नारान दाइ!
किल्लागलमा हार्मोनियम बज्दैन अचेल
शास्त्रीयताका नाउँमा र्याप र पपले
चोकहरू चिच्याइरहेछन्
भूपिको घरमा शब्दबहस हुँदैनन् अचेल
खामबन्दी गीतका कोसेली
भेटिन्नन् हुलाकमा अचेल
उनले पुज्ने तिम्रा सालिकमा
धुलो र धुवाँले कुरुप बनाइदिएको छ
डबलीमा तबला र सितारको
ध्वनि फुट्दैन अचेल
तिम्रो यादमा पछ्यौरी अल्झाउनेहरू
अहिले मुग्लान पसेर बिर्सिए
तिम्रो गलाबाट फुटेका
अर्क्रेस्ट्राको सिम्फोनी!
तिमीले देखेका सपनीमा
मर्स्याङ्दीले खोजिरहेछ अहिले पनि
ठट्टैमा बैँस जान लागेकामा
नारान पियारलाई नभेट्दा!
तिम्रै नाउँमा उसरी नै
फुलिरहेछ लालीगुँरास
प्रेमलापीय पवित्र मायाको बन्धनमा वनैभरि/मनैभरि
तिमीले दिएका चोखो माया पाउनेहरू
परेली चुमेको यादमा शोक मनाइरहेछन्
स्वरसम्राट आगमनको प्रतीक्षामा।
हो नारान दाइ!
तिम्रो हार्मोनियममा माकुराहरूले
नृत्य गरिरहेछन् अचेल
खामबन्दी गला भरिने शब्दका कोसेलीहरू
तिमीसामु आई नपुग्दै
बाटोमै गायब हुन्छन्
परदेशी छोराको बाटो कुरे झैँ
रेडियो नेपालले कुरिरहेछ सिंहदरबारको गेट
युवावयका विछोड प्रेम कहानी सुन्नलाई
र
एकसाथ नेपाली बागिनाले भन्दैछ
'ईश्वर तैंले रचेर फेरि कसरी बिगारिस्...'
श्रद्धासुमन नारान दाइ!
श्रद्धा सुमन नारान दाइ!
श्रद्धा सुमन नारान दाइ!