दश बजे कार्यालयमा आउँदै गर्दा
दश वटा फोन आइसक्छन् उनलाई
मृगौला अनि क्यान्सर पीडितका
पीडितका समस्या आफ्नै ठान्छन्
सहयोग गर्न हतारिन्छन् र बिर्सन्छन् हाजिर गर्न।
'सर मेरी बुहारीलाई व्यथाले च्याप्यो
बच्चा, आमा बचाइदिनुस्'
अत्तालिँदै बोल्छ कोही
उनी पनि अत्तालिन्छन्
एम्बुलेन्सको व्यवस्था गर्छन् र बिर्सन्छन् हाजिर गर्न।
कोही बच्चा कुपोषित नहोस्
ख्याउटे अनि पुड्को नहोस्
बाल मृत्युदर घटोस् भन्दै
बच्चाका पाखुरा नाप्न
पिङ्खुरी पुग्छन् र बिर्सन्छन् हाजिर गर्न।
सुरक्षित प्रजननका कुरा उनै गर्छन्
पाठेघर खस्ने समस्यादेखि
क्यान्सर न्यूनीकरणको लागि शिविर चलाउँछन्
आमाहरूको लागि पोषिलो आहारासहित
माकादुम पुग्छन् र बिर्सन्छन् हाजिर गर्न।
न्यून आय भएका रोगीहरूको लागि
सिफारिस लेख्छन् उनी
स्वास्थ्य बीमा उनकै जिम्मेवारी हो
अपाङ्गका हितको लागि
आँपचौर पुग्छन् र बिर्सन्छन् हाजिर गर्न।
एकछिन खाली बस्दैनन् उनी
थोत्रो बाइक लिएर कहिले राकाथुम पुग्छन्
कहिले गागल अनि भदौरे
पकरबासदेखि खाँडादेवीसम्मै
औषधि वितरणमा पुग्छन् र बिर्सन्छन् हाजिर गर्न।
मन्थलीदेखि रामेछापसम्मका
गोष्ठी अनि समीक्षामा जानुपर्छ
जान्छन् उनी
विपद् पीडितको घाउमा मलम लाउनुपर्छ
लाउछन् उनी र बिर्सन्छन् हाजिर गर्न।
जनताको सेवाको लागि अहोरात्र खटिने
हाजिर होइन कामलाई प्राथमिकता दिने
उनै स्वास्थ्यकर्मीलाई आरोप लाग्छ
हाजिरबिना तलब खायो भनी।
कस्तो बित्यास?
भगवान् (जनता, सेवाग्राही)
तिमी नै भन
हाजिर नगरी जनसेवा गर्नेलाई
के गर्नु?
कारबाही या पुरस्कृत?