गाउँमा सबै उनलाई माइली बाहुनी भनेर बोलाउथे। सात वर्षको उमेरमा गाउँका पण्डितका छोरासँग उनको बिहे भएको थियो। बच्चैमा विवाह गरेकाले उनलाई उमेर के हो, रहर के हो अनि व्यक्तिगत आवश्यकता भनेको के हो भन्ने कुरा कहिलै थाहा भएन।
उनको अर्को परिचय उनको काम थियो। गाउँमा सबैभन्दा धेरै वस्तुभाउ पाल्नेमा उनको नाम अग्रपङ्क्तिमा आउथ्यो। उनको जीवनको खुसी भने पनि, दुःख भने पनि अथवा सफलता, असफलता जे भने पनि खेतबारीको काम, वस्तुभाउको चाकर अनि घरको काम थियो।
माइली बाहुनीको पालनपोषणमा आश्रित एक हल गोरु, आठ वटा बाख्रा, एउटा थोरे, दुई माउ गाईहरू मध्ये काली भैंसी उनका लागि सबैभन्दा प्यारी थिई।
कालीलाई उनले गरेको चाकर देखेर गाउँलेहरू भन्ने गर्दथे- 'बुढाको त्यति ठूलो जागिर हुँदाहुँदै यी माइलीलाई किन सधैँ भैंसीकै पुच्छरमा झुण्डिनु पर्ने?'
उनीसँग त्यसको ठिक उत्तर दिने शब्द थिएनन्। उनको उत्तर एउटै हुने गर्दथ्यो- 'सबैले आ-आफ्नो कर्म खाने हो।'
बिहानै उठेर आगो जोर्ने, खोले बसाउने, भकारा सोर्ने, वस्तु दुहुने अनि हतार-हतार चिया खाएर घाँस काट्न पाखातर्फ दगुर्ने उनको दैनिकी थियो। बिहान आठ नबज्दै घाँसको भारी वस्तुका थलामा नपल्टाएसम्म उनको मनमा शान्ति मिल्दैन थियो।
पाखाबाट बोकेको घाँसको भारी नबिसाई थलामा पल्टाउँदा निधारका पसिना खुट्टाबाट बग्न थाल्दथे। वस्तुहरू कराइरहेका हुन्थे। काली दाम्लो चुडाउँला जस्तो गरी बल गरिरहेकी हुन्थी। निधारका पसिना पुस्न नपाउँदै उनी घाँसका मुठा फुकाएर वस्तुहरूका टाउकामा हुइँक्याउन थाल्थिन।
' लु खाओ साँडे हो। कति डुक्रन्छौ।'
लामा-लामा तरवारजस्ता सिङ भएकी काली माइलीकी सबैभन्दा प्यारी हुनुमा विशेष कारण थियो। काली उनकी माइती थिई। आमाले दाइजोमा दिएको सानो पाडीलाई चाकर गरेर हेरिरहुँ लाग्ने बलियो थोरे बनाएकी थिइन् उनले।
उनको वर्षौंको पसिनाको कमाइ थिई काली। हिउँदका सुख्खा दिनमा कालीका ढाडमा बसेर नजिकैको कुवामा पौडी खेलाउन लाने गर्दथिन्। कालीले माइलीको जति माया पाउथी, त्यति नै गाली पनि पाउथी किनकी ऊ त्यती जाती भने थिइन।
तर जति नै गाली गरे पनि माइतीको चिनो थिई काली। कालीमा उनकी आमाको माया र स्नेह गाँसिएको थियो। त्यसैले होला उनी सधैं अरु वस्तुलाई भन्दा कालीलाई अलिक बढी घाँस दिन्थिन्।
कालीको दाम्लो उनको हातमा थामेको दिन आमाले भनेको कुरा उनको मानसपटलमा ताजै थियो।
'माइली, यो पाडीको राम्रो चाकर गर्नू, ब्याउने बनाउनू अनि बेचेर नौगेडी लगाउनू। मैले तँलाई दिन सक्ने यत्ति नै हो।'
यो भनिरहँदा आमाका आँखा रसाएका थिए र माइलीले थाहा नपाएजस्तो गरी आँसु पुछ्नु भएको थियो।
आमाले कालीको दाम्लो आफ्नो हातमा थामिदिएपछि दुई दिन हिँडाएर उनले त्यो पाडी घर ल्याइपुर्याएकी थिइन्। पाडी दिंदा आमाले भनेको कुरा उनको मनमा दिनभरि खेलिरह्यो।
हरियो पोतेमा नौ वटा सुनका गेडा छिराएर बनाइने नौगेडी गलामा झुन्ड्याएर हिँड्ने कल्पनामा उनले दिनरान लागाएर पाडी घिस्याएको पीडा भुलेकी थिइन्।
गाउँघरमा उनका दौँतरीले झराझुट्ट गहना लगाएको देख्दा उनको मन कटक्क खान्थ्यो। प्रत्येक तीजमा उनी श्रीमानका नाममा वर्त बस्थिन्। मन्दिरमा होस् या तीजको साङ्गेमा, साथीसंगीहरू गहनामा सजिएका हुन्थे तर उनको भने विवाहमा पाएको पोतेबाहेको केही पनि थिएन।
एक/दुई पटक त उनले गहना छैनन् भनेर श्रीमानसँग गनगन पनि गरिन् तर उनको कुरा श्रीमानले एक कानले सुनेर अर्को कानले उडाइदिए। जति अनुरोध गरे पनि श्रीमानको उत्तर एउटै हुने गर्दथ्यो- 'आफ्नै माइतीसँग माग् न, म किन्न सक्दिनँ।'
काली पाएपछि भने माइलीले उनका बुढासँग कहिले नौगेडीको कुरा गरिनन्। बुढाले थाहा नपाई आफ्नै कमाइले गहना किनेर लगाउने योजना थियो उनको। त्यसैले उनी कालीको चाकरमा तल्लीन भइन्।
दिनहरू बित्दै गए। काली मोटी, पोटिली र भरिली देखिन थाली। माइलीलाई आफू सपनाको नजिक पुगेको महसुस हुन थाल्यो। नौगेडी लगाउन पाउने कल्पनामा माइली पुलकित भइन्।
राँगो लगाएपछि भैंसी थामिन्छ कि थामिँदैन भन्ने कुरामा उनलाई ठूलो पीर थियो। तर केही दिनपछि उनले संकेत पाइन्, काली ब्याउने भई। माइलीका भुइँमा खुट्टा रहेनन्। भेटे जति सबैलाई व्यग्र भएर काली ब्याउने खबर सुनाइन्।
बिहान घाँस काट्न जंगलतिर छिर्नुभन्दा अगाडि माइलीले पकाएको बाक्लो दूधको चिया पिउन घरमा छिर्ने गाउँलेहरूदेखि पँधेरामा भेटिएका सबैलाई उनले खुसीको खबर सुनाउन भ्याइन्। सबैले उनलाई बधाई दिए अनि बिगौती खान पाइने भयो भनेर खुसी भए।
माइली भैंसीको चाकरमा अझै तल्लीन भएर लागिन्। काली बस्ने थलो सधैँ सुख्खा र सफा पार्थिन्। उनी भन्ने गर्थिन्- 'यो काली मेरी जेठी छोरी हो। घरकी लक्ष्मी हो। छोरी सुत्केरी हुने बेलामा पनि नगरेको चाकर कहिले गर्नु र?'
आफ्नै सन्तानजस्तो गरेर उनले भैंसीको हेरचाह गरिन्।
चैत्र महिना तिरको कुरा हुनुपर्छ। ढिलोसम्म बारीमा काम गरेर, वस्तुको थान्को गरेर माइली घर गइन्। बेलुका रातिसम्म जाँतोमा मकै पिसिन्। बिहान खोले बनाउने मकैको पिठो सकिएको थियो। उनी सुत्न ओछ्यानमा जाँदा केटाकेटीहरू मस्तसँग सुतिसकेका थिए।
उनी झकाउन मात्र के लागेकी थिइन् एकाएक वस्तुहरू कराएको आवाज उनको कानमा पर्यो। उनीसँग घडी थिएन। ढोका खोलेर बाहिर हेरिन्। औँसीको रात भएकाले निष्पट्ट अँध्यारो थियो। आकाशका ताराबाहेक उज्यालो केही पनि थिएन। ताराहरू हेरर उनले अड्कल काटिन् मध्यरात भएको हुनुपर्छ!
उनको घर गाउँको पुछारमा थियो। वरिपरि जङ्गल थियो। उनलाई राति घर बाहिर निस्कन डर लाथ्यो। तर वस्तुहरू कराएको आवाजले उनलाई बेचैन बनायो। उनी कालीलाई सम्झेर चिन्तित भइन्।
'कालीलाई केही भयो भने म त जिउँदै मर्नेछु।'
त्यो शुक्रबारको रात थियो। प्रायः शुक्रबार श्रीमान् घरमा हुँदैन थिए। कहाँ जान्छन् भन्ने उनलाई थाहा हुँदैन थियो। उनीसँग सोध्ने आँट पनि थिएन। त्यो मध्यरातमा उनलाई सहयोग गर्न सक्ने कोही थिएन।
उनी ओछ्यानबाट जुरुक्क उठिन् र अर्को कोठामा मस्तसँग सुतिरहेकी ठूली छोरीलाई बोलाइन्। धेरै पटक बोलाएपछि छोरी उठिन्।
छोरीलाई पछि लगाएर उनी भान्सा कोठामा गइन्, निदालमा सिउरिएको बाँसका कप्टेराको राँको झिकिन् र निभ्न लागेको आगोमा झोसिन्। एकैछिन फुकेपछि राँको सल्कियो।
मध्यरातमा बाह्र वर्षकी छोरी डोर्याउँदै उनी गोठतर्फ लागिन्। गोठभित्र नछिर्दै उनका आँखा काली भैंसीमा ठोकिए। काली दाम्लो चुडाउँला झैँ गरेर बल गरिरहेकी थिई। अरु वस्तु पनि फाँफाँ फूफू गरिरहेका थिए।
'के भएर कराएका साँढेहरू, केही छैन त?' माइली मुर्मुराउँदै थलाभित्र छिरिन्। उनी राँको लिएर गोठमा छिर्ने बित्तिकै एउटा स्याल गोठबाट फुत्त हाम फालेर देवीथानतर्फ दगुर्यो।
'एउटा स्यालले गर्दा यो मध्यरातमा यत्रो दुःख पाइयो, हिँड छोरी' भन्दै उनी घर फर्किन्।
महिनाहरू बित्दै गए। कालीको पेट बढ्दै गयो। गाउँमा ब्याउन लागेका भैंसी धेरैको रोजाइमा पर्दथे। दिनैपिच्छे जस्तो भैंसी किन्ने मान्छे माइलीलाई भेट्न आउन थाले। कोही घरमै आएर भैंसी किन्ने प्रस्ताव राख्थे भने कोही उनलाई भेट्न काम गरिरह्रेको ठाउँमा पुग्ने गर्दथे। माइली भने जसले धेरै दिन्छ त्यसैलाई बेचेर सकेसम्म धेरै पैसा कमाउने सुरमा थिइन्।
एकदिन बिहानै जब उनी घाँसको भारी बोकेर गोठ नजिकै आइपुगिन्, गोठभित्र कल्याङ्ग कुलुङ्ग मान्छे बोलेको सुनिन्। उनलाई लाग्यो कोही भैंसी किन्ने मान्छे आएका होलान्। उनी हतार-हतार आइन्। गोठ नजिकै घाँसको भारी बिसाइन्।
राम्रोसँग भारी बिसाउन नपाउँदै एउटा मान्छे कालीको दाम्लो समाएर उनकै अगाडि आइपुग्यो। पछाडिबाट अर्को मान्छेले कालीको पुच्छर समाएर खेद्न थाल्यो। उनी किंकर्तव्यविमूढ भइन्। एकछिन हेरेको हेरेकै भइन्।
उनीहरू भैंसीलाई लिएर 'छिटो हिँड, छिटो हिँड' भन्दै अघि बढे। उनी एक्कासी कराउँदै उनीहरूको पछाडि दगुरिन्।
'पर्ख, मेरो भैँसी किन लगेको?' एकै सासमा उनी कालीको अगाडि उभिन पुगिन्।
दाम्लो समाउने मान्छेले भन्यो- 'हामी पारि गाउँबाट आएको हौँ। तिम्रो श्रीमानले अस्ति जुवामा भैंसी जाकट राखेको थियो। उसले जुवा हार्यो अनि मलाई गोठको भैँसी फुकाएर लैजानू भनेको थियो। त्यसैले हामीले यौ भैँसी लगेको हो।'
माइलीले प्रतिकार गर्दै भनिन्- 'यो मेरो माइतीको दाइजो हो। म लान दिन्न। उसले हारेको पैसा उसैसँग उठाउनू?'
तर उनीहरूले माइलीको कुरा सुनेनन्। 'अब यो भैंसी मेरो हो, तिमी बाटो छोड!' भन्दै उनीहरू भैँसी खेद्न थाले।
माइली भैंसीको पुच्छर समाएर कराउन थालिन्। 'काली मलाई छोडेर नजा!' भन्दै पछि-पछि लागिन्। ती बलिया पुरुषहरूले उनलाई धकेलेर बाटोबाट हटाए र अघि बढे।
ब्याउन लागेको भैँसी हिँड्न नसकेर फ्याँ-फ्याँ गरिरहेको थियो। कराइरहेको थियो। माइली उनीहरूको पछि-पछि चिच्याउँदै दगुरिन्- 'हे पशुहरू, त्यो मेरो सुत्केरी हुन लागेको भैंसीलाई किन यसरी दुःख दिन्छौ? बरु मलाई लागेर दास बनाओ, त्यसलाई छोडिदेऊ!'
तर उनीहरूले माइलीको चित्कारलाई एक कानले सुनेर अर्को कानले उडाइदिए। रुँदारुँदै माइलीको आँसु रित्तिए, कराउँदा कराउँदै उनको आवाज हरायो तर न त कसैले उनको चित्कार सुन्यो न त उनको अनुनय विनय नै। उनी अर्ध मूर्छित भएर बाटोमा ढलिन्।
केही घण्टापछि 'माइली' भनेको आवाज उनको कानमा गुञ्जियो। निन्द्राबाट बिउँझिएजस्तो गरी उनी जुरुक्क उठिन्। अजङ्गको घाँसको भारी बोकेर कोही उनको अगाडि उभिरहेको थियो।
त्यो आवाज उनले चिनिन्। तर उनले केही भन्नुभन्दा पहिले माझघरे कान्छीले थपिन्- 'माइली, तिम्रो काली भैंसीजस्तै भैंसी दुई जना मान्छेले खेद्दै थिए। मैले हर्दाहेर्दै त्यो भैंसी बाङ्गे बरको भिरबाट खस्यो।'
त्यो सुनेर माइली फेरि मुर्छित भइन्।
ती गाउँलेहरूकी माइली बाहुनी अझै पनि कहिलेकाहीँ मेरो सपनामा आउँछिन् र मलाई सोध्छिन्- 'माइला, काली भैंसीको कथा सुन्छस्?'