आफ्नो अन्तरवेदना सुनाउनु छ तर कसलाई?
करेसाबारीमा खुर्सानी टिपिरहने ती महिला पनि त सधैं यो धर्तीमा बसिरहन्न। सायद उसले पो आफ्नो वेदना सुनिदिन्छे कि?
ऊ त्यही आशातीत भावले मूल बाटोबाट अलिकति मोडिएर करेसाबारीतिर जाउँ झैं गरी अघि बढ्न थाल्छ। तर अनायास झस्कने ठूलो स्वरले हँकारिन्छ ऊ।
'हे, हे... यता नआइज! छ्या-छ्या कस्तो घिनलाग्दो मान्छे।'
अब उसको त्यो महिलासम्म पुगेर आफ्नो आन्तरिक वेदना पोख्ने कल्पनाको गोरेटो नहिँडी क्षणभरमा नै लुप्त हुन्छ।
ऊ अहिले अर्को गल्लीको एउटा चिया पसलछेउ पुगेर उभिएको छ जहाँ एक झुण्ड रैथाने जुवाडेहरू जुवातास खेल्दाखेल्दै थाकेर होटेलको बेन्चमा गुजुक्क भएर बसेका छन्। अनिद्राले उनीहरूका आँखा रातो र मलिन देखिन्छ तर पनि उनीहरू चर्को स्वरमा गफिरहेका छन्।
आफ्नो आन्तरिक वेदनाको तापले तड्पिरहेको ऊ भने मौन छ। तर ऊ तिनीहरूका विरक्त लाग्दा बेछाँटका गफलाई पनि विस्तुर नबिराई सुनिरहेको छ। त्यहाँ उसलाई कसैले पनि ध्यान दिएको देखिंदैन।
तर अब उसको ध्यान भने भर्खरै पन्छाइएको चियाको गिलासमा पर्छ। जुन गिलासमा तातो चियामा उड्न सामर्थ्यहीन भएको एउटा झिंगो छट्पटाउँदै क्षणभरमा प्राणविहीन हुन्छ। ऊ त्यो हेरेर टोलाइरहँदा तातो चियाको बाफ उसको परेलाभरि टाँसिरहेको हुन्छ।
एकतमास टोलाइरहेको ऊ गफिनेहरूको चर्को हल्लाले झस्कन्छ र आँट गरेर ती संसारिक गफमा गफिनेहरूको बीचमा आफू पनि घुस्रन थाल्छ। अनि ठूलो स्वरले बोल्ने प्रयास गर्दै घाँटीमा अड्किरहेको केही शब्द निकाल्न खोज्छ तर तत्क्षण उसको देहबाट निक्लिएको दुर्गन्धमा सिकसिकाएकाहरूले उसलाई त्यहाँबाट पनि लघार्न थाल्दछन्।
ऊ खेदिएको लुत्ते कुकुरजस्तै लुत्रुक्क मुन्टो झुकाउँदै त्यहाँबाट पनि हिँड्न बाध्य हुन्छ। उसले पाप्रा उप्किएको आफ्नो ओठ खोलेर बर्बराउनु अघि नै ऊभित्रको वेदनायुक्त शब्द ध्वनिहरू पुनः विलय हुन पुग्दछ।
मानौं ऊ कुनै मान्छे नै होइन जसको सामीप्य कसैलाई पलभर प्रिय छैन। ऊ भोकाएको छ तर उसमा आफ्नो वेदना पोख्ने भोकले झन्-झन् उदासी थपेको छ। मान्छे हुनुको औकातबाट चिप्लिएको उसलाई गल्लीमा भुस्याहा कुकुरहरूले समेत खेदिरहन्छन्।
तर ती भुस्याहा कुकुरहरूको भुकाइबाट ऊ लखेटिंदैन। चुपचाप उभिरहन्छ। एकतमास कराइरहने ती कुकुरहरूको दारायुक्त मुख हेरिरहन्छ र तत्क्षण आफ्नो बन्द ओठलाई एकाएक छाम्न थाल्छ।
पिठ्युँको एक कुनामा झुन्ड्याइएको जीर्ण धोक्रे भारी बोकेको ऊ धर्तीमा कुनै व्यर्थ प्राणीझैं उभिरहन्छ। लाग्छ जुन प्राणीमात्र वेदनाको थुप्रो हो र जसको उपस्थितिले धर्तीको सुन्दरता फिक्का भएको छ। टोलबासीहरू उसको उपस्थितिलाई शान्ति बिथोलिएकोझैं उपेक्षाले हेर्दछन्।
ऊ उभिन्छ र उभिरहन्छ। मानौं उसको त्यो ज्याद्रोपनमा थकित भुस्याहा कुकुरहरू पनि भुक्न छाडेर दायाँबायाँ लाग्दछन् र गल्लीको छेउ कुना ओगट्दै बस्छन्।
लोसे कदमहरूले हिँडिरहेको ऊ बेलाबेलामा उभिन्छ र यताउता हेर्छ। ऊ कुनै त्यस्तो अनुहारको खोजी गर्छ जुन अनुहारले ऊप्रति सामीप्य देखाओस् र ऊभित्रको वेदना सुनिदियोस्।
ओहो! 'कठै ए' सम्म भनिदियोस्। अहँ! तर त्यस्तो केही हुँदैन। अहिले उसलाई तातो, न्यानो र सुखको लालसा छैन, मात्र उसलाई त उही आफ्नो आन्तरिक वेदना सुनाउनु छ। तर कसलाई?
ऊ निकै दिनदेखि भौँतारिएको छ। कुनै प्रिय चिजको खोजीमा पनि छैन। सायद अब उसका लागि यो संसारमा कुनै प्रिय चिज बाँकी रहेन। ऊ रोएर थाकेको छ वा अझै रूनुपर्ने छ वेदनामा, त्यो पनि जान्दैन।
ऊ हिँडिरहेकै छ तर केहीबेर हिँडेपछि फेरि पनि ऊ टक्क अडिन्छ। उसको आँखा एउटा घरको होचो पर्खालबाट भित्र पर्छ। ऊ त्यही पर्खालमा ढेसिएर उभिँदै पलभर घोप्लिन्छ। अनि आफूभित्रबाट झिनो साहस बटुलेर गेट खोल्दै भित्र पस्छ।
ऊभन्दा पहिल्यै पसेको घाम त्यो दैलोको भित्री कुनासम्म पुगेको छ। त्यही घाम तापेर एउटा बुढो मान्छे दैलोमा उघिंरहेको देखिन्छ। ऊ त्यही बुढो मान्छेतिर अघि बढ्छ तर अनायास घरभित्रबाट एउटा बलिष्ठ मान्छे निक्लन्छ र उसलाई चोर भन्दै निर्घात पिट्छ।
उसले प्रतिकारमा केही भन्न खोजिरहेको हुन्छ तर शब्दभन्दा छिटो उसको ओठबाट रगत बग्न थाल्छ। ओठबाट बगेको रगत पुछ्दै त कहिले रसाएको आँखा पुछ्दै गर्दा उसको अनुहारको ठाउँ-ठाउँमा रगत दलिन्छ।
मैलिएको अनुहारमा रगतका टाटा थपेर ऊ फेरि बाटै बाटो हिँड्न थाल्छ। उसलाई झनै विक्षिप्त देखिन्छ तर पनि उसले श्रोताको खोजी गर्न छाड्दैन।
मन्द हुस्सुले ढाकेको बस्तीमा साँझ ओर्लन्छ। अनि हिउँदे चिसो क्रमशः बढ्न थाल्छ। ऊ दोबाटोमा उभिरहेको छ। छेवैको पोलमा बलेको बत्तीको उज्यालो भुइँतिर पोखिएको छ तर कतै पनि पोख्न नपाएको आफ्नो वेदना समेटेर ऊ भने अँध्यारिएको छ।
हिउँदे रातको बाटो पहिलो प्रहरमा नै सुनसानजस्तै छ। एकछिनपछि ऊजस्तै धोक्रो बोकेको मान्छे त्यही बाटो हुँदै टुप्लुक्क आइपुग्छ।
छेवैमा आइपुगेको त्यो मान्छेमा सामीप्य भावले ऊ तानिन्छ तर त्यो धोक्रेले ईर्ष्याभावले उसकोभन्दा ठूलो धोक्रोको भारीतिर पुलुक्क हेर्दै अघि बढ्छ। त्यसले खाएको रक्सीको गन्ध उसको नाकसम्म आउँछ र एकैछिनमा हराउँछ।
केहीबेरदेखि ऊ रात गुजार्ने मेसो खोज्दै बाटोमा उभिएको छ तर सुत्ने तरखर गरिरहेका वरपर घरका मानिसहरू उसलाई आफ्नो घर अगाडिबाट खेद्दै चयनले निदाउनमा तत्पर देखिन्छन्। दुनियाँदारीको कुनै बिगो नगरेको ऊ सिर्फ लुरुलुरु हिँडिरहन्छ।
अनि रात छिप्पिएपछि कुनै ठाउँको ओझेल पारेर गुडुल्किन्छ। उज्यालोमा भुक्ने भुस्याहा कुकुरहरू राति उसको औकात र हुलिया बिर्सिएर ऊसँगै घुस्रिरहन्छन्। ऊ ती शत्रु कुकुरहरूको तातोसित मित्रता गाँसेर ठण्डी रात गुजार्छ।
अहिले ऊ गोलीगाँठोसम्म आइपुग्ने बगरे बालुवा टेक्दै एकोहोरो हिँडिरहेको छ। हिँड्दा हिँड्दै उसले आफू अगाडि आइपुगेको फोहोरको कृत्रिम पहाडलाई देख्छ र त्यहाँबाट अघि बढ्न नसकेपछि ऊ टक्क अडिन्छ।
जुन फोहोरको थुप्रोमा कवाडी सामान खोज्नु उसको दिनचर्या थियो। त्यही ठाउँसम्म पुग्नुअघि नै ऊ काँपिरहेको छ। त्यो कम्पनलाई समेट्दै ऊ स्थिर रहने कोसिस गर्छ र जोडले आँखा चिम्लन्छ।
त्यो कृत्रिम पहाडलाई नहेर्ने प्रयास गर्छ तर शरीर कक्र्याउँदै गरेको चिसो ठिहीमा पनि उसलाई अब आत्मैदेखि भतभत पोलेर आउँछ। त्यो हृदयतापमा जल्दाजल्दै उसले आँखा उघार्छ र किनारा छोएर बगिरहेको नदीलाई एकतमास हेर्छ। नदीलाई त कतै पर पुग्नु छ र त हतारमा छ, ऊ भने चुपचाप त्यहाँबाट फर्कन्छ।
बाटोमा ऊ तरह-तरहका मानिस भेट्छ। ती मानिसहरू एकआपसमा भलाकुसारी गर्दै हिँडिरहेको देख्छ। अब उसले आफूबाहेक यो संसारमा सबैलाई अनाशक्त देख्छ। सहरमा आफू मात्र दुखी छु भन्ने सोच्छ र आफ्नो व्यतीत स्मृतिमा डुबुल्की मार्दै आफ्नै वेदनासम्म पुगेर घुक्क-घुक्क रून थाल्छ।
झन्-झन् उदासिएर हिँड्दै गरेको ऊ फराकिलो मूल बाटो पार गर्नका लागि आकाशे पूलमाथि चढ्छ। कमजोर उसका गोडा काँप्दाकाँप्दै थेगिन नसकेपछि थचक्क त्यहीं भुइँमा बस्छ। ऊ त्यहाँबाट देखिने सहर वरपरका पहाडहरूलाई एकतमासले हेर्छ।
धर्तीले बच्चालाई झैं ती पहाडहरूलाई आफ्नो काखमा थुपुक्क राखेझैं महसुस गर्छ। तत्क्षण आफ्नो रित्तो काखलाई अत्तालिएर हेर्छ अनि आफ्नो त्यो काखाकृति देखेर उसमा झन् वितृष्णा बढ्छ। ऊ त्यो भयावह वितृष्णा भत्काउन धर्मराउँदै उठ्छ र सुस्तरी खुट्टा लतार्दै हिँड्छ।
उसको पिठ्युँको एकापट्टि झुन्डिरहेको त्यो धोक्रे झोला भने उसको मन्द हिँडाइमा पनि हल्लिरहेको हुन्छ।
बेजोडी चप्पलमा फुटेका कुर्कुच्चा बाहिर निकालेर हिँडिरहेको ऊ अहिले चउरको मुखैमा आइपुगेको छ। उसले पिठ्युँमा बोकिरहेको त्यो धोक्रोलाई त्यहीं राखेर दुई/चार कदम अघि बढ्छ। त्यहाँ भर्खरै कलेजबाट छुटेका केही केटाहरू उभिएर मस्त गफिरहेको देख्छ।
ऊ पनि तिनीहरूको नजिकै गएर उभिन्छ। क्रमशः त्यतिसम्म नजिककी उसले साउती मारे पनि तिनीहरूले सजिलै उसको आवाज सुन्न सक्नेछन्।
क्षणभर उभिएपछि केटाहरूको ध्यान आफूतिर आएको देखेर ढिला नगरी उसले भन्छ- 'मेरी छोरी।'
उसको त्यो वाक्यांश टुङ्गिन नभ्याउँदै उनीहरूले भने- 'के त? ए तेरी छोरी, ले-ले हामीलाई...।'
ती केटाहरूको त्यस्तो कुखुरे बैँसयुक्त कुत्कुत्याइँको अप्रिय हाँसोमा ऊ स्तब्ध हुन्छ र हीन भावनाले गल्दै धोक्रो बोकेर त्यहाँबाट पनि हिँड्छ।
हिउँदे ऋतुको कठ्याङ्ग्रिदो दिनमा सूर्यको ताप धर्तीलाई तताउन सामर्थ्यहीन देखिन्थ्यो तर पनि सन्ध्याकालीन सूर्यको मुहार ओजस्वी थियो। अघिदेखि आकाशको मध्यतिर हिँडिरहेको सूर्य अब किनारामा पुगेको थियो। ऊ भने अहिले सुनसान चउरको बीचमा एक्लै उभिरहेको थियो।
ऊ अहिले सन्ध्याकालीन प्रार्थनाका लागि तयार हुँदै थियो। जुन प्रार्थना उसले बाल्यकालदेखि गर्दै आएको थियो। त्यही प्रार्थना खाली भुइँमा बसी नगर्नका लागि उसले आधा भरिएको धोक्रोको मुख आफूतिर तान्यो र घुँडा मारेर बस्यो। उसको शरीर आकाशे किनाराको सूर्यतिर फर्किएको थियो। उसका चिप्रे परेलाहरू प्रार्थनाका लागि स्थिर थिए।
प्रार्थनाको अन्त्यमा उसले सूर्यलाई हेर्यो। सूर्य लालीयुक्त हाँसो हाँसिरहेको थियो। सायद सूर्य त्यो प्राणीको नित्यको प्रार्थना देखेर खुसी थियो वा अब कालाम्य धर्तीमा ऊ झन् निमुखा बन्ने छ भनेर खिस्सी गरिरहेको थियो। उसले ठम्याउन सकेन।
अश्रु सिँचित परेलाभित्रको करूण हेराइले ऊ एकतमास सुदूर सूर्यलाई हेरिरहेको थियो। उसले जीवनभर प्रार्थनाले पूजेको त्यो सूर्यलाई सजीव र साक्षात रूपमा देख्यो। जुन सूर्य उसको सम्मुख थियो र ऊतिर नै हेरिरहेको थियो। ऊ अत्यन्त भावुक हुँदै गइरहेको थियो।
क्षणभर टोलाएपछि उसले त्यो सूर्यलाई आफ्नो वेदनाको स्रोताको रूपमा भेट्यो र फटाफट आफ्नो वेदना सुनाउन सुरू गर्यो तर त्यो सूर्य पनि अरूले झैं बेवास्ता गर्दै लुसुक्क अदृश्य सुरुङतिर धस्सिँदै गइरहेको थियो।
ऊ फेरि गहिरो खिन्नताले भरियो र आफ्नो टाउको दोब्रिएको घुँडातिर झुकायो। जुन घुँडामाथि उसले हत्केला राखेको थियो, त्यो खुला हत्केलामा डुब्दै गरेको सूर्यको एक धर्सो घाम परिरहेको थियो।
त्यो एक धर्सो घामलाई उसले करूणाले हेर्यो। जुन घाम फुटेर चिरा-चिरा परेको उसको फुस्रो हत्केलाको भित्री पत्रसम्म स्पर्शित हुँदै घुस्रिएको थियो।
धर्तीमा छरिएका आफ्ना घामका धर्साहरूलाई डुब्दै गरेको सूर्यले आफैसँग समेट्नु अघि उसले हतपत्त आफ्नो मुठी बन्द गर्यो। ऊ त्यो घामको अंशलाई आफैसँग राख्न चाहन्थ्यो।
अब आफ्नो वेदनाको स्रोता भेटेकोमा ऊ अनौठो हाँसो हाँस्यो र त्यो बन्द मुठी छेउ आफ्नो मुख लगेर विस्तारै फुसफुसाउन थाल्यो। अहिले ऊ बेसुरा झैं बोलिरहेको थियो।
कसरी त्यो रात आफ्नो सानी छोरी हराएकी थिई। गल्लीको एक कुनामा छोरीलाई राखेर ऊ कसरी दिउँसो काममा कतै परसम्म जानु परेको थियो। कवाडी सामान बटुल्दै ऊ कहाँ-कहाँसम्म पुग्यो।
साँझमा हराएकी छोरीलाई कसरी र कुन अवस्थामा फोहोरको थुप्रोमा भेट्यो। त्यो मृत छोरीलाई फोहोर बोक्ने गाडीले फोहोरको चाङभित्र लुकाएर कसरी अनकन्टार ठाउँतिर लिएर जाँदै थियो। उसले बिलौना गर्दै त्यो गाडीलाई कति परसम्म पछ्यायो। अनि पुलिस चौकीमा जाँदा उसलाई पागल भनेर कसरी लेखटियो।
पर गाउँमा बसेर उसका लागि साइकल किनिदिने सपना साँचेकी प्रिय स्वास्नीको अधुरो सपनाकै बीच कसरी मारिई? जसरी उसको मृत श्रीमती भेटिएकी थिई, उसैगरी छोरीका तिघ्राभरि आला रगत पोतिएको थियो।
सायद अब उसले आफ्ना ती सबै वेदनाहरू सुनाइसकेको थियो। रातभर उसको शरीरभरि खसेका सेता तुषारो यथावत नै थियो।
मुठ्याइएको उसको हत्केला भने अहिले खुला भुइँमा लत्रिएको थियो। बिहानीको नयाँ घाम आउनुअघि हिजोको एक धर्सो स्रोता घाम ऊजस्तै कतै लुप्त भइसकेको थियो।