पाइन्थ्यो।
त्यो अटो डायरी सामूहिक भएको कारणले कुनै व्यक्तिलाई तोकेर राख्न पनि नपाइने र राखे पनि सबैलाई थाहा नहुने कुरै भएन। लगभग आफ्नो समूहका सबैजसोले आ-आफ्नो डायरी बनाएर सबै साथीलाई दिने गर्दथे।
एक दिन स्वस्तिमाको डायरी मकहाँ पुग्यो। मैले पनि प्रेम भाव पोख्दै डायरीका पानाहरू भरेँ। पहिलो पृष्ठमा परिचयसहित तस्बिर टाँसें। दोस्रो पेजमा प्रेम भावहरू समावेश गरिएको चिठी लेखियो। जसको सुरुआत प्रिय भनेर गरिएको थियो।
भावनात्मक कुराहरूसँगै प्रेमका गाथाहरू सहितको भाव सेतो पेपरमा कालो कलमले भरिँदै थियो। केही शब्दहरू साहित्यमार्फत थिए त केही सिधैँ लेखिएका थिए। अरु साथीहरूको डायरीभन्दा स्वस्तिमाको डायरी केही फरक भाव प्रस्तुत पक्कै भएको थियो। सायद त्यो डायरीका शब्दहरू अझै पनि मनमा खेलिरहेका हुन्छन्।
प्रेम भावलाई शब्दमा परिणत गरी डायरीका पानाहरू भरिन्थे। त्यसको केही दिनमा मैले पनि डायरी तयार गर्ने योजना बनाएँ। तर डायरीको सुरुआत उनैबाट गर्ने निर्णय गरेँ।
शुक्रबारको कुरा थियो। विद्यालय आधा-आधा दिन मात्रै पढाइ हुन्थ्यो। विद्यालय छुट्टी भयो। म सधैं पहिला आउने विद्यार्थी त्यो दिन स्वस्तिमाको पर्खाइमा पछाडि आएँ। स्वस्तिमालाई डायरी दिन धेरै मौका जुराउनु पर्यो।
नजिकैको पुस्ताकालयमा कापी किन्न स्वस्तिमा गइन् र म पनि कलम किन्ने बहानामा सोही पसलमा गएँ। फर्किदा लगभग दुई जना मात्रै भइसकेका थिए। अरुहरू घरतिर लाग्न हामीभन्दा दुई/तीन सय मिटरको दूरीमा पुगिसकेका थिए।
मैलै स्वस्तीमालाई डायरी तयार गर्ने निर्णय गरेको तर डायरीको सुरुआत तिमीले गरिदिनुपर्छ भनेँ।
उनले पनि मुस्कुराउँदै भनिन्, 'मैले नै किन सुरुआत गर्ने नि? अरुलाई किन नदिएको त?'
'मैले तिमीलाई नै दिने सोचेँ, मेरो मनले त्यही भन्यो अनि तिमीलाई दिने निर्णय गरेँ' भन्दा उनले 'हुन्छ' भनेर डायरी लिइन् र खासै अन्य कुरा केही नभनी घरतिर लाग्यौँ।
तीन दिनपछि मेरो डायरी अर्को साथीको हातमा परेको रहेछ। स्वस्तिमाले मलाई सम्बोधन गरेको शब्द अनि भित्र लेखिएको भावले पक्कै पनि प्रेमको पहिचान दिएको थियो। त्यो दिनदेखि साथीहरूलाई पनि थाहा भइसकेको थियो कि यी दुई बीचको प्रेम अलि रहस्यमय नै छ भनेर।
आजभोलिको समय भए त खुलमखुला प्रेम जोडी भएर हिँड्दा नि सामान्य नै लाग्थ्यो होला तर त्यति बेला साथीहरू फरक शब्दले नै अचम्मित भइसकेका थिए। तर सँगै पढ्ने विद्यार्थीमा प्रेम सम्बन्ध हुने नौलो कुरा नभए पनि त्यो स्कुले प्रेम अलि रोचक नै मानिन्थ्यो।
साथीहरूले जिस्क्याउन थालिसकेका थिए। हामी पनि प्रतिकार नगर्ने तर साह्रै लजाउथ्यौं मात्रै। एक दिनको कुरा हो हाम्रो भेट स्थानीय मेलामा भयो। अनौपचारिक समयमा भएको भेटलाई हामीले गहिरो रुपमा लियोँ।
शान्त अनि कोलाहलाट टाढा खुला चौर छेउमा एउटा डाँडामा बस्यौँ। अब हामी पनि अलि बोल्ने भइसकेका थियौँ। एकआपसमा माया प्रेमका शब्दहरूलाई प्रस्तुत गर्न थाल्यौँ। ९ बजेतिर भएको भेटमा विद्यालयमा भएका घटनाक्रम अनि प्रेम भावका शब्दहरू पोख्दापोख्दै १ बजिसकको थियो।
मेरो खल्तीमा ५० रुपैयाँ थियो। त्यतिबेला जात्रा मेलामा ५० रुपैयाँ भनेको धेरै नै थियो। सायद सहरमा पढ्ने विद्यार्थीहरूलाई ५० रुपैयाँ सामान्य थियो होला। सहरमा हजारको नोट खेलाउने समयमा हामी गरिबीले च्यापेको समुदायका व्यक्तिहरूका लागि ५० रुपैयाँ पनि धेरैँ थियो।
एउटा जात्रा मेलामा लगेको ५० रुपैयाँको पनि घरमा आएर पुरै स्टेटमेन्ट ने बुझाउनुपर्थ्यो। हो, त्यही ५० रुपैयाँ लगेर हामी सँगै खाजा खान गयौँ। १ बजिसकेको थियो खाजा खाएर हामी पुनः सोही ठाउँमै आएर बस्यौँ।
मलाई अझै नि सम्झना छ स्वस्तिमाले लगाएको रातो कुर्ती र मैले लगाउको खैरो स्विटर। हामी त्यही ठाउँमा बसेर प्रेमका कुराहरू पोख्न थाल्यौँ।
सामान्य कुरापछि ४ बजिसकेको थियो। घर जाने तयारी हुँदै थियो। हाम्रो घरको दूरी पनि निकै टाढा थियो। बाटो समेत फरक भएकाले छुट्टिने निर्णय लियौँ। पर्सि कलेजमै भेट्ने वाचासहित हामी छुट्टियौँ।
हामी बीचको प्रेमले जरा गाडिसकेको थियो तर बालापनको प्रेम। न त अर्थ नै थाहा छ न हामी परिपक्क नै भएका छौँ। आजभोलि थाहा हुँदैछ त्यो प्रेम केवल नजरको मात्रै थियो।
विद्यालयमा फेरि उहीँ कुरा मात्रै दोहरिने। उसले मलाई हेर्ने र मैले उसलाई हेर्ने तर बोल्न चाहिँ नबोल्ने। हाम्रो प्रेमको चिनो भनेकै त्यही डायरी मात्रै थियो। भेट हुन्जेलको प्रेमले जीवनमा खासै अर्थ नराख्ने रहेछ। न त हाम्रो प्रेमले घरायसी रुपमा वैधानिकता पाएको थियो न हामीले त्यसलाई मान्यता दिएका थियौँ।
किशोर अवस्थाको हेराहेरीको प्रेम क्षणिक हुँदो रहेछ। कलेजबाट छुट्टिएपछि ऊ आफ्नो बाटो लागिन्, म आफ्नो। गन्तव्य एउटै भए पनि पथ फरक थियो। त्यसपछि समय पनि मोबाइलको आइसकेको थियो। विस्तारै सामाजिक सञ्जालको पनि विस्तार भइसकेको थियो।
स्वस्तिमाले मेरो नम्बर खोज्ने प्रयास गरिनन्, न मैले उनको नम्बर खोजेँ। न त कहिले फेसबुकमा उनले मलाई साथी बनाइन् न मैले नै। उनको फेसबुक अकाउन्ट समेत देखिनँ। गाउँ परिवेशमा सानै उमेरमा गरिने विवाहको चपेटामा उनी परिन् होला र म पनि अर्कै दुनियाँमा रमाउन खोजेँ।
विस्तारै उमेरले परिपक्वता जनाउँदै गर्दा म पनि सहरतिर पसेँ। उनले पनि सायद अर्कै गन्तव्य रोजिन् होला। त्यही भएर हाम्रो भेट, कुराकानी केही भएन। बरु आजभोलि साथीहरूलाई सोध्ने गर्छु- स्वस्तिमाको घरभन्दा कति टाढा पर्छ? केछ स्वस्तिमाको खबर? भनेर।
तर हामी दुईबीच कुने संवाद भएको छैन। हुन त म पनि परिपक्व भइसकेको थिएँ र उनी पनि पक्कै भइसकेकि होलिन्। तहाम्रो सम्बन्ध अझै टाढा छ। केबल डायरीको पानामा सीमित छ। त्यो डायरी अभिलेख गरिएको भए स्वस्तिमाको चिनो मसँगै र मेरो चिनो स्वस्तिमासँग पक्कै छ होला।
सायद अब भेट भए पनि चिनिन नसकिने भइसकेका छौँ हामी तर भेट्ने प्रयास हामी दुवैले गरेनौँ। म चाहन्छु अझै हाम्रो भेट हुनेछ र बालापनको इतिहास खोतल्नेछौँ, विगतको सम्झना आउनेछ। एकदिन हाम्रो अनौपचारिक भेट होस् र सुखदुःख तथा जीवनमा भोगेका अनि भोगिरहेका कुराहरूको संवाद गरौँ।
प्रेममा मिलन मात्रै हुन्छ भन्ने केही छैन, विछोड पनि एक भाग हो। हाम्रो प्रेममा विछोड नै लेखेको रहेछ र विछोडको सामना गर्नुपर्यो। केही छैन विछोड भए पनि, एक दिनको भेटलाई सार्थकता बनाउँ र जीवन्त भोगाइका कुरा गरौँ।
समयले साथ दिँदैन भने केही छैन, आफ्नो दुनियाँमा रमाउनू। हाम्रो प्रेमले बनाएको एउटा डायरीको पाना भने अझै जीवित छ। धेरै-धेरै मिठो सम्झना स्वस्तिमा, तिम्रो उज्वल भविष्यको कामना।