जब फुल्छन् काठमाडौंका सडक किनारमा
ज्याकाराण्डा फूलहरू
तब मनभरि उर्लन्छन्
सम्झनाका छालहरू
उन्मक्त बैँस पोखेर फैलन्छन् फूलहरू
प्रि-मनसुनको झरीले पखालिन्छ सडक
तिम्रो याद बाढी बनेर बगाएर लान्छ मलाई
छाडा हाँसो हासेर मलाई गिज्याउँछन् फूलहरू
तिमी नहुँदा, तिमीबिना
बेरंग लाग्छन् मलाई यी फूलहरू
हातमा हात थामेर तिमी र म
जब साँझमा टहलिँदै हिँड्थ्यौं
दरबारमार्गका गल्लीहरूमा
ती गल्लीहरू मलाई प्यारो लाग्थ्यो
तिमीसँग जीवनपर्यन्त सँगै हिँड्ने चाह हुन्थ्यो
सुन्दर लाग्थे ज्याकाराण्डाका फूलहरू- तिमीजस्तै
लाग्थ्यो- यी फूलहरू मुस्कुराइरहेछन् तिमीलाई देखेर
मग्न छन् हामीलाई हेरेर
खैर! आज तिमी छैनौ
फेरि पनि उस्तै छाडा हाँसो हासिरहेछन् फूलहरू
म घृणा गर्छु यी ज्याकाराण्डाका फूलहरूलाई
समयले तिमीलाई मबाट छुटाएर टाढा लग्यो
तिमी छैनौ मेरो समीप, छन् त केवल यादहरू
अब फेरि हामी हिँड्ने छैनौं हातमा हात समाएर
दरबारमार्गका गल्लीहरूमा
ती त्यस्तै रंगिन साँझमा
भविष्यका सुनौला सपनाहरू संगालेर
म घृणा गर्छु बाटो वरपर फुलिरहेका
यी ज्याकाराण्डा फूलहरूलाई।