अचेल निन्द्रा पर्न धेरै मुस्किल पर्छ। कुनै समय 'निदाएको बेला आएर काटे पनि थाहा पाउँदैन यसले' भन्थे मलाई। अचेल धेरैजसो त अल्पनिन्द्रामै हुन्छु, त्यही पनि अनेक सपना देख्ने भएर निन्द्रा नै राम्रो लाग्दैन।
दिनभरका तनावले गर्दा होला एकै रातमा अनेक सपना देख्छु। कहिले सर्पै सर्पको गुडमा आफू फसेको, कहिले पृथ्वी र अन्य ग्रह जुधेर विश्व नै ध्वस्त हुने स्थिति भएको, कहिले परीक्षामा केही लेख्न नआएको, यस्तै-यस्तै।
केही दिन यतादेखि समयमै ओछ्यानमा पुगेर चाडै निधाउने कोसिस गर्न थालेको थिएँ। निन्द्राबाट घरीघरी बिउँझिँदा मुटुको रफ्तार बढिरहेको महसुस हुन्छ, मुटुले छातीमा ढड्ग्याग्रो ठोकेझैँ लाग्छ।
एक रात त हार्ट-अट्याक नै आउने पो हो कि झैँ लागेर रातभर बिउँझिएरै बसेथेँ। भोलिपल्टै हस्पिटल गएर इसिजी र अरू जाँचहरू गरेँ। थाइराइड बढेको रहेछ। डाक्टरले औषधि खानुपर्ने अवस्था छैन, तनाव कम गर्नुस् भन्ने सुझाव दिए।
आज बिहान उठ्दा हिजो राति टेबलमा लडाएका एक चाङ फाइलमा आँखा पुगे। सायद हिजो चाहिँ कामकाज भुलेर राम्रै निदाएछु।
त्यो टेबलमा फाइल देख्नासाथ राम्रो निन्द्रापछि फ्रेस भएको मुड पनि निरस भयो। निधार खुम्चाउँदै आङ तान्दै गर्दाको आफ्नो आकृति ऐनामा देखेँ। अनुहार छामेँ, सुख्खा छाला महसुस गरेँ। आँखामुनि कालै काला धब्बा देखेर विरक्त लाग्यो।
अचेल त शरीरलाई पानी पनि कम भयो क्यारे भन्ने सम्झिँदै उठेर टेबलको पानीको बोतल उठाएँ। मुखमा पानी हाल्दै, पानीले मुख फुलाउँदै, फाइल पल्टाउदै हेरेँ। भर्खरै सकिएका केही इभेन्टहरूको रिर्पोटिङ गर्न बाँकी नै थियो। डाटा इन्ट्री गर्दागर्दैको ल्याप्टप पनि बन्द गरेको रहेनछु। फाइल बीचै बीचमा कलेजको थेसिस प्रपोजल भेटियो।
डाटा त टन्नै थिए आफ्नौ फिल्डका तर त्यसलाई व्यवस्थित ढङ्गले विश्लेषण गरेर थेसिस तयार पार्ने समय थिएन। अफिसको काम रुमसम्म आइपुग्थे। थेसिसलाई पनि कामकै बीच समय निकालेर थोरै-थोरै गर्दै सक्ने योजना थियो। आज, भोलि भन्दाभन्दै यत्तिका दिन बितिसक्यो। परीक्षालगत्तै यो पनि बुझाउनु पर्ने थियो, पर्सी त परीक्षा नै छ।
'यसपालि त जसरी पास हुनु नै छ!' पास हुनै छ, भन्ने कुरा दिमागमा आउँदा सोचेँ- जहिल्यै आफ्नो ग्रेड राम्रो चाहने म, अहिले पास मात्रै हुनु पनि ठूलो ठान्न थालेछु। भोलि घर जानलाई टिकट काटेँ, अनि उतैबाट खाना खाइवरी अफिस गएँ।
अरु दिनभन्दा आज अफिस जानुको उत्साह बेग्लै थियो। ४ दिनअघि मैले नै प्रस्ताव राखेको थिएँ कि अघिल्लो प्रोग्राममा बाँकी रहेको रकमले विपन्न किसानहरूलाई २-२ वटाका दरले हाँसका चल्ला वितरण गर्ने भनेर। खानामा विविधता होस भन्ने हेतुले थियो त्यो।
काम त आफ्नै बढ्ने हो, प्रोजेक्टको खर्च विवरण आफूले नै गर्नु पर्ने हो तर पनि नयाँ कामले मुड फ्रेस हुन्छ, फिल्डमा गई आफै त्यसमा संलग्न भएर किसानहरूलाई खुसी देख्न पाउँदा पेन्डिङ रहेका कामको तनावबाट एकछिनलाई भए पनि राहत मिल्छ कि भन्ने आफ्नो ध्येय पनि थियो।
चल्ला वितरण गर्ने जानकारी अघिल्लो दिन नै वडाका हरेक किसानका घर-घरसम्म पुगेको थियो। हाँसका चल्लाले भरिएका ६/७ वटा कार्टुन टेम्पुमा लोड गरी हामी तीन जना गाउँको चोकतर्फ लम्किँदै थियौँ।
जाँदाजाँदै टेम्पु ढाक्ने गरी स्थानीय ओर्लिए र किसानलाई मात्रै हुन्न हामीलाई पनि चाहियो भन्दै कार्टुनका चल्ला टेम्पुबाट झार्न थाले। हामी तीन जनाले न सम्झाउन सक्थ्यौँ न रोक्न नै। होहल्ला गर्दै अरु गाउँले र किसानहरू पनि थपिए। हेर्दाहेर्दै आँखैअगाडि कार्टुनका कार्टुन चल्ला चोरी भए।
कसो-कसो गरी अन्तिममा एक/दुई कार्टुन टेम्पुमा रहन पाएछन्। तिनै बाँकी बचेकाबाट एक-एकका दरले बाँड्यौं, कत्तिले पाए तर धेरैले त्यहीँ नि फेला पारेनन्। कत्ति मौन हुँदै घर गए, कत्तिले विरोध गरे। अफिसमै गई विरोध गर्ने समेत भनेर किसानहरू जाइलागे।
त्यत्रो हुलमुललाई सम्झाएर घर पठाउन हामीलाई हम्मे-हम्मे पर्यो। लाजले किसानसामु झुक्नु पर्यो। चोर्ने गाउँलेहरूको व्यवहारप्रति भने दया जागेर आयो। अफिस जाउँ त यही विषयलाई लिएर हाकिमहरूले खोइरो खन्लान भन्ने लाग्यो। साँच्चै आफूले जिम्मेवारी लिएर अरुको हित सोच्नु वा गर्न खोज्नु कहिलेकाहीँ केबल तनाव मात्र बढाउँदो रैछ।
सरासर रुम गएँ। सामन प्याक पारेँ। धेरै समय अघिबाट फ्याँक्न नभ्याएको फोहोरको दुर्गन्ध कोठाभरि फैलिरहेको थियो। आफू हुन्न थिएँ, नगरपालिकाको गाडी आउने ठेगान नहुने। आ! त्यसै लडिरहोस् भन्दै त्यसलाई आएपछि फ्याल्न थाती राख्दै बसपार्क गएँ।
पेन्डिङमा टेबलभरिको फाइल छँदै थिए, त्यसमाथि आजको घटनाको छिनोफानो पनि रह्यो जसका लागि ओस्ती सरको फोन तारान्तार आइरहेकै थियो। मनमनै सोचेँ- 'आफ्नो मरिसक्यो मस्ती, किन उठाउनु तिम्रो फोन ओस्ती?'
सबै कुरा थाती रहे पनि पोहोरको एउटा ब्याक-पेपर त कसो नकट्ला योपालि भन्ने थियो। साँच्चै आफूलाई निकै फरक सोच्थेँ। स्कुलमा पनि नपढ्ने, फेल हुने त म साथी नै मान्दिन थिएँ। आफ्नी दिदीले पनि ब्याक कटाउन तीन वर्षै लगाएकी थिइन्। म उनको खुब मजाक उढाउँथें। अहिले सोच्छु समयले मेरो मजाक उढाइरहेको छ।
काम, कामका किचलो, व्यत्तिगत जीवन, पठनपाठन साँच्चै सन्तुलन मिलाउन निकै गाह्रो हुने रहेछ। अझ वैवाहिक जीवन त बाँकी नै छ। अनि कहिलेकाहीँ सोच्दछु यस्तो उल्झिएको जीवन छ, विवाह नगरेर नि बेसै गरिएछ। तर कालीको भने अहिले पनि याद आइरहन्छ।
भन्थी- 'आजै आउनू, भोलि नै आउनू घरमा कुरा गर्न।'
मैले भने उसको आजलाई भोलि र भोलिलाई पर्सि सारि नै रहेँ। जीवनमा केही होस् अनि हात मागौँला भन्ने सोचेँ तर खै आज कालीले छोडेर गएकी नि पुरै एक वर्ष भएछ। म जहाँको त्यहीँ थिएँ।
थानकोट हुँदै काठमाडौं आउँदा साँझको बेला काठमाडौं झिलिमिली देखियो। ठिक्क बसपार्कमा ओर्ली बस चढेको मात्रै थिएँ, रमिला काकी भेटिइन्। टन्न सरसामान बोकेकी थिइन्। बस्न आफ्नो सिट छोडिदिएँ।
नातिको भोलि न्वारन रहेको बताइन्। किनमेल गरेर आएको रे! फोन गर्नै परेन, तिमीलाई नै भने भनेर सपरिवारलाई निम्ता गरिन्।
घर पुग्दा ७ बज्यो। नखाई घुप्लुक्क सुतुम लाग्यो। सुत्न त कहाँ सक्थेँ, पढ्न पनि त थियो। भोलिपल्ट बिहान ९ बजेतिर खाना खाइवरी निस्केँ। एड्मिट कार्ड पनि लिनै थियो। कार्यालय पुगेँ, नसोचेको लाइन रहेछ।
ठिक्क १२ बज्यो, हातमा कार्ड पर्दा। उत्त समयमा ठिक्क परीक्षा पनि सुरु भयो। समय छुट्दै गयो, मनमा हतास बढ्दै गयो। एक घण्टाभित्र पनि परीक्षा केन्द्रमा पुग्न सकिएन। मनमनै काठमाडौंको जामलाई सरापेँ, हिजै अरु कसैलाई कार्ड लिन अह्राएको भए पनि हुने भन्दै आफ्नै बुद्धिलाई धिर्कारेँ।
डेड घण्टापछि केन्द्र पुगे तर बाहिरैबाट टोलाई हेर्न मात्रै सकेँ, भित्र जानुको कुनै औचित्य नै थिएन त्यस समयमा। यो मास्टर्सको दोस्रो वर्ष पास हुन पनि अब अर्को वर्ष थाती नै रह्यो भन्दै घर तिर हानिएँ।
गाडी चढ्न नि मन लागेन। गाडी देख्दै रिस मात्रै उठ्यो। हिँड्दा हिँड्दै पैतालाले भुइँ टेकेको पत्तै पाएन। घर नगई संकटा मन्दिरमा धेरै बेर बसेँ। मन्दिरमा बजिरहेका घण्टी, उडिरहेका परेवा हेर्दै बसिरहेँ। एक पल आफू आनन्दित भई आफ्नो हुटहुटी, बोझ र थाती राखेको कामहरू भुलि केबल आफूलाई मात्र महसुस गरेँ।
कहिल्यै याद नगरेको मन्दिर परिसरका माग्नेहरूका क्रियाकलाप हेरिरहेँ। एक छाक खाएर शरीर तृप्त गर्नु नै ठूलो रहेको उनीहरूको सरल जीवनयापन देखेर आरिस लाग्यो। सात बज्दा बल्ल घर तिर निस्किएँ। बाटो खाली भइसकेकोले छिटै पुगेँ।
घर पुग्दा कोही बोल्न समेत खोजेनन्। बुवा भुतभुताउँदै हुनुहुन्थ्यो।
आमाले हडबडिँदै, 'खाना खा अनि सुत्न गइहाल्' भन्नुभयो।
उहाँको बोलीको हडबडी सुनेर लाग्यो उहाँ मलाई केही कुराबाट जोगाउँदै हुनुहुन्थ्यो, सतर्क गराउँदै हुनुहुन्थ्यो।
उता बुवा आफैसँग बरबराउँदै 'होसप्रसाद हो यो! होसप्रसाद नै हो! हाम्रो उमेरसम्म के गरी खाला?' भन्दै हुनुहुन्थ्यो।
कसैले मेरो के कसो सोध्लान् त परैको कुरा भो, घरमा किन आतंक हुँदैछ त्यो तब मात्र बुझेँ जब बुवाले रमिला काकीसँग फोनमा बोलेको सुनेँ। बल्ल पो होसप्रसाद भन्नुको कारण बुझेँ।
कस्तो हेक्कै भएनछ मलाई हिजो काकीको सन्देश घरमा दिन! अरूलाइ दिने, खाने र सामाजिक कार्यमा बढी सकृय हुनुपर्ने बुवालाई आज मेरो हुस्सु बानीले चुकाइदियो।
बिदा त पाँच दिनको थियो। एउटा ब्याक पेपर दिउँ र केही समय परिवारसँग समय बिताउँ भनेर आएको थिएँ तर बुवाले बसुन्जेल यही कुराले भुलक्कड दिमागको पेच कसिरहनुहुन्छ भन्ने बुझेर भोलिकै लागि फर्कने टिकट फिक्स गरेँ।
भोलि त जाँदै नै छु। त्यही अफिसको कहिल्यै नसकिने काम अघि सार्न र अस्ति नसुल्झाइ आएको विवाद सुल्झाउन पनि बाँकी नै त थियो। यी बाहेक पनि अबका कार्य योजनामा गाउँपालिकासँग समन्वय गरेर स्वयमसेवकहरूलाई तालिम दिई कायक्षेत्रमा परिचालन गर्नुपर्ने लगायतका कामहरू लामबद्ध थिए।
कामका थाती देख्दा कुन कताबाट सुरु गरेर कहाँ पुगेर खत्तम गर्ने, सोच्दैमा अलमल्लमा पर्छु। अघिका काम नसकिँदै पछिका काम र योजना लामबद्ध भइसक्थे।
कहिलेकाहीँ त छुटेका, बिग्रेका र नभ्याइएका कामकुरा सबै छोडेर, बिर्सेर आफू अघिका कुरामा मात्रै केन्द्रित होउँ जस्तै लाग्छ। तर अघि र पछिका काम भन्नु कुनै समय म्याथमा पढ्ने चेन रियाक्सन् जस्तै हुँदा रहेछन्, एउटा समाधान नगरी अर्को गर्न सम्भव नै नहुने। काम र समयको समन्वय मिलाउन नसक्दाको प्रभाव भावी काम वा कुरामा छर्लङ्गै पर्दा रहेछन्।
आजको काम गर्नु र भोलिका लागि सोच्ने भन्दा नि हिजो र अघिका थाती राखेका कामहरूले नै मेरा आज र भोलि पूर्व निर्धारण गरिसकेका हुन्थे। लाग्दथ्यो म हिजोलाई नै सुल्झाउँदै छु, सपार्दै छु। मेरो आज मेरो आफ्नो होइन, हिजोको नै बन्धकी हो।
भन्छन् पानीका छालले विस्तारै थोरै-थोरै माटो जम्मा पार्दै पहाड बनायो रे! त्यस्तै नगरेका, अल्छीपनले रोकिएका अनि नभ्याइएका काम थुप्रिएर यिनै पेन्डिङ कामहरू कुनै पहाडभन्दा कम थिएनन् मेरो लागि।
सोच्दछु केही अवधिका लागि समय र मानिसहरू स्थिर भइदिए, म निरन्तर चल्न पाए आफ्ना पेन्डिङ सबै कामहरू सक्थेँ होला। यो भन्दा पनि अझ विगतमा छिर्न सके मेरै पेन्डिङका कारण असफल रहेको मेरो प्रेम कथा पुर्नजीवित गर्न पनि सक्थेँ कि!
सोच्दासोच्दै गुमिसकेको प्रेमप्रति पनि अचानक आशक्ति बढेर आयो। कल्पनामै भए पनि धेरथोर आफैलाई सान्त्वना दिन थालेँ। वास्तविकतामा त बितिसकेका पल र नगरेका कामहरूप्रति अपसोच जनाउन मात्रै सक्थेँ।
समयको गतिशीलता सँगै आफूलाई पनि गतिशील राख्न नसक्दा मजस्तै पेन्डिङको कारण प्रताडित हुने कत्ति होलान्! यसकै कारण आफ्नो आजमा रमाउन नसकेका वा भोलिका लागि योजना बनाउन नसकेर विचलित भएका कत्ति होलान्!
सोच्दासोच्दै, पिर मान्दामान्दै रातको दुई बजिसकेछ। मन शान्त पारी निदाउने कोसिस गर्दै थिएँ, फेरि भोक लाग्न थाल्यो। पानी पिइवरी एकछिन ढल्किएँ। नभन्दै गाडी चढ्ने बेला भएछ र आफ्नो गन्तव्यतिर हानिएँ।