शितल, मेरो नाम। खै पण्डितले कस्तो नाम राखे, कहिलै शितल हुन सकेकी छैन! जहिले राप र ताप। म एक कथाकी पात्र हुँ जुन कथा पूरा हुन नै पाएन।
मेरो कथाको हिरो तिमी थियौ, बिजय। तर म तिम्रो नोकरानी। प्रेम विवाह सफल हुन्छ भन्थे ज्योतिषी। खै! मेरो भाग्य, मैले सर्वश्व गुमाउनु पर्यो।
बिजय, तिमी धोकाहरूको अर्को नाम हौ जस्तो लाग्छ। के-के त्याग गरिनँ मैले तिम्रो लागि! हाँस्न बिर्सें अनि आफ्नो लागि बाँच्न नि। मैले तिमीलाई सर्वश्व दिएँ, बदलामा तिमीले बदनामी दियौ। सबैले बलेकै आगो ताप्ने रहेछन्।
मेरो लागि न्यायाधीश तिमी थियौ। जित तिम्रो नै भयो, म हारेँ। गुनासो केही थियो, केही घृणा तर तिमीलाई घृणा गर्छु भनेर कसरी भनौँ? कुनै बेला तिम्रो कलमले मेरो दिलमा नमेटिने नाउँ लेखेर गएको न थियौ।
तिमीले दिएका यातनाहरूलाई सुहाउने कुनै माफी छैन मसँग, न त सजाय नै दिन सक्छु तिमीलाई। मलाई थाहा छ म पनि तिमीजस्तै दुनियाँको नजरको प्यारो बन्न सक्छु। तर अस्तित्व बेचेर सिसाको महल बनाउनु छैन मलाई। तिम्रो माया शकुनीको पासा रहेछ- यता पनि हान्यौ, उता पनि।
तिम्रो जिन्दगीमा आउनेको के दोष, मैले जस्तै साँचो माया सम्झी होला नि। एक वचन अर्को बिहे गर्छु भनेको भए पनि त हाँसी-हाँसी हुन्छ भनिदिने थिएँ नि। आखिर यो यात्रामा किन तिमीले मेरो भ्रुण हत्या गर्यौ?
तिमी अपराधी हौ। तिमी बेमानी हौ। तिमी मेरो बच्चाको हत्यारा हौ। तिमीले बुझ्न सक्दैनौ एउटा नारीलाई आमा बन्न लाग्दाको खुसी कति हुन्छ। बिर्सेऊ, तिमी पनि त नारीको सन्तान हौ।
तिम्रो हर्कतहरूलाई कति लुकाएको थिएँ। देख्न त तिम्रो र उसका अर्धनग्न तस्बिर कति पटक देखेको थिएँ। मलाई थाहा थियो तिम्रो मायामा परिवर्तन आएको तर के गरुँ? यत्तिकै हेलिन पनि त सकिनँ। बरु तिम्रो घृणा सहेर बस्ने निर्णय गरेको थिएँ तर तिमीले घृणाको नि लायक सम्झेनौ।
धिक्कार छ तिम्रो जिन्दगीलाई। म डुब्न चाहन्छु दूधपोखरीमा। तिमीले गरेका घृणाहरू पखाल्नु छ, रगतले पोतिएका मयलका डामहरू हटाउनु छ। सबैभन्दा ठूलो कुरा त तिमीजस्तै कठोर हुनु छ तर कसैको जिन्दगी बिगार्ने गरी होइन।
जीवन नै संघर्ष रहेछ, संघर्ष नै जीवन। हो, त्यही यथार्थमा रमाउने सपना देखेको थिएँ। कहिलेकाहीँ सपनाहरूले नि निकै पोल्दो रहेछ। त्यसैले आजभोलि निद्राहरू स्वतन्त्र हुन सकेका छैनन्।
मेरो सपना सबै तिमी थियौ अनि वास्तविकता पनि तिमीलाई ठानेको थिएँ। कति चाडै लत्ताइदियौ ती वाचा कसमहरू। तिमी झुटा रहेछौँ, अझै बढी लालची रहेछौ। तिम्रो त हराभरा भयो होला नि म बिनाको जिन्दगी?
म त के नै गुनासो गरौँ र जिन्दगीसँग? तिम्रो सम्झनामा दुई थोपा आँसु बगाउन पाएको छु, भाग्यमानी ठानेको छु। मेरा दुःखमा रोइदिने तिमी थाहै पाइनँ कति बेला फेरिएछौ। म चाहिँ पुराना यादका सहारामा बाँचिरहेँ।
मैले आँसु कति लुकाएँ र कति वेदनाहरू पनि। अपसोच! म साँघुरो थिएँ। छोटो थिएँ। कति बेला तलाउहरू भरिएर पोखिन्थे, पत्तै पाउदिनथेँ। म पोखिन चाहन्थेँ, चोखिन चाहन्थेँ। थाहा नै हुन्थेन मेरा आँसुहरू कति बेला बर्खे भेल बनेर उसको आँगनी भिजाइदिने रहेछ।
वेदनाहरू कसलाई सुनाउँ र सुनिरहने फुर्सद पनि कहाँ छ यो दुनियाँलाई? म बदनाम छु, गुमनाम हुँदैछु, चाडै नै आजाद हुँदैछु। त्यो तिम्रो सहर कति अपुरो होला मेरा आँसु बिना।
आज फेरि धरर रुँदैछु। केही बेचैनीमा, केही सम्झनीमा। आँसु एउटै, पीडाहरू फरक-फरक। यादहरू कहिले जिउने सहारा बन्दिदा रहेछन् त कहिले मसानघाटका मलामी, थाहा नै नहुनी कति बेला गलाइदिन्छन् अनि जलाइदिन्छन्।
बल्न सक्छ पानी यहाँ, जल्न सक्छ सागर, ढल्न सक्छ तारा यहाँ, भेट हुनी आशै नगर....
हो, यस्तै छ मेरो जिन्दगी। मुहार छ खुसी छैन, बिस्तरा छ निद्रा छैन, भोजन छ भोक छैन। छन् त केवल पीडा, वेदनाहरू। याद छन् केही सम्झना।
सम्झनाहरू नआउने कुनै संसार भए उहिलै त्यहाँको म रानी हुनेथिएँ। जानेहरू अनायास टाढा गैदिन्छन्, बस्नेहरू चौघरा रुनुपर्दो रहेछ।
हो, म एक्लिएको छु चियाबाट निकालिएको झिंगाजस्तै। बेइमानीहरूको संसारमा धोकाहरू राजा भएपछि त जूनले पनि उज्यालो रातलाई साथ छोड्दो रहेछ बादल आएपछि।
तिम्रो र मेरो सम्बन्धमा दैव लागेको थियो। अगालागी भयो। मेरो दुनियाँमा न त दमकल आयो न त गुहार दिनेहरू नै। दुई थोपा आँसुले सकेन निभाउन।
बिजु, मैले टाढैबाट तिम्रो खुसी देखेर आफ्ना पीडाहरू भुलेर हाँस्ने गरेको हुन्थेँ। अपसोच! आज तिम्रै पीडाहरूले अपांग बनाए। आमा, हेर न तिमी बसेको यो प्यारो मुटुलाई परायाहरूले टुक्रा-टुक्रा बनाइदिएका अनि तमासे बनेका।
छियाछिया भएको मुटु, टुक्रिएको मन लिएर तिम्रो काखमा आउँदैछु। कृपया जिन्दगीदेखि हारी नभन्नु है! बस् तिम्रो कोखबाट रुँदै आएकी म, तिम्रो काखमा शान्तसँग रून चाहन्छु।