यो चोकमा
साँझखेर
आठ/दश मुठा साग लिएर बसेकी छिन् मनमाया
नजिकै तीन वर्ष जतिको बच्चा खेल्दैछ
सागका मुठासँग
कोही साग किन्ने आउला
मुठाको बिस तिर्ला
लैजाला
भन्ने छ उनीलाई
सागसँग उनको खुसी जोडिएको छ
बिहान रातिको खाना जोडिएको छ
बच्चालाई पर्सि किन्ने भनेको
न्यानो नाना जोडिएको छ।
यताउता हेर्छिन्
किन्ने आउँछन् कि कोही भन्ने आशमा
बच्चालाई साग छुनबाट रोक्छिन्
'यता आऊ बाबु! नचलाऊ त्यो'
साग भाँचिएला
टुक्रिएला
ओइलाउला
र
नबिक्ला भन्ने डर छ उनीलाई।
ग्राहक आउँछन्
जान्छन्
देखिन्छन्
कोही फिल्म हलबाट आउँदै गरेका
कोही रेस्टुरेन्टबाट डकार्दै झरेका
कोही अफिसबाट फर्कदै गरेका
त्यहाँ
कसैले हिजोको होला यो भन्छन्
कसैले पहँलिएछ साग भन्छन्
कसैले चिसोमा को खाओस् भन्दै जान्छन्!
कसैले कति सानो मुठा हो ठान्छन्!
कसैले त्यतिकै पात मात्र तान्छन्
फेरि
एक ग्राहक आउँछ
कति हो सोध्छ
बिस भन्छिन्
पन्ध्रमा लान्छु भन्छ
बार्गेनिङ गर्छ
उनी हुन्न भनिरहन्छिन्
पल्तिर त्यतिमै पाइन्छ त भन्छ
अनि नलिई जान्छ।
सडक बीचमा गाडी चलिरहन्छन्
उनको मनमा
बीचबीचमा
विदेशबाट दुई महिनाअघि
अस्वस्थ भई फर्केका
डिप्रेसनको औषधि लिँदै गरेका
श्रीमान झर्कदै आउँछन्
बिरामी ठूली छोरी खोक्दै आउँछिन्
अनि उनको मनमा
सँगै एकतमासले
बेगसँग आउँछन्
महानगरका प्रहरी
र
गाडी
तर बाध्यता यस्तै
डरैडरमा
भाग्यको भरैभरमा
उनी साग बेच्न बसेकी छिन्।
सडकमा मान्छेहरू पातलिँदै जाँदा
रातको पर्दा झर्दै गर्दा
उनी भुइँमा बसेर त
घरी उठेर
हतारिँदै बोल्दै गरेको सुनिन्छ
चिच्याउँदै गरेको सुनिन्छ
'दश रुप्पे मुठा साग!'
'आधा सस्तो...!'
'दश रुप्पे!'
बच्चा काखमा निदाएझैँ देखिन्छ
नबिकेको
धुलो, धुवाँ र अब अँध्यारोले निलेको
साग
अलि कालो देखिन्छ
र
रातले छोपिन्छ।