म कविता हुँ र कथा पनि
म किस्सा हुँ र कहानी पनि
म सधैँ छु र छैन पनि
म भएर पनि नभएको म हुँ
म नहुँदा पनि हुने म हुँ
म यही छु
यतै कतै
तिम्रैबीच
भिडमा म र एक्लो म
तिमीसँग म र मसँग म
म फरक छु र उस्तै पनि
बुझ्नेलाई म छु र छैन पनि
नबुझ्नेलाई म छैन कस्तै पनि
परबाट हेर्दा म 'म' नहुँला
नजिकबाट म 'मै' छु
तिमी चिन्दैनौ मलाई कहिलेकाहीँ
म पनि चिन्दिनँ मलाई
तिमीसँग हुँदाको मलाई
तर
मसँगको मलाई
के
चिन्दछौ तिमी?