एक्लो जुनकिरी अन्धकारसँग लड्दै थियो
पुच्छरको दियोको सहारामा
उज्यालोको आगमन खोज्दै थियो
मूर्ख त ऊ छँदै थियो
सायद अलि बढी आशावादी पनि बन्दै थियो
अन्धकारले सबै समान बनाइदिन्छ
अझ भनम् सबै एकनास देखाइदिन्छ
त्यही अन्धकारको जालो
हरेकको आँखाबाट मेटाउन ऊ तल्लीन थियो
भन्न खोज्दै थियो
फरक छन् पदार्थ
फरक छन् स्वरुप
एक चिराग जलाएर त हेर
देख्ने छौ फरक
आकृतिअनुरुप
विवशता
ऊ एक्लो किरणलाई फैलाउन कम
निभाउन ज्यादा जमात प्रयासरत थिए
जुनेली रातमा पनि औँसीको खोल ओढेकाहरू
दिनलाई पनि रात भन्दै, चिच्याउँदै थिए
उसको चेष्टाको रापमा पानी छर्कदै
उसको निन्दा गरिरहेका थिए
सडक, पेटीमा टायर बालेर
उज्यालोमा पनि मसालको धुवाँले अँध्यारो नै देख्दै थिए
रत्नकारको गुन्डागर्दी र कालीदाशको मूर्खताले भरिपूर्ण उनीहरू
सर्वश्रेष्ठ प्राणीको अस्तित्व दर्शाउदैँ थिए
थकानलाई थाम्दै
सबै हस्तक्षेप सहन गर्दागर्दै
उसभित्र ताकत सकिँदै थियो
उसको दियो मलिन हुँदै थियो
त्यही प्रकाशमा केहिले आँखाको ज्योति पाएछन्
विरलै भए पनि
उसको मार्गलाई पहिल्याउँदै गएछन्
सघन छायामा
वस्तुत्वको बोध गरेछन्
एक कालखण्डको अन्तरालसम्ममा
वास्तविकताको नाप लिन सिकेछन्
आज ऊ अलप छ
उसले आफ्नै शरीरबाट बालेको दियो
सूर्य झैँ चमकदार रोशनी बनेको छ
आफ्नो आँखाले देखाउन चाहेको संसार
जो कोहीले भोग्न सक्ने भएको रहेछ।